No comments yet

इस्रायल यात्रा

प्रस्थान

ख्रीष्टमा भएको मेरो जीवन परिवर्तन पछि बाइबल अध्ययन क्रममा आइरहने ‘इस्रायल’ शब्द र त्यसका भुखण्डहरूको विवरणहरूले मलाई सधैँ इस्रायल भ्रमणको निम्ति ओतप्रोत बनाइरहन्थ्यो। यस बिषयमा मैले प्रार्थना गरिरहेको थिएँ। वर्ष २०१३ (२०७०) हाम्रो विवाहको पच्चिसौँ वर्षगांठ थियो। यस अवसरमा म र मेरी पत्नीले इस्रायल भ्रमण गर्न चाहिँरहेका थियौं। यस विषयमा एवेनेजर मण्डली परिवारले ‘आमेन’ गर्नुका साथै सहयोगी हात उठाएपछि प्रकृयामा हामी अघि बढ्यौं। म र मेरी पत्नीलाई नेपालस्थित इस्रायली राजदूतावासले इस्रायलका निम्ति प्रवेशाज्ञा दियो। इस्रायल यात्राका निम्ति एबेनेजर मण्डलीले प्रार्थना गरिरहेका थिए। उहाँहरूले स्वैच्छिक रुपमा हाम्रो निम्ति प्रार्थना तथा एक तर्फी विमान भाडा खर्च जुटाइ दिएर हामी प्रति ठूलो प्रेम देखाउनुभयो। हामी एवेनेजर मण्डली प्रति आभारी छौं।

 

जून १३, २०१३ को विहानले उत्साह र रमाहटको एउटा सुन्दर दिनको शुरुआत गर्‍यो। हामी धन्यवादसाथ काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्‍यौं। विमानस्थलका एक कर्मचारीले भन्यो, “इस्रायली वा अन्य कसैको स्पोन्सर विना इस्रायल घुम्ने गरी निस्कनेमा मैले भेट्टाएको पहिलो नेपाली तपाईं नै हुनुहुन्छ।” इमिग्रेसन अधिकृतले पनि हाम्रो यात्रा सम्बन्धमा आश्चर्य प्रकट गर्‍यो। मैले भनें, “हामी ख्रीष्टियन हौँ, इस्रायल यात्रा हाम्रो निम्ति अत्यन्तै महत्वपूर्ण हुन्छ। यस यात्राका निम्ति एवेनेजर चर्च परिवारले ठूलो हिस्सा बेहोरेको छ”। विमान दिल्लीको निम्ति उड्यो। उडान हुँदै गर्दा हामी दुईले प्रार्थना गर्‍यौं, “हे परमेश्वर, हामीलाई इस्रायल यात्राका निम्ति ढोका खोल्नुभएको निम्ति तपाईलाई धन्यबाद। इस्रायलमा समयको सही सदुपयोग गर्न हामीलाई अनुग्रह गर्नुहोस्।” विमान इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा सकुशल उत्र्यो।

 

जून १४ को विहान हामी इन्दिरा गान्धी विमानस्थल इमिग्रेसनतिर लाग्यौं। उक्त विमानस्थलमा इमिग्रेसनले सोध्यो, “तपाईंहरू किन इस्रायल यात्रा गर्दै हुनुहुन्छ?” मैले जवाफ दिएँ, “हामी ख्रीष्टियन हौँ, हाम्रो निम्ति इस्रायल यात्रा महत्वपूर्ण हुन्छ।” उनले अर्को प्रश्न सोधे, “तपाईं के गर्नुहुन्छ?” मैले जवाफ दिएँ, “म एक चर्चको पास्टर हुँ।”  “ए तपाई पादरी हुनुहुन्छ?” मैले भनें, “ज्यू।” त्यसपछि ससम्मान अघि बढ्न दिए। ‘रोयल जोर्डनियन’ विमान जोर्डनको अम्मान तिर लाग्यो। भारतबाट पश्चिम भारत, पाकिस्तान, अरेबियन समुद्र, ओमन, साउदी अरेबीय, जोर्डन हुँदै अघि बढ्दा साउदी अरेवियाका विशाल मरुभूमि र त्यसका बालुवा भण्डारहरू स्पष्ट देख्न सकिन्थ्यो। साथै जोर्डनका भूभागहरू प्रायः नांगा र मरुभूमिमय देखिन्थ्यो। अनि विमान ‘क्वीन एलिया अन्तराष्ट्रिय विमानस्थल’मा उत्र्यो। यहाँका मानिसहरू दक्षिण एशियाका भन्दा उज्यालो छालाका थिए। महिलाहरू वुर्का लगाउँथे। केवल आँखाहरू मात्र देखिने गरी ती कालो बुर्काद्वारा ढाकिएका हुन्थे। पुरुषहरू लामो सेतो लवेदामा ठूलै संख्यामा पाइयो। मुखाकृतिका हिसाबले मध्यपूर्वका बासिन्दाहरू र इस्रायलीहरूविच केहि भिन्नता पाइयो। मध्यपूर्व तथा जोर्डनीहरूका मुखाकृति दक्षिण एशियाली आर्यन मुखाकृतिमा तर अलिक बढि उज्यालो रङ्गमा पाइयो भने इस्रायलीहरू युरोपियन मुखाकृतिमा गोरा छाला र हल्का कालो केशमा पाइयो। जोर्डनमा गाडी दायाँतर्फ चलाउने गरिएको पाइयो जब कि नेपाल, भारतमा बायांतर्फ चलाउने गर्दछन्।

 

रोयल जोर्डनियन जोर्डन राज्यको उत्तर तिर अघि बढ्यो। जोर्डनी शहर अम्मान क्वीन एलिया विमानस्थलबाट केही पर विशाल उपत्यकामा फैलिएको थियो। विमान मृत्यु सागरलाई बायाँ पार्दै पश्चिम मोडियो। जोर्डन उपत्यका र जोर्डन नदि स्पष्ट देखिन्थ्यो। यर्दन उपत्यका आकाशबाट स्पष्ट र विशाल देखिन्थ्यो। यर्दन नदि पार भइसकेपछि इस्रायल राज्य अन्तर्गत रहेका वेस्टबैंक क्षेत्र देखियो। तब बस्तीहरू क्रमश: व्यवस्थित हुदै गएको, कृषि व्यवसाय व्यवस्थित गर्दै लगिएको देखियो। विमान वेष्टवैंकका वस्तीहरू, जुडियन पर्वतहरू पार गर्दै भुमध्य सागर किनार तिर लाग्यो।

 

विमान भूमध्यसागर किनारमा अवस्थित तेलअबिब शहरको ‘बेनगुरियन इन्टरन्यासनल विमानस्थल’मा अवतरण भयो। यस विमानस्थल इस्रायलको पश्चिम किनारमा अवस्थित शुरक्षित विमानस्थल हो। यो अत्यन्तै आधुनिक तरिकामा बनाइएकोछ। हामीले यस विमानस्थलमा थुप्रै इस्रायली विमानहरू, अमेरिकन तथा युरोपियन एयरलाइन्सका विमानहरू देख्यौं। इस्रायली भूमिमा यो हाम्रो प्रथम पदार्पण थियो। उत्रिन साथ हामीले परमेश्वरलाई धन्यवाद दियौं। इमिग्रेसन अधिकृतले हामीलाई सोधे, “तपाईहरू इस्रायल किन आउनुभयो?” हामीले भन्यौं, “हामी ख्रीष्टियन हौं, ख्रीष्ट हिंडेका ठाउँहरूमा हामी हिँड्न चहान्छौं”। तिनले पुनः सोधे, “तपाईहरू कहाँ कहाँ जानुहुन्छ?” “हामी गालील वरपरका क्षेत्र, मृत सागर, बेथलेहेम, नासरत, यरुशलेम लगायतका क्षेत्रहरूमा जाँदैछौ।” उनीहरूले सहर्ष प्रवेश दिए। इमिग्रेसन पछि हामी दुबै मिलेर इस्रायल भूमिमा उभिएर परमेश्वरलाई धन्यवाद दियौं जसले हामीलाई यस भूमिमा ल्याउनुभयो। हाम्रो जीवनकै यो उत्कृष्ट अवसर थियो। परमेश्वर आफ्ना सेवकहरूप्रति कति वास्ता राख्नुहुन्छ भन्ने कुराको यो एक प्रमाण थियो। त्यसपछि हामीहरू तेलअबिबबाट टाइबेरियस तर्फ लाग्यौं। इस्रायली राजमार्गको व्यवस्थापन अत्यन्तै व्यवस्थित थियो। प्रत्येक मार्ग तथा राजमार्गको रोड नम्बर थियो। ती सबै नै कालोपत्र लगाइएको सफा र व्यवस्थित थियो। राजमार्ग वरिपरि रुखहरू लगाइएका थिए। सडकहरूमा पूरै बत्ती जडित थिए। काहिँ कतै राजमार्ग अध्याँरो थिएन। लोडसेडिङ छँदै थिएन। शुक्रबार सुर्यस्त भइसकेको हुनाले त्यस सांझ यहुदीहरूको विश्राम दिन शुरु भइरहेको थियो। विश्राम दिनको अन्त भने भोलिपल्ट शनिवार सुर्यास्त पछि मात्र हुँदै थियो। हामीहरू करिब १३० कि.मि. को लामो यात्रा पछि टाइबेरियस आयौं।

 

टाइबेरियस इस्रायलको पूर्वी किनारमा अवस्थित गालील समुद्रको मध्य-पश्चिमी तटमा बसालिएको शहर हो। गालील समुद्र वरपर रहेको यो सबैभन्दा ठूलो शहर हो। यो शहर इस्रायलको पूर्वी क्षेत्रका सबै भन्दा ठूलो पर्यटकीय नगर पनि हो। यो शहर शुरक्षाको दृष्टिकोणले पनि राम्रो देखिन्छ। यसको पृष्ठभूमिमा विशाल गालीलको टार रहेको छ। टाइबेरियस गालील समुद्रको किनारमा निर्मित प्राचीन तर अत्याधुनिक शहर हो। यसलाई खजुर, जैतुन तथा अरु रुखहरूद्वारा हराभरा पारिएको छ। यसको पृष्ठभूमिमा पाताला रूखहरू भएको पहाड उभिएको छ भने यसको काखमा विशाल गालील समुद्र ताजा पानी, ४० भन्दा बढि किसिमका माछा तथा थुप्रै जलजन्तुहरूका साथ लेटेकोछ। यो शहर १५०० इ.पू.मा समेत अवस्थित थियो। हेरोद एन्टिपासले ई.पू. १७ मा गालील समुद्रको पश्चिमी किनारमा टाइबेरियस शहरको निर्माण गरेका थिए। पछिबाट टाइबेरियस यहूदीहरूको अध्ययन केन्द्रको रुपमा विकास भएको थियो। टाइबेरियस शहरको पृष्ठभूमिमा रहेको पहाडका फेदीहरूमा कवरस्थानहरू रहेकाछन् जहाँ ठूलो संख्यामा कवरस्थानहरू क्रमबद्द र आकर्षक रुपमा राखिएका छन्। एक दिन बौरिउठ्ने कुरामा यहुदीहरू विश्वास राख्दछन्। टाइबेरियस यहुदीहरूको शहर हो। त्यस रातदेखि हामी केही दिनलाई टाइबेरियसमा बस्दै थियौं। गालील समुद्र छेउको त्यो बसाइ अत्यन्तै सुन्दर रह्यो।

