हामीसँग भविष्यवाणीको अझ पक्का वचन पनि छ, जसलाई दिनको उज्यालो नखसुन्जेल, र तिमीहरुका हृदयहरुमा बिहानको तारा नउदाउन्जेल अँध्यारो ठाउँमा चम्किने ज्योतिलाई झैँ तिमीहरुले ध्यान दिएर असल गर्दछौ। २ पत्रुस १:१९
HomeAbout UsQ & AFeedback
 
News समाचार
Articles समसामयिक लेख
Sermons प्रवचन
Bible Studies बाइबल अध्ययन
Testimonials साक्षी वचनहरू
History इतिहास
Book Review पुस्तक समीक्षा
Literatures साहित्य
Prayers प्रार्थना
Photo Gallery फोटोहरु
 

 

अध्ययन सामाग्रीहरुका लागि

wordoftruth.com.np

Bible Doctrines

False Doctrines

नेपाली ईशाई पत्रिका 'एनोन' नियमित रुपमा पढ्नुहोस्।  सम्पर्क

बाइबल, ख्रीष्टिय जीवन तथा जीवन सम्बन्धि प्रश्नोत्तरहरुको सङगालो 'मुहान' पढ्नुहोस्। सम्पर्क

 


प्रत्येक शनिबार ११ बजे संचालन हुने एवेनेजर आराधना सभामा हार्दिक स्वागत गरिन्छ। सम्पर्क

 


Greeting Cards

 

 

 

 
Bible Studies   बाइबल अध्ययन
हाम्रा शीर (Bible Study) Date: 2008-07-07
कलस्सीहरुलाई पत्र

परिचय
पुस्तकको विषय: ख्रीष्टको काम र महिमा
मिति: ६०-६४ इ. सं.
स्थान: रोम
विशेषता: एफिसीको पत्र: ख्रीष्टको शरीर
कलस्सीको पत्र: मण्डलीको शीर
जुम्ल्याहा पत्रहरु: एफिसी, कलस्सी

समाचार बाहक: तुखिकस कलस्सी ४:७,८; एफिसी ६:२१, २२
भौगोलिक परिचय: कलस्सी फ्रिगियाको एक शहर, लाइकस नदि (मिन्डर नदिको शाखा नदि) किनारमा अवस्थित।
मण्डली परिचय: अन्यजातिहरुको मण्डली, १:२१; २:१३।
उद्देश्य: यहुदी झूटा शिक्षाहरु २:१६-१८; पूर्वीय दर्शन, २:८,९; १६-२३ को सामना गर्नु।