 

किन्नेरेत समुद्र, गनेसरेत समुद्र, टाइबेरियस समुद्र आदि नामले पनि गालील समुद्रलाई चिनिन्छ। यस समुद्रको क्षेत्रफल १६६ बर्ग कि.मि., परिधि ५३ किं.मि., लम्बाई २१ कि.मि. र चौडाई १३ कि.मि. रहेको छ। यस समुद्रको सतह -२१२ मि. रहेको छ, अर्थात् गालील समुद्रको सतह समुद्र सतह भन्दा २१२ मी. तल रहेको छ। यसको गहिराई २६ मि. रहेको छ। गालील समुद्र मानव हृदय आकारको छ। हेरोद एन्टिपासले ई.पू. १७ मा यस समुद्रको पश्चिमी किनारमा टाइबेरियस शहरको निर्माण गरेपछि यस समुद्रलाई टाइबेरियस समुद्र भनेर चिनिन थालेको थियो। यसलाई नयाँ नियम कालीन समयमा गनेसरेतको समुद्र भनेर पनि चिनिनथ्यो। इ.सं. १०० वरिपरि यसलाई टाइबेरियसको समुद्र भनेर चिनिन्थ्यो। यही समुद्र छेऊमा हामीले आफ्नो सुन्दर यात्राको दोस्रो रात वितायौं। निद्रा मीठो थियो। सपना साकार थियो।

 

बाइबल सारा विश्वको मुक्तिको सन्देशमा केन्द्रित छ। मुक्ति अब्राहामको सन्तानद्वारा आउनेवाला थियो। परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्” (व्यवस्था १२:३)। येशूले भन्नुभयो “मुक्ति यहूदीहरूबाट छ” (यूहन्ना ४:२२)। परमेश्वरले अब्राहामलाई एउटा निश्चित देश दिनुभयो। उहाँले भन्नुभयो, “आफ्नो देश, आफ्नो कुटुम्ब र आफ्ना बाबुको घरबाट निस्केर त्यस देशमा जाऊ, जो म तिमीलाई देखाउनेछु।” (उत्पत्ति १२:१)। त्यो देश मिश्र वा अन्य देशहरू भन्दा भिन्न थियो। उहाँले भन्नुभयो, “किनकि त्यो देश, जहाँ तिमी त्यसलाई कब्जा गर्न गइरहेछौ, मिस्र देश जस्तो छैन, जहाँबाट तिमीहरू निस्केर आयौ, जहाँ तिमीले आफ्नो बीउ छर्थ्यौ र सागसब्जीको बगान झैं आफ्नो खुट्टाले पानी हाल्थ्यौ। तर जुन देशलाई कब्जा गर्न तिमीहरू गइरहेछौ, त्यो देशचाहिँ पहाडहरू र बेसीहरू भएको देश हो, जसले आकाशबाट परेको पानी पिउँछ; यस्तो एउटा देश, जसको देखरेख परमप्रभु तिम्रा परमेश्वरले गर्नुहुन्छ; वर्षको शुरुदेखि वर्षको अन्तसम्मै परमप्रभु तिमा परमेश्वरका आँखाहरू सधैं त्यसमाथि रहिरहन्छन्” (व्यवस्था ११:१०-१२)। इस्रायल प्रतिज्ञाको देश हो अब्राहाम, इशाहाक र याकूबलाई गरिएको प्रतिज्ञाको देश। अब्राहामका सन्तानले नै प्राय: मध्यपूर्व ढाकिएको देखिन्छ। इश्माएलका सन्तानले साउदी अरेवीया र वरपरका क्षेत्रहरू; एसाबका सन्तानले जोर्डन र वरिपरिका क्षेत्रहरू ढाकिनुले इस्रायल वरपरका राज्यहरू अब्राहामका सन्तानले ढाकिएको देखिन्छ।

जून १५ को सुन्दर, शान्त विहानीमा हामीहरू केहीबेर गालील समुद्र किनारमा टहलियौं। अहो, यो एक सुन्दर विहानी थियो। इस्रायली तथा पश्चिमा पर्यटकहरू आफ्ना पालहरूसंगै एकाविहानै समुद्र किनारमा थिए, जलक्रिडामा थिए। यो सुन्दर गलील समुद्र हो। यस समुद्रलाई पक्की मोटर बाटोमार्फत फेरो मारिएको छ। केही बेरमा यस समुद्रलाई हामीहरूले दायाँतर्फबाट गाडीमा फेरो मार्‍यौं। टाइवेरियस शहरको पृष्ठभूमिमा रहेको पहाडका फेदीहरू भएर हामी अघि बढ्यौं। ती चट्टानी फेदीहरूमा ठूलो संख्यामा क्रमबद्द रुपमा राखिएका कब्रस्थानहरू थिए। बगैंचाबिच रहेका ती कब्रस्थान आदरणीय र सम्मानित थिए। रुट नं. ९० भएर १० कि.मि. ड्राइभ पछि हामीहरू किन्नेरेतको मैदानमा आइपुग्यौं। किन्नेरेतको मैदान अत्यन्तै खेतियोग्य रहेको छ। यहाँ कृषि व्यवसाय तथा कृषि तालिम केन्द्रहरू संचालित छन्। इस्रायलले कृषि उपजलाई पश्चिमा तथा अन्य राष्ट्रहरूमा निर्यात गर्ने गर्दछ। गालील समुद्रलाई यही स्थानको नामबाट किन्नेरेत समुद्र भनेर पनि चिनिन्थ्यो। त्यसपछि हामीहरू गालील समुद्रको दक्षिणी किनाराबाटा मोडिएर रुट नं. ९२ हुँदै यसको पूर्वी किनार भएर उत्तरतिर लाग्यौं। प्राचीन डिकापोलिस क्षेत्रहुँदै हामीहरू अघि बढ्यौं र बेथसैदा पुग्यौं।

 

अब बेथसैदा गालील समुद्रको उत्तर-पश्चिम किनारबाट केही माथि, रहेको प्राचीन नगर हो। हाल यो नगर खण्डहर अवस्थामा रहेको छ। पुरातात्विक हिसाबले महत्वपूर्ण रहेको यो प्राचीन नगर बेथसैदा क्षेत्रलाई इस्रायल सरकारले शुरक्षा घेरामा राखेको छ। टिकट खरिद गरेर मात्र प्रवेश पाइने यस क्षेत्रलाई पर्यटकहरूका निम्ति अनुकुल बनाइएको छ। प्राचीन बेथसैदा नगर पत्रुस, आन्द्रियास र फिलिपको जन्मस्थल हो (यूहन्ना १:४४; १२:२१)। बेथसैदालाई एट-टेल, बेथसैदा, बेथसैदा जुलिया, जुलिया, जुलियस,
जुलियस-बेथसैदा आदि नामले चिनिन्थ्यो। जब्दीका छोराहरू यूहन्ना र याकूब पनि त्यस स्थानमा बस्थे। जलाहारीहरूका निम्ति उपयुक्त र शुरक्षित बासस्थान हुनु, माछा व्यवसाय फस्टाउनु र दमस्कसतर्फ जाने महत्वपूर्ण नाका हुनु जस्ता कारणहरूले गर्दा प्राचीन समयमा यो अत्यन्तै सुन्दर र विशाल नगर थियो। बेथसैदा एकान्त र शान्त नगर थियो। यसका पृष्ठभूमिमा एकान्त र ठूला-ठूला खुल्ला मैदानहरू थिए। येशू बेथसैदाका एकान्त स्थानहरूमा चेलाहरूसंग प्रार्थना गर्न, समय बिताउन जाने गर्नुहुन्थ्यो (लूका ९:१०)। बेथसैदामा येशूले एक अन्धा मानिसलाई निको पार्नुको साथै (मर्कुस ८:२२) थुप्रै सामर्थ्यका कामहरू गर्नुभएको थियो
(लूका १०:१३)। बेथसैदाबासीको अविश्वासको कारण यो नगर श्रापित भएको थियो। यसलाई नगरमा विकास गरी हेरोद महानका छोरा फिलिपले अगस्टसकी छोरी जुलियाको सम्मानमा यसलाई जुलियस नाम दिएका थिए। तर जुलिया फिलिपलाई खुशी पार्न असमर्थ भएपछि फिलिपले यस शहरलाई ध्वस्त पारिदिएका थिए। आज पनि बेथसैदा खण्डहर अवस्थामा रहेको छ।

 

कोराजिम बेथसैदाबाट पश्चिम दिशामा अवस्थित रहेको छ। बैथसैदामा मात्र होइन कोराजिममा पनि येशूले थुप्रै सामर्थ्यका कामहरू गर्नुभएको थियो। तर यहाँका बासिन्दाहरूले पनि येशूमा विश्वास गरेनन्। फलस्वरुप यस शहर पनि नष्ट भयो र आज खण्डहर रुपमा रहेको छ। ख्रीष्टले यी दुबै नगरहरूलाई श्राप दिनु भएको थियो (मत्ती ११:२१-२९)। बेथसैदा अग्लो भूभागमा अवस्थित सुन्दर र मनोरम नगर थियो जहाँबाट कपर्नहुम, कोराजिम आदि नगरहरूलाई देख्न सकिन्थ्यो। तर आज ती नगरहरूको केवल भग्नावशेष मात्र बाँकी रहेकाले तिनलाई ठम्याउन सकिंदैन। प्राचीन पज्ज्वलित ती नगरहरूको आज कत्रो दुर्गति! त्यसपछि हामीहरू कपर्नहुम गयौं।

 