प्रेरितीय अभिवादन
१:१ परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टका प्रेरित पावल: पावल आफ्नै इच्छाद्वारा प्रेरित भएका होइनन् तर परमेश्वरको इच्छाद्वारा। १ कोरिन्थी १:१। मानिसद्वारा वा मानिसबाट पनि होइन, गलाती १:१। तिमोथी: रोमबाट यो पत्र लेखिरहँदा तिमोथी संगै थियो। तिमोथीको पहिलो यात्रामा पावल फ्रिगिया जाँदा तिमोथी संगै थियो। कलस्सी फ्रिगिया क्षेत्रमा नै पर्दथ्यो। कलस्सीकाहरुसंग तिमोथीको राम्रो परिचय र सौहार्द सम्बन्ध रहेको हुनसक्ने देखिन्छ। कलस्सीका विश्वासीहरुमा इपाफ्रास, फिलेमोन, अर्खिप्पस र अफ्फीया थिए, फिलेमोन २।
१:२ पवित्र जनहरु: परमेश्वरसंग एकै मन भई हिंडेका। विश्वासयोग्य भाईहरु: विश्वासीहरुसंग एकै मन भई हिंडेका।
१:३ कलस्सीहरुका विश्वास, आशा र प्रेमका निम्ति धन्यवाद चढाइएको छ। टाइकिस मार्फत यस पत्रसंगै पठाइएका एफिसीको पत्रमा पनि उनीहरुको विश्वास र प्रेमको निम्ति धन्यवाद चढाइएको छ, एफिसी १:१५, १६। हामी: पावल र तिमोथी।
१:४ ख्रीष्ट येशूमा भएको विश्वास: ख्रीष्ट केन्द्रित विश्वास। सबै पवित्र जनहरुप्रति: कलस्सीका विश्वासीहरु
आफूहरुवीच उपस्थित वा अनुपस्थित सबैलाई ख्रीष्टिय प्रेम गर्थे।
१:५ यस आशाका निम्ति: कलस्सीहरु सबै पवित्र जनहरुलाई प्रेम गर्थे ख्रीष्टमा भएको आशाको कारण। अनन्त जीवनको आशाले सधैं प्रेमको सृजना गर्दछ। हाम्रो आशा जो अनुग्रहमा बसालिएको छ पवित्र जनहरुसंगै अनन्त जीवनका हकदार हुनलाई पक्का गरिएको छ, ले पवित्र जनहरुलाई प्रेम गर्न उत्साही बनाउँदछ। स्वर्गमा राखिएको छ: खतरामा पर्न वा चोरिनबाट जोगिएको, शुरक्षित राखिएको छ, २ तिमोथी ४:८। विश्वास, प्रेम, आशा, (१:४,५); ईशाई जीवनको सार, १:२३। सुसमाचारको सत्यता: आशाको एक मात्र आधार सुसाचार हो। आशारहित मानिसहरुले सुसमाचारमा आशा पाएका छन्।
१:६ जो तिमीहरुकहाँ आएको छ: परमेश्वरको सुसमाचार तिमीहरुकहाँ आएको छ र तिमीहरुवीच रहिरहेको छ। सारा संसारमा नै आएको छ: सुसमाचार सारा संसारमा पुगेको छ। ख्रीष्टको आज्ञा छ कि सबै ठाऊँमा सुसमाचार प्रचार गर्नुपर्दछ। सुसमाचारको निम्ति सिमाना छैन। व्यवस्था यहुदीहरुको निम्ति थियो। तर सुसमाचार सबैको लागि दिइएको छ। फल फलाइरहेको छ: सुसमाचार सारा संसारमा प्रचार गरिसकिएको होइन तर सारा संसारमा धार्मिकताको फल फलिरहेको छ। जसरी रुख बढ्दै जान्छ फल्दै पनि जान्छ। परमेश्वरको अनुग्रह सत्यतामा: सुसमाचारमा परमेश्वरको अनुग्रह प्रकट गरिएको छ जो चाहिँ यहुदी तथा गैह्र यहुदीहरुको त्रुटिबाट शुद्ध छ, तितस २:११; ३:४-६।
१:७ इप्राफासबाट सिक्यौ: इपाफ्रास कलस्सीका एक सदस्य तथा त्यस मण्डलीका अगुवा र शिक्षक थिए। प्रिय संगीदास: इप्राफास ख्रीष्टमा पावलका संगीदास थिए। फिलेमोन २३ मा पावलले उनलाई संगी-कैदी भनेको छ। एशियामा पावलसंगको सेवामा सायद उनी पावलसंग कैद परेका थिए। तर अझ वास्तविकता चाहिँ पावलको कैदी जीवनमा उनको सहकार्य रहेको अर्थमा इपाफ्रास पावलको संगीकैदी थिए। त्यस अर्थमा उनलाई प्रिय संगीदास तथा संगीकैदी भनिएको छ। ख्रीष्टका विश्वासयोग्य सेवक: इपाफ्रास कलस्सी मण्डलीका निम्ति विश्वासयोग्य सेवक थिए। मण्डली सदस्यको एक सुन्दर नमूना। आत्मा तिमीहरुको प्रेम: पवित्र आत्मा नै साँचो प्रेमको वास्तविक कारण हो; रोमी १४:१७; १५:३०। प्रेम पवित्र आत्माको फल हो। साँचो प्रेम पवित्र आत्माको कारणले जन्मन्छ। उहाँ विनाको प्रेम सतही, अस्थिर र अस्थायी हुन्छ। आत्मामा नभएको मानिस शरीरमा हुन्छ, रोमी ८:९। शारीरिक प्रेम स्वार्थकेन्द्रित अस्थायी हुन्छ। यति हुँदा हुँदै पनि कलस्सीहरुलाई प्रेममा अझै बढ्नु जरुरी थियो। प्रेममा बढ्न उत्साहको जरुरी थियो, ३:१२-१४। प्रम पवित्र आत्माको पहिलो फल हो, गलाती ५:२२।

प्रिय पुत्रको राज्यभित्र
१:९ प्रार्थनाको विषय: उहाँको इच्छा जान्ने ज्ञानले भरिएका होओ। एफिसी ५:१७। सारा बुद्धि र आत्मिक समझमा: व्यवहारमा।
१:१० परमेश्वरको इच्छा जान्ने साँचो ज्ञानपछि हिँडाई आउँछ। प्रभुको योग्य चालमा हिँड। एफिसी ४:१
हिँडाईहरू
• प्रभुको योग्य
• परमेश्वरको ज्ञानमा वृद्धि
• बलवान (११ पद)
• धन्यवादी (१२ पद)
१:११ उहाँको महिमित शक्ति: एफिसी १:१९; ४:१०। उहाँको सामर्थ्यबाट हामीले बल पाउँछौं। एफिसी ३:१६।
सम्पूर्ण धीरज र सहनशीलतामा आनन्द: प्रेरित १६:२५; रोमी ५:३; ११
१:१२ पिता: गलाती ३:२६; ४:४,५,६। पवित्र जनहरु: २:१०; यूहन्ना १७:१७; १ कोरिन्थी १:३०, यहुदा १।
१:१३ अन्धकारको सामर्थ्य: एफिसी २:२; ६:१२। अन्धकार: अन्धोपना, घृणा, दु:ख। प्रिय पुत्रको राज्य: यूहन्ना १७:२६; एफिसी १:६
१:१४ येशू: एफिसी १:२०-२३; फिलिप्पी २:६-११
सार संक्षेप
• अन्धकारको सामर्थ्यबाट ख्रीष्टमा छुट्कारा छ।
• ख्रीष्टको राज्य सर्वोच्च छ।
• अन्धकारमा रहेकाहरुले परमेश्वरको प्रभुत्वलाई स्वीकार गरी उहाँमा आउनुपर्दछ।
• पवित्र जनहरु परमेश्वरको इच्छा जान्न र उहाँको योग्य चालमा हिँड्नु पर्दछ।
• उहाँको महिमित सामर्थ्यमा हामीले बल पाउँछौं।


ख्रीष्टलाई पहिलो स्थान
१:१५ ख्रीष्टको महिमित चरित्र: एफिसी १:२०-२३; फिलिप्पी २:६-११
१. सृष्टिकर्ता १:१५,१६
२. संरक्षणकर्ता १:१७
प्रतिरुप: साँच्चैकै उस्तै, शिद्ध प्रतिनिधित्व। आदम परमेश्वरको प्रतिरुपमा बनाइएको, उत्पत्ति १:२७। दोस्रो आदमले अदृश्य परमेश्वर (१ तिमोथी १:१७) को दृश्य रुपमा शिद्धतामा प्रकाश प्रकाश पार्नुहुन्छ। यूहन्ना १:१८; १४:९; २ कोरिन्थी ४:४; १ तिमोथी ३:१६; हिब्रू १:३। शरीरमा जन्मनु अघि ख्रीष्ट वचन हुनुहुन्थ्यो। वचन यूहन्ना १:१३ जसद्वारा संसार र यावत थोकहरु सृष्टि गरिए। जसद्वारा परमेश्वर अब्राहाम ईशहाकसंग बोल्नुभयो। सारा सृष्टिका जेठा: प्राथामिकता र उच्चता दर्शाइएको, भजन संग्रह ८९:२७। जेठा, हिब्रू १:६। अनेकौं भाईहरुमा जेठा, रोमी ८:२९। सबै कुराहरुभन्दा पहिला, कलस्सी १:१७। उहाँ सृष्टि होइन तर सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरले आफूलाई वचन र पुत्रमा सबै थोकहरुको सृष्टि हुनअघि प्रकट गर्नुभयो।
१:१६ देखिने: भौतिक विश्व। नदेखिने: आत्माहरुको संसार। सिंहासनहरु: सबै भन्दा ठूला शासकहरु। प्रभुताहरु: साना शासकहरु। प्रधानहरु: सामर्थीहरु, अधिकारीहरु: साना सामर्थीहरु। शक्तिहरु क्रमबद्ध रहेका छन्। एफिसी १:२१। सिंहासन र प्रभुताहरु परमेश्वरका निम्ति खटिने अधिकारीहरु, भजन संग्रह ६८:१७। प्रधान र अधिकारीहरु परमेश्वरका सृष्टिहरुका निम्ति खटिने अधिकारीहरु। उहाँद्वारा: यूहन्ना १:३। उहाँका निम्ति: हितोपदेश १६:४, प्रकाश ४:११।
१:१७ सबै कुराहरुका अघि: समयहरुभन्दा पनि अघि। सबै कुराहरु उहाँद्वारा नै स्थिर: हिब्रू १:३।
१:१८ ख्रीष्ट मण्डलीका शीर: एफिसी १:२२; ४:१५,१६। स्वर्गदूतहरु होइनन्, २:१०,१८। मरेकाहरुबाट बिउँतनेहरुमा जेठो: प्रकाश १:५; रोमी ८:११।
सार संक्षेप: येशू ख्रीष्ट परमेश्वरको प्रतिरुप हुनुहुन्छ। सारा सृष्टिका शिर, नयाँ सृष्टिका शिर हुनुहुन्छ। उहाँलाई नै पहिलो स्थान दिइयोस्।