बेथसैदाबाट ३ कि. मि. को दुरीपछि हामीहरू कपर्नहुम आइपुग्यौं। प्राचीन कपर्नहुम नगरको मूलढोकामा लेखिएको थियो ‘Town of Jesus’ अर्थात् ‘येशूको नगर’।  गालील तालको उत्तरी किनारमा अवस्थित ‘कपर्नहुम’ गालील क्षेत्रमा बसालिएको अर्को प्राचीन नगर थियो। प्राचीन कपर्नहुम नगरमा १५०० मानिसहरूको बसोबास थियो। यस नगरमा गरिएको उत्खननबाट २ प्राचीन सभाघरहरू भेटिएका छन्। यस स्थानमा पत्रुसकी सासूकी घर थियो जसलाई पत्रुसको घर भनिएको छ (१:२१,२९)। नयाँ नियमकालीन समयमा गालील समुद्र वरपरका नगरहरूमा कपर्नहुम एक महत्वपुर्ण नगर मानिन्थो। यो शब्द हिब्रू शब्द ‘कपर नहुम’ (नहुको गाउँ) बाट अएको हो। यो नगर लामो समयदेखि नै अस्तित्व बिहिन भएको थियो। त्यस क्षेत्रमा भेट्टिएको प्राचीन सभाघरको भग्नावशेषको कारण प्राचीन कपर्नहुम नगर किटान गरिएको थियो। यस सभाघरमा येशूले प्रचार गर्नु भएको थियो। यस प्राचीन सभाघरलाई हाल मर्मत-संभार गरिएको छ। यस क्षेत्रलाई प्राकृतिक अवस्थामा कायम राख्न संरक्षण दिइएको छ। यहाँ माछा मार्न वा स्विमिङ खेल्न निषेध छ। समुद्र किनारका ठूला ठूला ढुंगाहरू यथावत राखिएको छ। निरन्तर रुपमा उठिरहने सामुन्द्रिक छालहरूको झट्काहरूले येशूका दिनहरूको याद गराउँदछ। हामीहरू केहीबेर गालील ताललाई नियालिरह्यौं। यसका पानीलाई स्पर्ष गर्‍यौं। सफा र चिसो पानी, असंख्या माछा भण्डारण गर्ने ताजा पानी। कपर्नहुममा ‘The Bread and Fish Church’ (रोटी र माछा मण्डली) बनाइएको छ जसभित्र येशू र उहाँका बाह्र चेलाहरूका नक्शाहरू अंकित छन्। कपर्नहुमको केन्द्रमा रहेको सभाघरसंगै पत्रुसको घर रहेको छ जसको आँगनमा विशाल लौराको साथ उभिएको पत्रुसको विशाल कदको प्रतिमूर्ति ठड्याइएकोछ।

 

कपर्नहुम येशूको सेवाकाईको प्रमुख केन्द्र थियो (मत्ती ४:१३-१७)। यस स्थानमा उहाँले धेरै सामार्थ्यका कामहरू गर्नुभयो (मत्ती ८:५-१७; ९:१-८; मर्कूस १:२१-२८; यूहन्ना ४:४६-५४)। त्यहाँ उहाँले प्रचार गर्नुभयो (मर्कूस ९:३३-५०; यूहन्ना ६:२४-७१)। उहाँले गर्नुभएका थुप्रै आश्चर्यकर्म र प्रचारहरूको बाबजुद पनि कपर्नहुमबासीले उहाँमा विश्वास गरेनन्। तब उहाँले यस शहरविरुद्ध अगमवाणी गर्नुभएको थियो (मत्ती ११:२१-२९)। आज यो शहर खण्डहर अवस्थामा रहेको छ। कपर्नहुमबाट हामी तब्घा उक्ल्यौं। तब्घा अर्थात् त्यो डाँडा, जहाँ उहाँले चेलाहरूलाई, मानिसहरूलाई सिकाउनुभयो (मत्ती ५-७)।

 

कपर्नहुमबाट करिब ५०० मि. उक्लिएपछि आउने यो डाँडालाई स्थानीय भाषामा ‘तब्घा’ (Tabgha) भनिन्छ। सुन्दर र मनोरम डांडा, जहाँबाट सम्पूर्ण गालील समुद्र देख्न सकिन्छ। यस डांडामा येशूका वचन सुन्न हजारौं मानिसहरू बस्न सक्ने स्थान छ। कनान देश, दूध र मह बग्ने देश जसलाई परमेश्वरले अब्राहामका सन्तानलाई दिनुभयो। यो निकै सुन्दर छ, आशिषमय छ। यसका गौरवहरू कालक्रमअनुसार उँच-निच भइरहे, तर भूभाग अनि परमेश्वरका प्रतिज्ञाहरू सधैं समान। यो इस्रायल, प्रतिज्ञाको देश, मनोरम देश। यदि यसले मसिहलाई विश्वास गरेका भए यसलाई कति ठूलो आशिष हुनेथियो। यसका शिर सधैं उच्च पारिने थियो। तर इस्रायल, यो सुन्दर देश, महिमित देश (दानिएल ११:१६,४१) धेरै पटक विदेशीहरूद्वारा कुल्चिमिल्चि पारिए, बेहालत बनाइए। तर परमेश्वरको समयमा यसलाई पुनः इस्रायलीहरूलाई दिइयो। आज यो सुन्दर देश पुनः ईस्रायल अधिनस्थ छ। यस डांडामा Church of Beatitudes (धन्यता चर्च) भवन निर्मित छ। Beatitude को अर्थ हुन्छ ‘धन्य’। येशूले यस डांडामा बसी भीडलाई शिक्षा दिनुभयो जसमा ८ धन्यहरू उल्लेख गर्नुभयो
(मत्ती ५:३-१२)।

 

आत्मामा गरीब हुनेहरू धन्य हुन्।

शोक गर्नेहरू धन्य हुन्।

नम्र हुनेहरू धन्य हुन्।

धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्।

दया गर्नेहरू धन्य हुन्।

हृदयमा शुद्ध हुनेहरू धन्य हुन्।

मेलमिलाप गर्नेहरू धन्य हुन्।

धार्मिकताका निम्ति सताइनेहरू धन्य हुन्।

 

यस चर्चका दक्षिणी झ्यालहरूबाट गालील समुद्र स्पष्ट देख्न सकिन्थ्यो। यो उपदेश दिइएको डांडा ‘तब्धा’ हो। यस पछि हामीहरू गनेसरेततिर अघि बढ्यौं।

 

तब्घाबाट हामीहरू टाइबेरियसतिर आउने क्रममा गनेसरेतको मैदान भएर आयौं। मग्दला र कपर्नहुम विचको विशाल मैदानलाई गनेसरेतको मैदान भनिन्छ। कहिले काहिँ गालील समुद्रलाई गनेसरेतको समुद्र भनेर पनि चिनिन्थ्यो। यहाँ कृषिलाई व्यवसायीकरण गरिएको छ। केरा खेती, जैतुन, अंगुर खेतीहरूलाई व्यवसायको रुपमा खेती गरिएको छ। पानीको सिंचाई पाइपहरू प्रयोग गरी थोपा प्रणालीवाट गरिएको छ। इस्रायलमा प्रयोग भइरहेको थोपा प्रणाली सिंचाइ प्रविधि विश्वमै चर्चित रहेको छ। इस्रायलमा खेतिका लागि अयोग्य हुने ढुंगेनी जमिन वा अग्ला ठाउँहरूमा बस्ती बसालिएको छ भने र खेतीयोग्य जमिन वा समथर भूभागमा कृषि व्यवसाय संचालन गरिएको छ।

 

मग्दला टाइबेरियस र गनेसरेतको विचमा अवस्थित एक सुन्दर बस्ती हो। मग्दला गनेसरेतको मैदानको दक्षिणी अन्तमा अवस्थित छ। मग्दला मरियम मग्दलिनीको शहर थियो। उनीबाट येशूले ७ भुतात्माहरूलाई निकाल्नुभएको थियो (लूका ८:२)। मग्दलालाई स्थानीय भाषामा आज ‘मिग्दल’ भनेर चिनिन्छ। मग्दलाबाट ८ कि.मि. को दुरीपछि हामीहरू टाइबेरियस आइपुग्यौं।

 

हामीहरू टाइबेरियसबाट किन्नेरेत मैदान हुँदै यर्दन नदि पुग्यौं, जहाँ बप्तिस्मा दिने गरिन्थ्यो। इज्रायल सरकारद्वारा बप्तिस्माका निम्ति यर्दन किनारमा तलाउ बनाइएको छ। ती तलाउलाई फलामे बारहरूद्वारा शुरक्षाघेरा लगाइएको छ। पानीसम्म पुग्न सजिलो हुने गरी खुड्किलाहरू बनाईएको छ। यहाँ माछा मार्न प्रतिबन्ध लगाइएको छ। यस क्षेत्रमा ठूला-ठूला माछाहरू पनि बप्तिस्मा दिने तलाउमा खेलिरहेका हुन्छन। विभिन्न राष्ट्रबाट ख्रीष्टियनहरू यस स्थानमा आइ बप्तिस्मा लिने गर्दछन्। हामी जाँदा निकै मानिसहरू डुबुल्की बप्तिस्मा लिइरहेका थिए। यस स्थानको प्रवेशद्वार भवनमा सुवेनियर सामाग्रीहरू बेच्ने पसल राखिएको छ। वेच्न राखिएका सामाग्रीहरूमा खाली ग्यालन वा वोतलहरू पनि राखिएकाछन् जसलाई यर्दनको पानी लैजान चाहनेहरूले प्रयोग गर्ने गर्दछन्।

 

हर्मन पर्वतका हिउँ पग्लेर शुरु भई बग्ने सुन्दर नदि यर्दन विश्वकै एक आकर्षक नदि हो जसमा नै यरूशलेम र यहूदियाबाट मानिसहरू आफ्ना पापहरूको स्वीकार गर्दै बप्तिस्मा लिन्थे (मत्ती ३:५-६)। यर्दन नदिको विषयमा केही वर्णन यशैयाले गरेका थिए (यशैया ९:१-२) जसलाई मत्ती ४:१५ मा उधृत गरिएको छ। मसीह कसरी गालील वरपर, यर्दन वरपरका भूभागमा आउनुहुन्छ सोको वर्णन यशैयाले गरेका थिए। यस नदिमा थुप्रै आश्चर्यकर्महरू गरिएका थिए। यहोशूको नेतृत्वमा आएको इस्रायलीहरूका निम्ति यस नदि दुई भाग भएका थिए (यहोशू ३:१५-१७)। एलिया आफू माथि उठाइन अघि यर्दनलाई दुई भाग पारी तरेका थिए (२ राजा २:८)।  एलिशाको समयमा अरामी सेनापति नामानको कोरी रोगबाट चंगाई हुन अगमवक्ता एलिशाले यर्दनमा सातपल्ट डुबुल्की मार्न लगाएका थिए (२ राजा ५:१०)। उनी यर्दनमा एलिशाले भनेझैं गर्दा आफ्नो रोगबाट पूर्ण चंगाई भएका थिए। यस नदि नै आधुनिक इस्रायल र जोर्डन राज्यको सिमा-रेखा पनि हो। १९६७ को युद्ध अघि यर्दनबाट पश्चिम किनारमा रहेको वेस्ट बैंक क्षेत्र जोर्डन राज्यको अधिनमा थियो। यूहन्ना र ख्रीष्ट येशूले यस नदिमा बप्तिस्मा दिने कार्य पछि यो नदि विश्वव्यापी रुपमा ईशाईहरूका आकर्षणका केन्द्र बन्दै आएको छ। हरेक वर्ष विश्वभरिबाट यस नदिमा ठूलो संख्यामा ईशाईहरू जाने गर्दछन्।

 

यर्दन नदि र यसका आसपासका मैदानलाई परमप्रभुको बगैंचा जस्तो थियो भनिएको थियो (उत्पत्ति १३:१०)। यस नदिको पूर्ण लम्बाइ २५१ कि.मि. रहेको छ। २८१४ मि. उचाई गोलन हाइट क्षेत्रबाट शुरु भई यो नदि समुद्र सतह भन्दा ४१६ मि. गहिराईमा रहेको मृत्यु सागरमा विलय हुन्छ। यस नदिले अत्यन्तै उर्बर यर्दन उपत्यकाको सृजना गरेको छ। यर्दन नदिको दृश्यावलोकनपछि हामीहरू टाइबेरियस आयौं र विश्राम लियौं।
नासरत शहर