ख्रीष्टमा मेलमिलाप
१:१९; २:९ पितामा भएको इश्वरीया श्रेष्ठता (एफिसी ३:१९; यूहन्ना १:१६; ३:३४)
उहाँ मण्डलीको शीर:
१) परमेश्वरको सांचो पूर्णता केवल ख्रीष्टमा। १:१९
२) ख्रीष्टले मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो। १:२०
१:२० क्रूसको रगतद्वारा मेलमिलाप: शुरुकै अवस्थामा मिलाप गराइएको। एफिसी २:१६-१८। पृथ्वी र स्वर्गमा भएका कुराहरुलाई मिलापमा ल्याइएको। तिनीहरुलाई परमेश्वरको प्रेम र बुद्धि प्रकट गरिएको छ। एफिसी ३:१०। उद्धारको कार्यको समाप्तिले स्वर्गमा शान्ति, लुका १९:३८। ख्रीष्टको जन्मले पृथ्वीमा शान्ति, लूका २:१४; एफिसी १:१०। पृथ्वी र स्वर्गका सबै नै ख्रीष्टप्रति उहाँको मिलापको निम्ति कृतज्ञ हुनुपर्छ। हिब्रू १२:२२-२४। पापको कारण कमजोर बनेका स्वर्गदूतहरुले ख्रीष्टद्वाराको मिलापको कारण सामर्थी बन्छन् र उनीहरूले शैतान र उनका दूतहरुलाई स्वर्गबाट धपाउन सक्दछन्। प्रकाश १२:७-१०; कलस्सी २:१५।
१:२१ बितेको समयमा: कलस्सीकाहरु मिलापमा ल्याइएको, २:१३। पराइ भएका त्यसपछि शत्रु, रोमी ५:१०। कामहरुमा दुष्टता, मनमा शत्रुता। कामको शत्रु, स्वभाविक शत्रु, एफिसी २:१-३, १२; ४:१८।
१:२२ मासुको शरीर: १ पत्रुस २:२४। शरीर सम्बन्धमा गलत धारणा, २:२३। मृत्युको निम्ति शरीरमा हुनुपर्ने, हिब्रू २:१४; एफिसी २:१५। पवित्र: सकरात्मक, परमेश्वरसंग सम्बन्धित। निष्कलंक, निर्दोष: नकरात्मक, संसारसंग सम्बन्धित।
१:२३ जग बसालिएको: जगमा स्थापना गरिएको, एफिसी ३:१७।