जून १६, २०१३ को विहानीसंगै हामीहरू नासरत तर्फ प्रस्थान गर्‍यौं। टाइवेरियस शहरको पृष्ठभूमिमा रहेको पहाडका फेदीहरू भएर गयौं जहाँ ठूलो संख्यामा कवरस्थानहरू व्यवस्थित रुपमा राखिएका छन्। एक दिन बौरिउठ्ने कुरामा यहूदीहरू विश्वास राख्दछन्। टाइवेरियस यहूदीहरूको शहर हो। यसलाई उनीहरूले यहुदी अध्ययन केन्द्रको रुपमा पनि लिंदछन्। नासरत इस्रायलको उत्तरी भूभागको सबैभन्दा ठूलो शहर हो। यसलाई इस्रायलको अरबी राजधानी भनेर चिनिन्छ। यस शहरका अधिकांश बासिन्दाहरू अरबी मूलका रहेका छन्। नासरतबासीहरू मुश्लिम वा ख्रीष्टियन धर्मावलम्वीहरू रहेका छन्। यस शहरको क्षेत्रफल १४.२ बर्ग कि.मि. रहेको छ। नासरतमा रहँदा गब्रिएल स्वर्गदूत मार्फत  कन्या मरियमले गर्भधानको सूचना पाएका थिए। येशूको बाल्यकाल नासरतमा वितेको थियो। नासरतमा हुर्केको हुनाले उहाँलाई नासरी भनियो। गब्रिएल मरियमकहाँ देखा परेको स्थानमा आज रोमन क्याथोलिक चर्च भवन अवस्थित रहेको छ। त्यसभित्र वेन्चहरू मिलाएर राखिएको ठूलो हल छ, जहाँ ख्रीष्टियन पर्यटकहरू बस्न वा संगति गर्न सक्दछन्। यस चर्च भवन बाहिर प्राचीन नासरत गाउँका भग्नाबशेषहरूलाई संरक्षण दिइएको छ। त्यसवेलाका भाँडा-वर्तन, खाद्य-भण्डार, दाखका कोल, आदिलाई संरक्षण दिइएको छ। यस स्थानको पूर्वी कुनामा मरियमको भान्साघर मानिएको स्थानलाई संरक्षण दिइएको छ। यस स्थानमा बाइजेनटाइन कालमा बनाइएको चर्च घरको मोजेइकहरू (भुइका कलात्मक टायलहरू) अझै पनि संरक्षित छन। प्राचीन नासरत गाउँको प्रवेशद्वारमा लेखिएको छ, “येशूले भन्नुभयो, म बास्तवमा अल्लाहको दास हुँ, अल्लाह मेरो प्रभु हो अनि तिमीहरूको प्रभु, त्यसैले उहाँलाई मात्र आराधना गर”। (कुरान ३:५१) Jesus said: “I am indeed a slave of Allah, Allah is my Lord and your Lord, So worship him alone.” (Quran 3:51)।

अर्को ठाउँमा यस्तो लेखिएको छ,  “पवित्र शास्त्रका मानिसहरू (यहुदी र ख्रीष्टियनहरू) हो; तपाईहरू र हाम्रो वीचमा भएको साझा शब्दमा आऔं कि हामी अरुलाई होइन केवल एक मात्र परमेश्वरलाई पुज्दछौं, उहाँसंग हामी अन्य व्यक्तिलाई राख्दैनौं, परमेश्वरलाई वाहेक हामीमध्ये कसैले पनि अन्यलाई प्रभुको रुपमा मान्दैनौं।

 

 

नासरत शहर

तिनीहरू (यहूदी र ख्रीष्टियनहरू) यसबाट फर्केमा तब भन्नुपर्छ: साक्षी बन कि हामीहरू मुश्लिम हौं“ (पवित्र कुरान ३:६७)। नासरतमा बहुसंख्यक बासिन्दाहरू मुश्लिमहरू छन् र उनीहरू आफूलाई यहुदी तथा ख्रीष्टियनबाट अलग्याइएको महसुस गर्छन्। उनीहरू यो देखाइन चाहान्छन् कि यहूदी, ख्रीष्टियन र मुश्लिम एकै मार्गी हुन्।

 

अर्को ठाउँमा लेखिएको थियो, अनि कसैले इश्लाम वाहेक अर्को धर्मलाई खोज्दछ भने त्यो कहिल्यै ग्रहण हुनेछैन, अन्तत: उनी गुमाउनेहरू मध्येका हुनेछन् (पवित्र कुरान)।     मुश्लिम वाहुल्यता भएको नासरतमा दिनहुँ लाग्ने हजारौं ईशाईहरूलाई सम्बोधन गरिएका यी लेखहरू नासरतको मरियमको प्राचीन घर मानिएको स्थानको मूल चोकमा झुण्ड्याइएका छन्। नासरतमा दोस्रो ठूलो जनसंख्या ईशाइहरूको रहेको छ। हामी नासरत पुग्दा त्यहांका सम्पूर्ण पसलहरू बन्द थिए अधिल्लो दिन शनिबार सम्पूर्ण टाइबेरियस बन्द थियो। टाइबेरियस यहूदी शहर हो। इस्रायल यहुदी ख्रीष्टियन र मुश्लिम धर्मवालम्वीहरूको बासोवास स्थल हो।

 

यिज्रेएल उपत्यका

नासरत पछि हामीहरू विशाल यिज्रेएल उपत्यका भएर कर्मेल पर्वत तर्फ लाग्यौं। यिज्रेएल उपत्यका इस्रायल राष्ट्रको उत्तरी क्षेत्र गालीलमा अवस्थित छ। यो उपत्यका मेसापोटामिया र मिश्र विचको प्राचीन व्यापारिक मार्गमा पर्दथ्यो। यस उपत्यकाको लम्बाई ४० कि.मि. (२५ माइल) रहेको छ। यस उपत्यका युद्धको निम्ति अत्यन्त उपयुक्त देखिएकोले यस उपत्यकामा विगतमा ठूला ठूला युद्धहरू भएका थिए। यस उपत्यकाको दक्षिण-पश्चिम भागमा मगिद्दो भन्ने स्थान रहेको छ। यस स्थानलाई हारमगिद्दोन (प्रकाश १६:१६) भनिन्छ। बाइबलको भविष्यवाणी अनुसार यस स्थानमा पृथ्वीका योद्धाहरूलाई भेला पारिनेछ र तिनलाई कोलमा अंगुर पेले झै परमेश्वरको क्रोधमा पारिनेछ जसको रगत २०० माइलसम्म ठूलो गहिराइ र विशालतामा बग्नेछ। (१४:१९,२०)। आँखाले हेरेर नभ्याउने यस उपत्यकामा आज व्यवसायिक कृषि खेती लगाइएकोछ। आधुनिक मेशिनद्वारा गहुँ छर्ने देखि लिएर गहुँ संकलन र छ्वाली व्यवस्थापन गरिन्छन्। यी सबै भुभागहरू तल्लो तटीय गालील क्षेत्रभित्र पर्दछन्। तल्लो गालीली क्षेत्र हाइफ देखि गालील समुद्रवीचमा पर्दछ। माथिल्लो गालीली नेहरिया, लेवनान, सिमाना हुने गोलन सिमाना सम्म पुग्दछ। यिज्रेएल उपत्यकको पूर्वी भागमा टबोर पर्वत अवस्थित छ भने पश्चिम भाग हाइफ नजीक कर्मेल पर्वत अवस्थित छ।

 

कर्मेल

यिज्रेएल उपत्यकाको पश्चिमी भागमा कर्मेल पर्वत अवस्थित रहेको छ। यो पर्वत निकै अग्लो उचाईमा रहेको  छ। चौतर्फी वन क्षेत्रले घेरिएको कर्मेल मनोहर पर्वत हो। यस पर्वतलाई हार कर्मेल, जेवेल कुरमुल, रोश केदेश आदि नामले पनि चिनिन्छ। यस पर्वतलाई सुन्दरता र उर्बरताको नमूनाको रुपमा पनि चिनिन्छ (यशैया ३५:२; श्रेष्ठगीत ७:५; नहुम १:४)। यही स्थानमा सारा वाल तथा अशेरा देवीका अगमबक्ताहरूलाई भेला हुनका निम्ति एलियाले आह्वान गरेका थिए। यहाँ एलियाले बालका अगमवक्ताहरूलाई विफल तुल्याएका थिए। राजा आहावसमेत उपस्थित उक्त सभामा वालका अगमबक्ताहरूले आफ्नो वेदी वनाइसकेपछि आफ्नो देवता वाललाई पुकारेका थिए। तर वालबाट सुनाइ भएन। विहान देखि दिनभरि नै ती अगमबक्ताहरू कराइ नै रहे। आफ्नो शरिरका अंगहरू काट्दै ती उफ्रि नै रहे तर कुनै सुनाइ भएन। किनकि ती केवल मूर्तिहरू मात्र थिए। त्यस पछि एलियाले आफ्नो पालो लिए। उनले वेदीका निम्ति १२ वटा ढुंगाहरू तयार पारे। वेदीमा पानी खन्याउन लगाए। अझै त्यसो गर्न अह्राए। अनि त्यसमाथि उनले वलिदान राखे। त्यसपछि परमेश्वरमा प्रार्थना गरे। परमेश्वरले स्वर्गबाट आगो झार्नुभयो। त्यस आगोबाट वेदी, वलिदान सबै ध्वस्त भए। सारा इस्रायलले एलियाका परमेश्वरलाई पछ्याए। वाल तथा अशेराका अगमबक्ताहरूलाई कर्मेल पर्वत मुनि यिज्रेएल उपत्यकामा भएको किशोन खोलामा लगेर नाश पारिएको थियो। त्यस दिन उनले प्रार्थना गरे र परमेश्वरले ठूलो पानी पार्नुभयो। ठूलो वर्षाका कारण यिज्रेएलको मुलढोकासम्म आहाब दगुर्दै गएका थिए। यसरी परमप्रभुले ३ १/२  वर्षसम्मको खडेरी पछि इस्रायलमा पानी पार्नु भयो (१ राजा १८, याकुब ५:१७,१८)। कर्मेल पर्वतमा आज कर्मेरलाइट अर्डरका स्याङचुरी र मोनास्टेरीहरू रहेका छन्।

 