मण्डलीको निम्ति परिश्रम
१:२४ दु:खहरुमा आनन्द: ख्रीष्टको महिमाको निम्ति पवित्र जनहरुको आत्मिक उन्नति हुनु आवश्यक छ। ख्रीष्टले आफ्नो शरीर मण्डलीको निम्ति शरीरमा कष्ट भोग्नुभयो। आफ्नो बलिदानद्वारा किन्नुभयो। उहाँले जन्माउनुभयो अब त्यसको पालन पोषणको निम्ति सेवकहरु नियुक्त गरिएका छन्। लूका १२:४२। त्यसमा उहाँका सेवकहरुको परिश्रम आवश्यक पर्दछ। पावलको शिक्षा र उदाहरणहरुद्वारा पवित्र जनहरुको उन्नति भइरहेको थियो। पावलले कैदी जीवन बिताइरहेका थिए। तर उनको कैद अवस्थाले पवित्र जनहरुलाई उत्साह मिलिहेको थियो। ख्रीष्टको शरीरको निम्ति कष्ट भोग्न पावल ज्यादै आनन्दित भए। १ कोरिन्थी १:५। सबै कष्टहरुको लेखा राखिएको छ। त्यसको प्रतिफल दिइनेछ। भ सं ५६:८। ख्रीष्टका कष्टहरु: लूका २४:४६, ४७, यशैया ५३:७ (थुमा), १० (दोषबली), १२ (मध्यस्थ)।
१:२५ मण्डलीको सेवक: सुसमाचारको सेवक, १:२३। परमेश्वरको प्रवन्ध: लूका १२:४२; १ कोरिन्थी ४:१,२; ९:१७; एफिसी ३:२। महिमाको धन, १:२७।
१:२६ रहस्य: यहुदीहरुलाई झैं अन्यजातिहरुलाई पनि मुक्ति। एफिसी ३:५-९। प्रेरितहरु, अगमवक्ताहरुद्वारा सबै मानिसहरुलाई प्रकट गरिएको छ। एफिसी ३:४,५। परमेश्वरको वचन: सुसमाचार, १:२३। यशैया ५३:११ धेरैलाई धर्मी बनाइनेछ। रोमी ३:२४ सित्तैमा धर्मी।
१:२७ रहस्यको महिमाको धन: परमेश्वरले अन्यजातिहरुलाई ख्रीष्टमा दिनुहुने आशिषको महानता। एफिसी १:७, ३:८। रहस्यको महिमा त्यो महिमा हो जसमा अन्यजातिहरु आंशिक रुपमा हाल सहभागी भएका छन् अनि मूख्य रुपले ख्रीष्टको दोस्रो आगामनमा त्यो महिमामा अन्यजातिहरु सहभागी हुनेछन्। रोमी ५:२; ८:१७,१८। ख्रीष्ट तिमीहरुभित्र: विश्वासद्वारा ख्रीष्ट तिमीहरुभित्र अर्थात् जीवन तिमीहरुभित्र। अन्यजातिहरु मरेका थिए तर ती ख्रीष्टमा बचाइए। ३:३; गलाती २:२०।
१:२८ प्रचार, चेतावनी, शिक्षा: चेतावनीले मानिसमा पश्चात्ताप ल्याउँछ। यसले बानी व्यवहारलाई औंल्याउँछ र हृदयलाई सम्बोधन गर्दछ। शिक्षाले मानिसको विश्वास बढाउँछ। शिद्धान्तलाई औंल्याउँछ। समझलाई सम्बोधन गर्दछ। हरेक मानिस: व्यक्ति व्यक्तिलाई सिकाउनु, चेतावनी दिनु महत्वपूर्ण छ। चाहे यहुदी, चाहे अन्यजाति त्यहाँ कुनै भिन्नता छैन। रोमी १०:१२, १३। पश्चात्ताप: प्रेरित १७:३०,३१।
१:२९ परिश्रम: केवल घोषणा मात्र होइन तर परिश्रम पनि। २ कोरिन्थी ६:५। उहाँको प्रभावकारी कार्यअनुसार: पावलसंग पवित्र जनहरुका निम्ति आत्मामा संघर्ष गर्न सामार्थ्य थियो। एफिसी ३:२०; फिलिप्पी ४:१३।

सार संक्षेप
१. रहस्यको महिमाको धन अन्यजातिहरुलाई पनि मुक्ति र महिमा अहिले र सदालाई मिलेको छ।
२. यही धनको जिम्मेदार पावल बनाइए।
३. यस सेवा पूरा गर्न पावल प्रत्येकलाई शिक्षा, चेतावनी दिन्छन् परिश्रम गर्छन्।
४. सो क्रममा आइपर्ने कष्टहरुमा पावल आनन्दित मान्दछन्।