टेबोर पर्वत

कर्मेल पहाडबाट झरेपछि विशाल यिज्रेएल उपत्यका पार गर्दै हामीहरू टेबोर पर्वतिर लाग्यौं। टेबोर पर्वतमा पुग्न घुम्ति मार्ग हुँदै उकालो लाग्नुपर्दछ। कर्मेल पहाड यिज्रेएल उपत्यकाको पश्चिमी किनारामा अवस्थित छ भने टेबोर पर्वत पूर्वी किनारमा अवस्थित छ। यो पर्वत गालील समुद्रबाट ११ माइल पश्चिममा पर्दछ। यसको उचाई ५७५ मि. रहेको छ। टेबोर पर्वत गालील क्षेत्रको आकर्षक पर्वत हो जसलाई पारम्पारिक रुपमा येशूको रुप परिवर्तन भएको पर्वतको रुपमा चिनिन्छ। तर कतिले हर्मन पर्वतमा येशूको रुप परिवर्तन भएको हो भनी मान्दछन्। येशू सिजरिया फिलिप्पीमा आउनुभयो। भनिएको छ (मत्ती १६:१३)। सिजरिया फिलिप्पी फिलिपको राज्यकालमा राजधानी थियो। यो शहर हर्मन पर्वतकै फेदीमा पर्दछ। येशू सिजरीया फिलिप्पीमा पुगेको भनिएकोले हर्मन पर्वत येशूको रुप परिवर्तनको डांडा हुन सक्ने भनिएको हो। किनकि सिजरिया फिलिप्पीमा रहनुभएको घटनाको छ दिनपछि रुप परिवर्तनको घटना भएको उल्लेख छ (मत्ती १७:१)।

 

जोर्डन उपत्यका

जून १७ का दिन हामीहरू जोर्डन उपत्यका हुँदै मृत्युसागरतर्फ लाग्यौं। गालील समु्द्रबाट मृत्यु सागरमा पुग्ने नदीलाई यर्दन भनिन्छ। यर्दन नदी इस्रायलको वरदान हो। यसले ठूलो क्षेत्रलाई सिंचन गर्दछ। यसको पानी सफा र ताजा छ। यस नदीले वरपरका ठूलो भूभागलाई उपत्यकाको रुपमा सृजना गरेको छ। गालीलबाट यर्दन उपत्यका भएर तल्लो यर्दन तिर आउने सिधा र सरल बाटो रहेको छ। गालीलीहरूलाई गालीलबाट यरुशलेम जाँदा समेत यही बाटो सरल  पर्दथ्यो। यर्दन उपत्यका खेतीयोग्य जमीनले भरिएकोछ। विशेषत: गालील समुद्रको तल्लो तटीय क्षेत्रमा रहेको किन्नेरेतको फाँट खेतीको निम्ति अत्यन्तै उर्बर रहेको छ। यस स्थानमा कृषि अध्ययन केन्द्र समेत रहेको छ। पारी जोर्डन र वारि इस्रायल भूभाग दुबै हराभरा देखिन्छ। विशेषगरी इस्रायल तर्फको भूभाग आधुनिक केरा खेती, गहुँ खेती तथा अन्य खेतीहरूले भरिएको देखिन्छ। मृत्यु सागरमा पुगेर टुंगिएको यर्दन नदी सदाको निम्ति यही मृत्यु सागरमा बिलय हुन्छ। त्यो फेरि अन्यत्र कतै बग्दैन। किन्नेरेतको विशाल मैदान पछि आउने घना बस्ती रहेको शहर बेटशियन पछि वेस्ट बैकं अर्थात् प्यालेस्टनी स्वायत्त प्रदेश ‘पश्चिम किनारा’ शुरुहुन्छ। वेस्ट बैंक र गाजा क्षेत्र इस्रायल राज्य भित्र पर्ने प्यालेस्टनी स्वायत्त क्षेत्र हुन्। वेस्ट बैंक भएर डेड सी हुदै इलाट सम्म पुग्ने राजमार्गमा इस्रायली सेनाको नियन्त्रण रहेको छ। ती सबै बाटोहरूमा इस्रायली झण्डा फरफराइरहेका हुन्छन्। प्यालेस्टाइनी क्षेत्र प्रवेश अघि इस्रायली चेक प्वाइन्ट रहेको छ, जहाँ इस्रायली सेनाद्वारा कडा शुरक्षा जाँच हुनुको साथै विदेशी पर्यटकहरूको भिसा जाँचसम्मको कार्य हुँदछ। मृत्यु सागर जाँदै गर्दा जति दक्षिण लाग्यो उति नै भूभाग उजाड र सुखा भेटिन्छ। दायाँतिर गिलगाल, यरिहो क्षेत्र, कुम्रोन हुँदै अघि बढेको हुन्छ। यरिहो शहर यहोशूको नेतृत्वको यहूदी सेनाको सामु पूरै ढलेको थियो। हाल यस प्राचीन शहर यरिहो क्षेत्रमा फिजिएर ठूलो क्षेत्र ओगटेर यरीयो शहर रहेको छ। कुम्रोनमा भेटिएको प्राचीन वाइवललाई ‘डेड सी स्क्रोल’ भनिन्छ।

 

मृत्यु सागर

यर्दन नदिलाई पछ्याउँदै जाँदा हामीहरू मृत्युसागरमा पुग्यौं। यस समुद्रलाई खारा समुद्र अर्थात् नून समुद्र पनि भनिन्छ। यस समुद्रको सतह -४२७ मि. रहेको छ अर्थात् समुद्र सतहबाट यो समुद्र ४२७ मि. तल रहेको छ। यो विश्वकै सबैभन्दा होचो भाग हो। यस समुद्रको लम्बाई ५५ कि.मि., चौडाई १८ कि.मि., गहिराई ११८ मि. रहेको छ भने क्षेत्रफल ८१० बर्ग कि.मि. रहेको छ। यो अत्यन्तै नुनिलो पानीले भरिएको छ। मृत्यु सागरको दक्षिणी खण्डमा इस्रायल राज्य क्षेत्रतिर ठूलो जल क्रीडास्थल तयार पारिएको छ। यस क्षेत्रमा ठूला ठूला अत्याधुनिक होटलहरू बनेका छन्। डेड सी अर्थात् मृत्यु सागरमा जल क्रीडा गर्नेको ठूला ठूला भीड लाग्ने गर्दछ। यस सागरमा संतुलित भएर पौडिंदा डुब्दैन। पानी भारी मात्रामा रहेको नूनको कारण पानीको उर्ध्व चाप (upthrust) अधिक रहन्छ र वस्तु सहज रुपमा तैरन्छ। यसको पानीमा नुहाएमा छालाका रोगहरू निको हुन्छन् भन्ने धारणा रहेको छ। यस सागर भित्र र किनारहरूमा थुप्रै नूनका ढिकाहरू देख्न सकिन्छ। मृत्यु सागर पारी भने जोर्डन राज्य क्षेत्र पर्दछ। मृत्यु सागरमा पुगेर टुंगिएको जोर्डन नदि सदाको निम्ति यही मृत्यु सागरमा बिलय हुन्छ। मानौं कि जीवन मृत्युमा निलियो। पानी फेरि अन्यत्र कतै बग्दैन। यस सागरमा कुनै पनि जीव जीवित रहन सक्दैन। त्यसैले यस सागरलाई मृत्युसागर भनिएको हो।

 

मसादा

मृत्युसागरबाट हामीहरू नजीकै रहेको मसादा गयौं। मसादा एक प्राकृतिक गडी हो जुन मृत्यु सागरको मध्य भाग तिर इस्रायल तर्फको अग्लो भूभागमा अवस्थित छ। मसदा चारैतिरबाट उठेको अत्यन्तै शुरक्षित प्राकृतिक किल्ला हो। चारैतिरबाट धारिलो आकाशिएको भिर र विचमा ठूलै समथर भुभागमा फैलिएको मसदामा हेरोदको दरवार र शुरक्षा किल्ला थियो। पछिबाट यस स्थानमा वाइजेन्टाईन कालमा क्याथोलिक प्रिस्टहरूले प्रार्थना र अध्ययनको निम्ति मोनास्टरी बनाएका थिए। यस स्थानबाट पूर्वमा मृत्युसागर र पश्चिममा विशाल यहुदीया मरुभूमी देख्न सकिन्छ। मसादामा पदलै पनि जान सकिने व्यवस्था मिलाइएको छ। साथै यस स्थानमा पुग्न केबुल बसको व्यस्था गरिएको छ। करिब ८० जना बोक्ने केवल बसमा मसादा पुग्दा त्यहाँ ठूलो संख्यामा पर्यटकहरू भेला भएको पाइएको थियो।  ई.सं. ६६ मा पहिलो यहूदी-रोमी युद्ध भएको थियो। यहूदी लडाकाहरूले मसादामाथि धावा बोली रोमी टुकुडी हटाई यस स्थानलाई शक्तिसाली रोमी सेनाबाट बच्न आश्रय लिएका थिए। ई.सं. ७३ मा रोमी सेनाले मसादालाई घेराबन्दी गरी मसादाको पश्चिम भागमा माटो थुपारी प्रवेश मार्ग बनाई किल्लामाथि लामो समयको प्रयासपछि विजय हासिल गरेका थिए। मसादामाथि धावा बोल्न रोमी प्रशासनले १५,००० जनाको सेना प्रयोग गरेका थिए। तर यहूदीहरूले माथिबाट ढुंगा बर्साई काममा अबरोध गरेपछि रोमी सेनाले यहूदी बन्दीहरूलाई सो कामको निम्ति प्रयोग गरेका थिए। आफ्नै भाईहरूले काम गरिरहेको देखेपछि यहूदी सेनाले आक्रमण गर्न छोडेका थिए। इतिहासकार जोसेफसका अनुसार जब रोमी सेना उक्त किल्ला भित्र प्रवेश गरे उनीहरूले ९६० शबहरू भेटेका थिए भने केवल २ महिला र ५ नानीहरू मात्र जीवित भेटिएका थिए। इतिहासकार जोसेफसले ती मरेकाहरूले आत्माहत्या गरेको हुन सक्ने उल्लेख गरेका थिए।

 

एनगदी

मसादा पछि मृत्यु सागरको पश्चिम किनारबाट केही दुरीमा रहेको क्षेत्र एनगदी पुग्यौं, जहाँ प्रशस्त गुफाहरू हुनुको साथै ताजा पानीका मुहानहरू रहेका छन्। मरुभूमिमा समेत ताजा पानीका मूल रहनु एनगदीको विशेषता हो। यही कारण यस क्षेत्रमा ठूलो संख्यामा हरियाली बन बाटिका लगायत जंगली जनावरहरू रहेका छन्। यस क्षेत्रमा इस्रायल सरकारले बन्य-जन्तु संरक्षण क्षेत्रको रुपमा घोषणा गरी पर्यटन विकासलाई अघि बढाएका छन्। एनगदी  शावलबाट भाग्दा दाऊदको एक आश्रय स्थल थियो। शावलले पलिश्तीहरूको पीछा गर्न छोडेपछि उनी दाऊदको पीछा गर्न अघि बढे। उसलाई भनिएको थियो, दाऊद एनगदीको मरुभूमिमा छन्। इस्रायलका चुनिएका ३००० सेनालाई लिएर उनी एनगदी घेराउ गर्न गएका थिए। उनी आफ्ना सेनाका साथ ती जंगली वाख्राहरूका चट्टानहरूमा पसेपछि उनलाई दिसाबस्न मन लाग्यो र एक गुफा भित्र छिरे। दाऊद आफ्ना सेनाका साथ त्यही गुफाको भित्री भागमा बसिरहेका थिए। दाऊदले शावलको लवेदाको किनार सुटुक्क काटे। त्यसवेला शावल दाऊदको हातमा परेका थिए तर दाऊदको डर राख्ने मानिस भएका हुनाले उनी विरुद्ध कुनै अरु कदम चाल्न चाहेनन्। यस कुराको जानकारी दाऊदबाट पाएपछि शावल घर फर्के। तर दाऊद त्यही क्षेत्रमा रहिरहे। अनि हामी टाइवेरियस फर्क्यौं।