तह मिलेको चाल
२:१ लाओडिसिया: कलस्सीमा झैं झूटा शिक्षकहरुको बिगबिगी भएको मण्डली। यो शहरको प्राचीन नाम डियोसपोलिस थियो। पछि यसलाई रोस भनियो। अन्तमा यसलाई एन्टिकस द्वितीयाकी श्रीमती लाओडिसको नाममा ‘लाओडेसिया’ नामाकरण गरियो। यो शहर लाइकस नदिको किनारमा बसालिएको थियो। यो शहर कलस्सीबाट १८ माइल पश्चिममा र हिरापोलिस (४:१३)बाट ६ माइल दक्षिणमा अवस्थित थियो। यो शहरमा इ सं ६२ मा ठूलो भुईचालो आएको थियो तर रोमको सहायता बिनै यो शहरको पुनर्निर्माण गरिएको थियो। यो शहर धनी थियो, प्रकाश ३:१३। दुबै कलस्सी र लाओडेसिया मण्डलीहरुमा झूटा शिक्षकहरुको बिगबिगी थियो, कलस्सी २:८-१०; २०-२३। त्यसैले यो पत्र दुबै मण्डलीहरुमा पढिन लेखिएको थियो, ४:१६। भारी संघर्ष: पावल शरीरमा कष्ट भोगिरहेका थिए, १:२४। उनले कैदमा कलस्सी र लाओडेसियाकाहरुका निम्ति भारी संघर्ष गरिरहेका थिए। यो शब्द ‘संघर्ष’लाई १:२९ मा झैं ग्रीकमा ‘एगोना’ भनिएको छ। यो शब्दको प्रयोग लूका २२:४४ मा पनि भएको छ। जसमा येशूले भारी ब्यथामा परेर प्रार्थना गर्नुभयो। यहाँ ‘ब्यथा’ शब्दलाई ग्रीकमा ‘एगोनिया’ प्रयोग भएको छ। येशूले प्रार्थनामा भारी कष्ट उठाउनुभयो। एपाफ्रासले पनि कलस्सीकाहरुका निम्ति प्रार्थनाहरुमा घोर परिश्रम गरेका थिए। यहाँ ‘घोर परिश्रम’ लाई ग्रीकमा एगोनाइजोमेनस’ भनिएको छ। पवित्र आत्माले हामीलाई प्रार्थनामा भारी ‘व्यथा’ पोखाउन सहायता गर्नुहुन्छ, रोमी ८:२६।
२:२ सान्त्वना: कलस्सीका मण्डली झूटा शिक्षकहरुका कारण खल्बलिएको थियो, ४:८। प्रेममा एकसाथ बाँधिएर: एफिसी ४:१६। परमेश्वर तर्फ र एकार्कामा प्रेम। सम्पूर्ण निश्चयताको सारा धन: १ थिस्सलोनिकी १:५; हिब्रु ६:११, १०:२२। परमेश्वरको, पिताको र ख्रीष्टको रहस्यको ज्ञान: ‘ज्ञान’ लाई यहाँ ‘एपिगनोसिन’ भनिएको छ, जसको अर्थ ‘व्यवहारिक ज्ञान’ हुन्छ। १:९, १०; फिलिप्पी १:९।
२:३ बुद्धि र ज्ञानका सम्पत्तिहरु लेकेका: यी सम्पत्तिहरु तत्काल देखिदैनन् ती लुकेर रहेका छन् ताकि परमेश्वरले जसलाई आत्मिक आँखाहरु दिनुभएको छ तिनले मात्र ती देखुन्। बुद्धि: प्रयोगात्मक र ब्यवहारिक ज्ञान।
२:४ धोका: कसैले यहुदीमत, पूर्वीय दर्शनशास्त्र र ख्रीष्टिय विश्वासलाई समिश्रण गरेका थिए, २:१८, २३।
२:५ तह मिलेको चाल: एक साथ बाँधिएको, २:२। राम्रो तह मिलेको चालले सैन्य शक्ति बढाउँछ। मण्डलीमा पनि तह मिल्नुपर्छ। मण्डलीमा पनि प्रेमले सबै कुराहरुलाई मजबुत पार्दछ, १ कोरिन्थी १४:३३, ४०। विश्वासको जगमा मण्डली मजबुत हुन्छ।