 

यहुदियाको मरुभूमि

जून १८ मा टाइबेरियसमै विश्राम लियौं। कुनै यात्राहरू गरिएन। जून १९ मा हामीहरू यर्दन उपत्यका भएर यरुशलेम गयौं। यरुशलेम जाँदा यहूदीयाको मरुभूमी भएर उकालो लाग्यौं। यरुशलेम जाँदा वेस्ट बैंक क्षेत्र भएर यरिहोलाई दायाँ पारेर उकालो चढ्नुपर्दछ। यस क्षेत्रमा ठूलो मात्रामा मरुभूमिले ढाकेको छ। हरियाली विरलै मात्रामा देख्न सकिन्छ। यर्दनमा बप्तिस्मा पछि यहूदीयाको यही उजाडस्थानमा येशूले ४० दिन ४० रातसम्म उपवास र प्रार्थनामा समय विताउनुभएको थियो। त्यस उजाडस्थान भएर यरुशलेम जाने मार्गमा इस्रायल सरकारले अत्याधुनिक राजमार्ग निर्माण गरेको छ। यही राजमार्ग भएर सारा विश्वकै पवित्र स्थल मानिएको इस्रायलको राजधानी यरुशलेम पुगिन्छ।

 

जैतुन पर्वत

यरुशलेम तर्फको व्यस्त मार्ग भएर हामीहरू जैतुन पर्वतमा पुग्यौं। येशू गालीलबाट यर्दन भएर आउनुहुँदा जैतुन भएर आउनुभयो। जैतुन डांडा यरुशलेमबाट एक विश्राम दिनको बाटो जो लगभग १.५ कि.मि. दुरीमा छ। जैतुनमा आइसकेपछि हामीहरूले यरुशलेमको सुन्दर दृश्यावलोकन गर्‍यौं। यरुशलेमको सुन्दरतालाई सबभन्दा राम्रोसंग जैतुन पर्वतबाट देख्न सकिन्छ। जैतुन पर्वतबाट येशू जिवितै स्वर्गारोण हुनुभयो।

 

गेतसमनीको बगैंचा

सुन्दर र पवित्र शहर मानिने यरुशलेमको दृश्यवलोकन पछि हामीहरू किद्रोन खोल्चा तर्फ ओरालो लाग्यौं। त्यसपछि किद्रोन खोल्सा भन्दा केही माथि रहेको गेतसमनीको बगैंचामा पुगिन्छ। गेतसमनीको बगैँचा येशू पक्राउ पर्नुभन्दा केही समय अघि आफ्नो चेलाहरूको साथ प्रार्थनामा समय विताउनु भएको स्थान हो। यूहन्ना १८:१, लूका २२:४१-४२। यस स्थानमा यहूदा येशूलाई पक्रन मन्दिरका पूजाहारीहरू र सिपाहीहरूका साथ आएका थिए। येशूलाई ३० चाँदीको टुक्राहरूमा उनले विचेका थिए। यहूदाले उहाँलाई चुम्बनद्वारा पक्राएका थिए (मत्ती २६:३६-५६)। गेतसमनीको बगैचा भित्र ठूलो र पुराना जैतुनका रुखहरू र अन्य रुखहरूको संरक्षण गरिएको छ। उहाँको पक्राउ थलो मानिएको स्थानमा आज ठूलो र कलात्मक चर्च घर देखिन सकिन्छ। यस वगैंचा हेर्न ख्रीष्टियन पर्यटकहरू ठूलो संख्यामा आउने गर्दछन्। यस स्थानमा निर्मित चर्च घरलाई बासिलिका अफ अगोनी भनिन्छ जसलाई एन्टोनियो बासलुज्जीको अर्किटेक्टचरमा १९२४ मा निर्माण भएको थियो। ‘गेतसमनी’ को अर्थ “जैतुन तेलको कोल” हुन्छ। यो स्थान जैतुन डाँडाको फेदीमा अवस्थित छ। यस स्थानमा वाइजेन्टाइन बासिलिका इ.सं. ३८० थियोडिसियसको पालामा बनेको थियो। क्रुसेडरहरूले १२ औं शताब्दीमा यही स्थानमा बासिलिका बनाएका थिए। यसलाई ई.सं. १२०० मा नष्ट गरिएको थियो। भने यसका भग्नवाशेष अझै पनि वर्तमान चर्च भवनको दक्षिणी भागमा रहेको छ। यी पछिल्लो बासिलिका बाइजेइन्टाइन बासिलिकाको नमूनामा एन्टोनियो बासलुज्जीको योजनामा १९१९ मा शुरु गरिएको थियो र १९२४ मा सम्पन्न भएको थियो।

 

यरुशलेम पर्खाल र जैतुन डाँडा वीचको भूभागमा मुश्लिम तथा यहुदीहरूको कवरस्थान रहेका छन्। यरुशलेम शहरको मन्दिर क्षेत्र प्रवेश गर्ने मूलद्वारलाई टर्कीहरूले पर्खाल लगाई बन्द गरेका थिए र आज पनि त्यस मुलद्वार बन्द गरिएकै अवस्थामा रहेको छ। त्यही मुलद्वार भएर येशू मन्दिर भित्र पसेको हुन सक्ने अनुमान गरिएको छ। जैतुन डाँडाको किद्रोन तर्फको पर्खालमा अगमवक्ताहरूको कवरस्थान रहेको छ। किद्रोन खोल्सा छेवैमा अब्सालोमको खम्वा रहेको छ जो ढुंगा कोपेर बनाइएको छ। यरुशलेममा हामीले विश्राम लियौं।  क्रमशः

 

यरुशलेम

जून  २० का दिन लायन्स गेट वा सिंह ढोका भएर हामीहरू यरुशलेम पस्यौं। केही समयमा हामी बेथेस्दा आइपुग्यौं, जहाँ येशूले ३८ वर्ष देखि रोग लागेको एकजना रोगीलाई निको पार्नुभयो। उनी वेथेस्दा दह छचल्किएको हेर्न बसेकै पनि लामो समय वितिसकेको थियो (युहन्ना ५:१-९)। यस स्थनमा पिउने तथा नुहाउने पानीको दह थियो जसलाई कुनै एक स्वर्गदूतले वेला वखत हल्लाइ दिंदा जो कोही पहिला पानीमा जानेलाई निको पारिन्थ्यो। तर ३८ वर्ष सम्म रोग लागेको उक्त रोगी पोखरीमा जान असमर्थ हुन्थ्यो र उनी निको पारिएको थिएन। तर येशूको अनुग्रहद्वारा उहाँको वचनद्वारा उनी निको पारिए। यस दहको अवस्थितिले देखाउँदछ कि प्राचीन यरुशलेम सतह भन्दा आजको यरुशलेमको सतह निकै माथि उठेको छ। वेथेस्दा दहमाथि वाइजेन्टाइनहरूले चर्च घर बनाए जसलाई सातौ सताप्दीमा मूश्लिमहरूले भत्काए। बाह्रौ शताब्दीमा क्रुसेडहरूले त्यही स्थानमा पुनः चर्च घर बनाए जसलाई मुश्लिमहरूले पुन: नष्ट गरे। यस स्थानमा आज रहेको चर्च घर १८९२ मा फ्रान्सका ख्रीष्टियनहरूले बनाएका थिए जो आर्किटेक्चरको हिसाबले विशिष्ट रहेको छ। यस भवनमा प्रवचन दिंदा वा भजन गाउँदा साउण्ड सिस्टम आवश्यक पर्दैन।

 

सन् १९५० देखि यरुशलेम इस्रायलको राजधानी बनाइएको छ तथापि संयुक्त राष्ट्र संघ तथा अन्य राष्ट्रहरूको राजदूतावासहरू तेल अबिबमा नै रहिआएका छन्। यरुशलेमको लामो इतिहासकालमा यसलाई दुई पटक ध्वस्त पारिएको थियो भने २३ पटक घेराबन्दी गरिएको थियो। ५२ पटक आक्रमण गरिएको थियो भने ४४ पटक यसमा विपक्षीहरूले विजय हाँसिल गरेका थिए। यस शहरमा ई.पू. ४००० देखि मानव वस्ती रहँदै आएको थियो। यो संसारकै एक पुरानो शहर हो। यस शहरलाई यहूदी तथा प्यालेस्टनी दुबैले आ-आफ्नो थलो रहेको दावी गर्दै आएका छन्। यस शहरको पहिलो पटक नाम मिश्र लेखोटमा पाइएको थियो जसमा यस शहरको नाम ‘रुसलिमम’ उल्लेख भएको थियो। यसको अर्थ ‘शान्ति’ हुन्थ्यो। उत्पत्ति १४:१८ मा मल्किशेदेकको राज्य ‘शालेम’को उल्लेख भएको छ। यहूदीहरू विश्वास गर्दछन् कि उक्त शहर ‘शालेम’ आजको ‘यरुशलेम’ थियो। ई.सं. १००० मा राजा दाऊदले यसमाथि अधिकार जमाए। त्यसपछि यस शहरको नाम ‘दाऊदको शहर’ तथा इस्रायलको राजधानी कहलियो। शमूएलको पुस्तक अनुसार यबुसीहरूले यरुशलेमको रक्षार्थ इस्रायलीहरूको सामना गरेका थिए। दाऊदले यस शहरमा वेदी बनाउनुका साथै परमेश्वरको सन्दुक यस शहरमा ल्याएका थिए। पछि राजा शुलेमानले यही शहरमा परमेश्वरको मन्दिर बनाएका थिए। इस्रायल राज्य विभक्त भएपछि यरुशलेम यहूदा राज्यको राजधानी बनेको थियो। उत्तरी राज्य इस्रायलको राजधानी भने सामारियाको शेकेम बनाइएको थियो। त्यस पछि यरुशलेम कमजोर बन्दै गएको थियो र मिश्र लगायतका राष्ट्रहरूले यसमाथि धावा बोलेको थियो। यरुशलेम यहूदाको राजधानीको रुपमा ४०० वर्षसम्म रह्यो। ई.पू. ७०१ मा आसेरियाली राजा सनहेरिबबाट यो शहर वचेको थियो। तर ई.पू. ५९७ मा यस शहरलाई बेबिलोनी राजा नबुकदनेसरले लिएका थिए। त्यसवेला राजा यहोयाकिनले यहूदामा शासन गरिरहेका थिए। यहोयाकिनलाई कैद बनाएर बेबिलोन लगियो। उनको स्थानमा उनका काका मतन्याहलाई राजा बनाए जसको नाम नबुकदनेसरले सिदकियाह राखेका थिए। राजा सिदकियाले नबुकदनेसर विरुद्ध बिद्रोह गरेपछि यरुशलेमलाई नबुकदनेसरले पुनः लिए र सिदकियाहकै सामु तिनका छोराहरूलाई  मारे र सिदकियाहका आँखाहरू निकालिदिए। त्यसपछि उनलाई बन्दी बनाई बेबिलोन लगियो। ठूलो संख्यामा मानिसहरू र धनसम्पत्ति बेबिलोन लगियो। नबुकदनेसरले गदल्याहलाई यहूदाका शासकको रुपमा नियुक्त गरे। तर उनलाई पछिबाट विद्रोही यहूदीहरूले मारे। त्यसपछि बाँकी रहेका यहूदीहरू कल्दीहरूको डरको कारण मिश्र देशतिर लागे (२ राजा २४,२५)।