ख्रीष्टमा पूर्णता
२:६ प्रभु: येशूलाई प्रभुको रुपमा ग्रहण गरेकाछौ, १ कोरिन्थी १२:३; २ कोरिन्थी ४:५; फिलिप्पी ३:८। स्वयं ख्रीष्टलाई नै ग्रहण गरेकाछौ, एफिसी ४:२०। ख्रीष्टमा जीवनको आत्मा पाएकाछौ, त्यो जीवन आफ्नो हिंडाइमा धारण गर, “यदि हामी आत्मामा जिउँछौं भने हामी आत्मामै हिँडौं पनि”, गलाती ५:२५।
२:७ जरा हाल्दै: “विश्वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा वास गरून्; र प्रेममा जरा गाडिएको र जग बसालिएको हुँदै”, एफिसी ३:१७। जरा हाल्नु बिगत, बनिदै जानु बर्तमान। बनिदै: ख्रीष्टसंगको एकतामा नियमित वृद्धि हुँदै जानु। मण्डलीको रुपमा बनिदै जानु, एफिसी २:२०; व्यक्तिगत रुपमा बनिदै जानु, २:७; प्रेरित २०:३२। धन्यवादले प्रशस्त: सारा आशिषहरुका श्रोत परमेश्वरतर्फ।
२:८ होशियार: राम्रोसंग हेर। देखिएका खतराहरु, “ख्रीष्टको सुसमाचार उल्टा पाल्टा पार्न चाहानेहरु,” गलाती १:७। तर हामीलाई “सम्पूर्ण निश्चयताको सारा धन” प्राप्त भएको छ, २:२,३,९। तत्वज्ञान: दर्शनशास्त्र, तसर्थ हामीहरुलाई खोक्रो दर्शनहरु (शरीरमा, रितिबिधिहरुद्वारा २:१६,२१,२३; मनमा, झूटा शिक्षाद्वारा २:१८) ठगिनु हुँदैन। रब्बीहरुका रितिहरु, मर्कूस ७:८। प्राथामिक शिक्षा: गलाती ४:३,९। यहुदीहरुका बालशिक्षाहरु, २:११, १६, २०; गलाती ४:१-३।
२:९ ईश्वरत्वको सारा परिपूर्णता: १:१९; यूहन्ना १४:१०। येशू परमेश्वर जस्तो होइन तर परमेश्वर नै हुनुहुन्छ। शरीरमा आउनुभएको वचन, १:१४,१८। अहिले महिमित हुनुभएको, फिलिप्पी ३:२१। ख्रीष्टसंग एक भएका विश्वासीहरु उहाँका ईश्वरत्वको पूर्णताको सहभागी बन्दछन्, एफिसी ३:१९, २ पत्रुस १:४।
२:१० प्रधनता र अधिकारका शिर: एफिसी १:२१

रीतिविधि होइन, तर ख्रीष्ट
२:११-१२ खतना: साँचो खतना, रोमी २:२८,२९; फिलिप्पी ३:३, एफिसी ४:२२। खतनामा जुन छाला फालिन्छ त्यो पुरानो मानिस हो। ख्रीष्टको मृत्यु र बौरिउठाइ: ख्रीष्ट पापहरुको निम्ति मर्नुभयो र धार्मिकतामा बौरनुभयो, त्यसरी नै उहाँको यस खतनाद्वारा हामीहरु पनि खतना गरिएकाछौं, नयाँ पारिएकाछौं। शरीरमा मर, आत्मामा हिंड, रोमी ८:१०-१४, एफिसी २:५। हृदयको खतना गर, यर्मिया ४:३,४। पाप फाल।
२:१३ अपराधहरुको क्षमा: येशूमा राखिएका पापहरु हटाइएको कुरा उहाँको बौरिउठाइद्वारा प्रमाणित भएको छ। त्यसरी नै हाम्रो आत्मिक बौरिउठाइद्वारा हाम्रा पापहरु क्षमा भएको पुष्टि हुन्छ, १ पत्रुस ३:२२, ४:१,२।
२:१४ व्यवस्था: व्यवस्था राम्रो हो, किनकि यसले पाप देखाउँछ। यो ख्रीष्टकहाँ लैजाने शिक्षक हो। तर व्यवस्थामा भर पर्नु धोका हो, रोमी ७:७-१२,१४; गलाती ३:२१-२५। व्यवस्थाको श्रापबाट दाम तिरिएको छ, गलाती ३:११-१३।
२:१५ प्रधानहरु, अधिकारहरु: येशू सबै प्रधानता र अधिकारका शिर हुनुहुन्छ, २:१०। मृत्यु र बौरिउठाइका कारण उहाँलाई शिर बनाइएको छ, एफिसी १:२१,२२। येशू उचालिन अघि कोही पनि स्वर्ग उक्लेको थिएन, यूहन्ना ३:१३। त्यसरी नै स्वर्ग येशू नउचालिएसम्म शैतान र त्यसका दूतहरुका निम्ति बन्द गरिएको थिएन, अयुव १:६, २:१। तर येशूको स्वर्गरोहणपछि शैतान र त्यसका दूतहरुको न्याय गरियो, यूहन्ना १२:३१; १६:११; प्रकाश १२:५-१०।