 

त्यसपछि यरुशलेम माथि क्रमशः मादीफारस, ग्रीस र रोमी शासकहरूले माथ गरेका थिए। यरुशलेम शान्तिको शहर कहलिए पनि सबै भन्दा अशान्त र अस्थिर शहरको रुपमा रहँदै आएको छ। त्यसपछि यरुशलेम मुश्लिम शासकहरू, टर्कीका शासकहरूको नियन्त्रणमा रहे। ओमर, बाइजेन्टाइन, क्रुसेडर आदिले यसलाई आफ्नो प्रभुत्वको निम्ति लक्ष बनाएका थिए। यो शहर यहूदी, ख्रीष्टियन तथा मुश्लिमहरूले आफ्नो धार्मिक स्थलको रुपमा हेर्दछन्।

 

१९१७ डिसेम्बर मा ब्रिटिस सेनाले ओटोमनहरूबाट प्यालेस्टाइनलाई आफ्नो नियन्त्रणमा लिए। ब्रिटिसकालीन शासनकालमा यरुशलेममा अस्थिरता वृद्धि भयो। त्यस अवधिमा यहूदीहरू सियोनवादीहरूको नेतृत्वमा विभिन्न राष्ट्रहरूबाट प्यालेस्टाइन फर्कंदै थिए। २९ नोवेम्वर, १९४७ मा संयुक्त राष्ट्र संघले विटिस अधिनस्थ प्यालेस्टाइनलाई यहूदी र अरवी राज्यहरू गरी दुई भागमा बाँड्ने निर्णय गरे। यरुशलेमलाई भने अन्तर्राष्ट्रिय शान्तिसेनाको हातमा राखिने भयो। व्रिटेनले प्यालेस्टाइनबाट आफू पछि हटेकै समयमा अर्थात् १४ मे १९४८ को मध्यरातमा बेनगुरियनको नेतृत्वमा इस्रायल राष्ट्रको घोषणा भयो। १९४८ को अरव-इज्रायली युद्धमा यरुशलेम विभक्त भएको थियो। यरुशलेमको पश्चिमी भाग इस्रायलमा गाभिएको थियो भने पुरानो शहर सहित पूर्वी यरुशलेममा जोर्डनले आफ्नो नियन्त्रणमा लिएको थियो। १९६७ को छ दिने युद्धमा पूर्वी यरुशलेमलाई इस्रायल राष्ट्रमा समाहित गरिएको थियो।

 

यरुशलेम शहरको पुरानो शहर खण्ड चार भागमा वाँडिएको छ, यहूदी, अर्मेनियन, ख्रीष्टियन र मुश्लिम। प्रत्येक खण्डमा आ-आफ्नै धार्मिक स्थल, जीवन शैली देख्न सकिन्छ। मुश्लिम खण्डमा ओमरको मस्जिद (डुम अफ द रक) रहेको छ भने ख्रीष्टियन खण्डमा होली सेपुल्कर चर्च रहेकोछ। रोमन क्याथोलिक, अर्मेनियन र ग्रीक अर्थोडक्सहरू ख्रीष्ट येशूको  वलिदानको स्थल र कवरस्थान पुरानो यरुशलेम भित्र नै रहेको बताउँछन्। ती स्थानहरू प्राचीन यरुशलेम पर्खाल वाहिर नै रहेको उनीहरूको दावी छ। यस स्थानमा कवरस्थानको ढोकाको केही अंश राखिएको छ। जसलाई अधिकांश क्याथोलिक तथा ग्रीक अर्थोडक्स ईशाईहरू ढोग्दछन्। साथै यस स्थानमा येशूको चिहान भनिएको स्थान पनि रहेको छ। यी सबै स्थानहरू महंगा धातुका कलाकृति, घण्टाहरू, मूर्तिहरूले सजाइएको छ। ती स्थानहरूमा मैन बत्ती बाल्ने, ढोग्ने आदि कार्यहरू गर्ने गर्दछन्। यस होली सेपुल्कर चर्च भित्र क्रुसेडरहरूले पार्खालका ढुंगाहरूमा क्रूस अंकित वुट्टाहरू कोरेको दिखिन्छ।

 

तुलानात्मक रुपमा कलबरी र येशूको चिहान दमस्कस ढोका वाहिर रहेको भैगोलिक रुपमा बढि जाहेज देखिन्छ। यरुशलेमको दमस्कस गेट भएर बाहिर निस्केपछि नब्लुस रोड हुँदै गार्डेन टुम तिर लाग्यौं जहां येशूको चिहान रहेको छ। नजिकै खप्पर आकारको डाँडा रहेको छ भने त्यसकै नजीकमा रहेको कवरस्थान पहरामा खोपिएको छ। कति ईशाईहरूले कलबरी र येशूको चिहान अर्कै ठाउँमा भएको भने पनि यो स्थान बढि सठीक भएको देखिन्छ। यहाँको वातावरण शान्त र उत्साहजनक छ। यहाँ कुनै मूर्ति राखिएको छैन। यसलाई व्रिटिश ख्रीष्टियनहरूद्वारा संरक्षण र व्यवस्थापन कार्य गरिएको छ।

 

वेस्टर्न वाल अर्थात् यरुशलेमको पश्चिमी पर्खाललाई रुने पर्खाल वा कोटेल बनिन्छ। मन्दिर पर्वतको पश्चिमी किनारमा यो पर्खाल रहेको छ। यस पर्खालको निर्माण ई.पू. १९ मा शुरु गरिएको थियो। यस पर्खालको उचाई १९ मि. रहेको छ। पश्चिम क्षेत्रमा अवस्थित यहूदी क्षेत्रमा रहेको पश्चिमी पर्खाल “वेस्टर्न वाल”मा यहूदीहरू अझै प्रार्थना गर्ने र विलाप गर्ने गर्दछन्। यही क्षेत्रमा सियोन, दाऊदको चिहान तथा यहुदी महत्वका क्षेत्र रहेका छन्। पश्चिम पर्खाल छेऊबाट ‘डुम आफ द रक” वा ‘ओमरको मस्जिद जाने शुरक्षित सुरुंग मार्ग निर्माण गरिएको छ। विशेष जाँचका साथ माथि जान दिइन्छ। त्यस सुरुङको बाटोको मुखमा प्रधान रब्बीको नाममा यस्तो सुचना टाँस गरिएको छ, “माथि रहेको स्थान महापवित्रस्थान रहेकोले तोरा (परानो नियम) वमोजिम उक्त स्थानमा जान कडा प्रतिबन्ध छ।”

 

जून २१ मा हामी दाऊदको शहर हुँदै पश्चिम यरुशलेम गयौं। दाऊदको चिहान अगाडीको आँगनमा दाऊदको प्रतिमूर्ति छ, जसमा उनको बाजा सितार बजाइरहेको आकृति छ। त्यसको फेदीमा बसेर एउटी महिलाले त्यही प्राचीन बाजा बजाइरहेकी थिई जसले त्यस प्राचीन वाजाको पुनर्स्मरण गर्नुको साथै त्यस वाजाको परिचय समेत दिंदथ्यो।

 

यरुशलेम पुरानो शहर खण्ड बाहिर आइसकेपछि अत्याधुनिक प्रविधिमा निर्मित आधुनिक यरुशलेम देख्न सकिन्छ। यरुशलेम पुरानो र नयाँ शहर वीच मात्र अन्तर होइन तर पुरानो यरुशलेम क्षेत्रभित्र पनि यहूदी, अर्मेनियन, ख्रीष्टियन र मुश्लिम खण्डहरू वीच मै ठूला अन्तहरू देख्न सकिन्छ।

 

मुश्लिम खण्डमा ओमरको मस्जिद (डुम अफ द रक) रहेको छ भने ख्रीष्टियन खण्डमा होली सेपुल्कर चर्च रहेकोछ। रोमन क्याथोलिक, अर्मेनियन र ग्रीक अर्थोडक्सहरू ख्रीष्ट येशूको  वलिदानको स्थल र कवरस्थान पुरानो यरुशलेम भित्र नै रहेको बताउँछन्। ती स्थानहरू प्राचीन यरुशलेम पर्खाल वाहिर नै रहेको उनीहरूको दावी छ। यस स्थानमा कवरस्थानको ढोकाको केही अंश राखिएको छ। जसलाई अधिकांश क्याथोलिक तथा ग्रीक अर्थोडक्स ईशाईहरू ढोग्दछन्। साथै यस स्थानमा येशूको चिहान भनिएको स्थान पनि रहेको छ। यी सबै स्थानहरू महंगा धातुका कलाकृति, घण्टाहरू, मूर्तिहरूले सजाइएको छ। ती स्थानहरूमा मैन बत्ती बाल्ने, ढोग्ने आदि कार्यहरू गर्ने गर्दछन्। यस होली सेपुल्कर चर्च भित्र क्रुसेडरहरूले पार्खालका ढुंगाहरूमा क्रूस अंकित वुट्टाहरू कोरेको दिखिन्छ।

 

तुलानात्मक रुपमा कलबरी र येशूको चिहान दमस्कस ढोका वाहिर रहेको भैगोलिक रुपमा बढि जाहेज देखिन्छ। यरुशलेमको दमस्कस गेट भएर बाहिर निस्केपछि नब्लुस रोड हुँदै गार्डेन टुम तिर लाग्यौं जहां येशूको चिहान रहेको छ। नजिकै खप्पर आकारको डाँडा रहेको छ भने त्यसकै नजिकमा रहेको कवरस्थान पहरामा खोपिएको छ। कति ईशाईहरूले कलबरी र येशूको चिहान अर्कै ठाउँमा भएको भने पनि यो स्थान बढि सठीक भएको देखिन्छ। यहाँको वातावरण शान्त र उत्साहजनक छ। यहाँ कुनै मूर्ति राखिएको छैन। यसलाई व्रिटिश ख्रीष्टियनहरूद्वारा संरक्षण र व्यवस्थापन कार्य गरिएको छ।

 

वेस्टर्न वाल अर्थात् यरुशलेमको पश्चिमी पर्खाललाई रुने पर्खाल वा कोटेल भनिन्छ। मन्दिर पर्वतको पश्चिमी किनारमा यो पर्खाल रहेको छ। यस पर्खालको निर्माण ई.पू. १९ मा शुरु गरिएको थियो। यस पर्खालको उचाई १९ मि. रहेको छ। पश्चिम क्षेत्रमा अवस्थित यहूदी क्षेत्रमा रहेको पश्चिमी पर्खाल “वेस्टर्न वाल” मा यहूदीहरू अझै प्रार्थना गर्ने र विलाप गर्ने गर्दछन्। यही क्षेत्रमा सियोन, दाऊदको चिहान तथा यहूदी महत्वका क्षेत्र रहेका छन्। पश्चिम पर्खाल छेऊबाट ‘डुम आफ द रक” वा ‘ओमरको मस्जिद जाने शुरक्षित सुरुंग मार्ग निर्माण गरिएको छ। विशेष जाँचका साथ माथि जान दिइन्छ। त्यस सुरुङको बाटोको मुखमा प्रधान रब्बीको नाममा यस्तो सुचना टाँस गरिएको छ, “माथि रहेको स्थान महापवित्रस्थान रहेकोले तोरा (पुरानो नियम) वमोजिम उक्त स्थानमा जान कडा प्रतिबन्ध छ।”

 

जून २१ मा हामी दाऊदको शहर हुँदै पश्चिम यरुशलेम गयौं। दाऊदको चिहान अगाडीको आँगनमा दाऊदको प्रतिमूर्ति छ, जसमा उनको बाजा सितार बजाइरहेको आकृति छ। त्यसको फेदीमा बसेर एउटी महिलाले त्यही प्राचीन बाजा बजाइरहेकी थिई जसले त्यस प्राचीन वाजाको पुनर्स्मरण गर्नुको साथै त्यस वाजाको परिचय समेत दिंदथ्यो। यरुशलेम पुरानो शहर खण्ड बाहिर आइसकेपछि अत्याधुनिक प्रविधिमा निर्मित आधुनिक यरुशलेम देख्न सकिन्छ। ठूला ठूला गगनचुम्बी महल लगायत अत्याधुनिक रेल सेवा, बस सेवा तथा सुपरमार्केटहरू देख्न सकिन्छ। यरुशलेम पुरानो र नयाँ शहर वीच मात्र अन्तर होइन तर पुरानो यरुशलेम क्षेत्रभित्र पनि यहूदी, अर्मोनियन, ख्रीष्टियन र मुश्लिम खण्डहरू वीचमै ठूला अन्तरहरू देख्न सकिन्छ। यहूदी खण्डमा यहुदीहरू सांस्कृतिक पर्व मनाइरहेको पाइयो। जसमा १३ वर्ष पुगेपछि युवा बनेको अबसरमा यहूदी पारम्पारिक पोशाक र वाजाहरूमा ठूलो जोशका साथ ठूलो रमाहटमा शहर परिक्रमा गर्दै पश्चिमी पर्खालतिर गइरहेको पाइयो। पश्चिमी खण्डमा जहाँ दाऊदको चिहान छ त्यसको नजीकै येशूले आफ्ना चेलाहरूलाई अन्तिम भोज दिनुभएको ‘माथिल्लो कोठा’ अवस्थित छ। यस कोठामा मिलेर बस्दा लगभग १५० जना जति अट्न सक्दछ। येशूको पुनरुत्थान पछि पनि चेलाहरू त्यही कोठामा भेला हुने गर्दथे।

 

बेथलेहेम

जून २२, २०१३ का दिन विहानै हामीहरू वेथलेहेम गयौं। बेथलेहेम यरुशलेमबाट दक्षिणी भागमा अवस्थित शहर हो। यो शहर वेस्ट बैंक क्षेत्रको एक महत्वपूर्ण शहर हो। यहाँ २५००० मानिसहरूको बसोबासो रहेको छ। यो प्यालेस्टनी स्वशासित सरकारको मातहातमा रहेको एक क्षेत्रीय सदरमुकाम हो। वेस्ट बैंक अन्तर्गत रहेको यो प्यालेस्टनी शहर हो। वेस्ट बैंक तथा गाजा क्षेत्रलाई आज इस्रायल राज्य अन्तर्गत रही इस्रायली-प्यालेस्टनियन अन्तरिम संझौता अनुसार प्यालेस्टनी स्वशासित क्षेत्रको रुपमा राखिएका छन्। भविष्यका संझौताहरूले नै तिनका अवस्थितिलाई निर्धारण गर्नेछन्। प्यालेस्टनी स्वशासित क्षेत्रहरूमा प्यालेस्टनी स्थानीय सरकार रहेका छन् भने शुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध आदि अधिकारहरू इस्रायल सरकारमा निहित छ। गाजा तथा वेस्ट बैंक क्षेत्रहरूमा इस्रायली सेनाको नियन्त्रण कायम रहेको छ। यही शहर बेतलेहेममा येशूको जन्म भएको थियो जो दाऊदको शहर पनि थियो। त्यस शहरको क्षेत्र बाहिर सम्पूर्ण इस्रायल भरी संचालन हुने हरियो बस रोकिन्छ। त्यसपछि करिब १५ मिनेट हिड्नु पर्ने हुन्छ। ठूलो मात्रामा ख्रीष्टियन पर्यटकहरूको घुइँचो लाग्ने यस स्थानमा प्रशस्त मात्रामा खाद्य तथा अन्य वस्तुहरूको व्यापार हुन्छ। यस स्थानमा अर्को ओमरको मस्जिद पनि छ। यस मस्जिदमा जाने थुप्रै मुश्लिमहरूको पनि यहाँ भीड लाग्ने गर्दछ। उक्त मस्जिद र येशूको जन्मस्थान क्षेत्र वीचमा ठूलो प्रांगण छ जसमा यहूदी, ख्रीष्टियन र मुश्लिम एक हुन् भन्ने सन्देश दिने ठूलो आकारको चित्र कोरिएको छ। येशूको जन्मस्थलमा आज ठूलो चर्च भवन रहेको छ जुन भवन भित्र छिर्न प्राचीन गोठको संझना गराउने सानो ढोका राखिएको छ। त्यस ढोकाबाट पार हुन निहुरनु पर्ने हुन्छ। भित्र दुईवटा ठूला ठूला हल छन्। सभा संचालन गर्न सकिने बायाँ हलमा वेन्चहरू राखिएका छन्। दायाँ हल मूख्य रुपमा सिंगारिएको छ। उक्त दायाँ हल तीन भागमा बाँडिएको छ। मध्य भाग विशेषरुपमा सिंगारिएको छ। सुनचाँदीका वत्तीहरू सजिएका छन्। यो अर्मेनियनहरूको खण्ड हो। यहाँ वस्न र सभा गर्न वेन्चहरू राखिएको छ। बायाँ खण्ड ग्रीक अर्थोडक्सहरूको क्षेत्र थियो। दायाँ खण्ड रोमन क्याथोलिक खण्ड हो जसबाट भएर तल्लो भित्री कोठा प्रवेश गरिन्छ जुन स्थानमा येशू जन्मिएको मानिन्छ। यो स्थान विशेष रुपले सिंगारिएको छ। उहाँको जन्मस्थानलाई चांदीको ताराले सजाइएको छ। यस कोठा सुनचाँदी तथा बहुमूल्य बस्तुहरूद्वारा सिंगारिएको छ। रोमन क्याथोलिक, ग्रीक अर्थोडक्स, अर्मेनियनहरू यस स्थानमा गई मैन बत्ती बाल्ने गर्दछन्। यस स्थानमा झर्ने र उक्लने बाटो साँघुरो रहेको छ। उक्त कोठामा लगभग २० देखि २५ जना सम्म उभिन सक्दछ। अवागमन व्यवस्थापन प्यालेस्टनी प्रहरीहरूले गरिरहेका थिए। उक्त चर्च भवनको चारैतिर चित्र तथा कलाहरूद्वारा सिंगारिएको छ। वेथलेहेम यात्रा पछि हामीहरू यरुशलेम फर्क्यौं।

 

हाइफा

जून २३ मा म अनि मेरी पत्नी हाइफा तर्फ लाग्यौं। यही दिन हाम्रा साथी वील र उहाँका छोरा सेत अफ्रिका लाग्नुभयो। हामी यरुशलेमको दमस्कस गेटबाट सिटी क्रस रेल लिई सेन्ट्रल बस स्टेसन पुग्यौं जहाँबाट ९६८ रुटको बस लिई हामीहरू किर्यात टिभोनको निम्ति हिड्यौं। १३६ कि.मि.को उक्त दुरी दुई घण्टामा पार गर्‍यौं। तर हामीहरू तोकिएको स्थानमा नझरेर ८-१० कि.मि. पर पुगेछौं। समस्यामा पर्‍यो। तर एक जना भद्र मानिसले हामीहरूलाई सहायता गर्नुभयो। बाटो देखाउनु देखि लिएर गाडी चढाउने र ड्राइभरलाई किर्यात टिभोनमा झारी दिनसम्मको निर्देशन हिब्रूमा दिएर हामीलाई ठूलो गुण लगाउनु भयो। त्यसपछि हामीहरू किर्यात टिभोनमा झर्‍यौं। टिभोनमा भान्जी शिवलाई भेट्न मुश्किल पर्‍यो। टेलिफोनले काम गरेन। हामीहरू रिचार्ज किन्न यताउता लाग्यौं। एक शपिङ सेन्टरमा करिव वर्ष ५५ को एकजना भद्र महिला आउनुभयो र सोध्नुभयो, “के म सहयोग गर्न सक्छु? तपाईहरू अप्ठ्यारोमा परेको जस्तो लाग्यो।” हामीले भन्यौं, “हो हामीहरू अप्ठ्यारोमा परेकाछौं।” हामीले समस्या बतायौं। उहाँले हामीहरूलाई आफ्नो कारमा राखी गन्तब्यमा पुर्‍याइदिनुभयो। परमेश्वरले हामीहरूलाई समस्यामा पर्दा अपरिचित मानिसहरूद्वारा पनि कति ठूलो सहायता गर्नुभयो। यो अचम्मको कुरा थियो। परमेश्वरलाई धन्यवाद। त्यसपछि हामीहरू भान्जीसंग भेटघाट र संगति गर्‍यौं र भान्जीसंगै हाइफ तर्फ लाग्यौं। भान्जीको बटगालिम, हाईफा स्थित एपार्टमा केही दिन रह्यौं।

विशाल भूमध्यसागर र सुन्दर हाईफा शहरको केही दिनको घुमफिर पछि जून २७ मा हाईफाबाट ट्रेनमा चढी हामीहरू तेलअबिब गयौं र तेलअबिब स्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट जोर्डनको क्वीन एलिया अन्तर्राराष्ट्रिय विमानस्थल, अम्मानका निम्ति उड्यौं। त्यसपछि हामीहरू दिल्ली हुँदै जून २८ मा काठमाडौं आइपुग्यौं।

 

यस यात्राबाट इस्रायलको भूबनावट, अवस्थिति, येशूका सेवाकाईका स्थानहरूको दृश्यावलोकनले बाइबल बुझ्न सहयोग मिलेको थियो। यस यात्रालाई सम्भव बनाउनुहुने परमेश्वरलाई धन्यवाद होस्। यात्राका निम्ति प्रार्थना र आर्थिक सहयोग गर्नुभई योगदान दिनुहुने एवेनेजर मण्डली परिवारप्रति हामी आभारी छौं। साथै प्रार्थना र शुभेच्छा राख्नुहुने मित्रजनहरू प्रति हामी आभार व्यक्त गर्दछौं। आमेन!

 

यू. जे. गुरुङ, जून २०१३

 

 

 

 

 

Post a comment