रीतिविधि होइन तर ख्रीष्ट
२:१६, १७ खाना, दिन सम्बन्धमा न्याय: खानपानको शुद्धता, विश्राम दिन आदिले ख्रीष्टको छायाँ दिन्छन् तर वास्तविक शरीर चाहिँ ख्रीष्ट हुनुहुन्छ, हिब्रु ८:५; १०:१। आज खाना र दिन सम्बन्धमा न्याय गरिन हुन्न, रोमी १४:१-१२।
२:१८ इनाम: फिलिप्पी ३:१४; १ कोरिन्थी ९:२५; २ तिमोथी ४:८; याकुब १:१२; १ पत्रुस ५:४। मध्यस्थ: धेरै छैनन्। स्वर्गदूतहरु मध्यस्थ होइनन्। मध्यस्थ येशू हुन्, १ तिमोथी २:५,६। उहाँलाई नदेखिएपनि पक्रिन पर्दछ, २:१९; यूहन्ना २०:२९; २ कोरिन्थी ५:७; हिब्रू ११:१।
२:१९ शिरलाई पक्रिनु: प्रत्येक विश्वासी शिरसंग टाँसिनु पर्दछ, कुनै सदस्य वा सदस्यहरुसंग टाँसिएर मात्र पुग्दैन। उहाँबाट नै सम्पूर्ण शरीर एकसाथ बाँधिन्छ, एफिसी ४:१६। विश्वास, प्रेम, शान्ति नै आत्मिक बन्धनहरु हुन्, कलस्सी २:२; ३:१४; एफिसी ४:३। तब परमेश्वरले बढाउनुहुन्छ, १ कोरिन्थी ३:६।
२:२०, २१, २२ तिमीहरु ख्रीष्टसंग मरेका छौ: गलाती ४:१४; १ पत्रुस ४:१,२।
२:२३ आफ्नो इच्छा: हामीले केवल ख्रीष्टमा गर्व गर्नुपर्दछ, १ कोरिन्थी १३:२१; ६:१५; ७:२३।

ख्रीष्टसंगै महिमित
विश्वासीहरुको स्थान
३:१ यसकारण: शारीरिक मन दोषी भएकोले २:१८,२३। ख्रीष्टसंग बिउँतिएका: जीवन परिवर्तन र बप्तिस्मा, रोमी ६:४। माथिका कुराहरु खोज: मत्ती ६:३३; फिलिप्पी ३:२०। ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ: एफिसी १:२०, २१। शिर ब्युंताइएकोले शरीर पनि उहाँसंग ब्युंतिएको। जहाँ शिर हुनुहुन्छ त्यहाँ शरीर पनि हुन्छ, एफिसी २:५, ६।

विश्वासीहरु अहिले: परमेश्वरको निम्ति जिवित
विश्वासीहरु पहिला: संसारको निम्ति जिवित

स्वर्गीय, १ कोरिन्थी १५:४७,४८
३:२ माथिका कुराहरुमा मन लगाओ: मन बसाल। पृथ्वीका कुराहरुमा मन लगाउनेहरुको अन्त विनाश हो, तर हाम्रो घर स्वर्ग हो, फिलिप्पी ३:१९,२०।
३:३ तिमीहरु मरेकाछौ: ख्रीष्टियनहरु ख्रीष्टसंगै मरेका छन्, रोमी ६:४, ७, १०। ख्रीष्टसंग ख्रीष्टियनहरु एक भएका छन्, कलस्सी २:१२,२०। तिमीहरुको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको: भजन संग्रह ८३:३। रोमी ६:३। जसरी ख्रीष्टको महिमा संसारमा अहिले लुकेको छ, त्यसरी नै विश्वासीहरुको ख्रीष्टसंगको संगति, भित्री जीवन लुकेको छ, गोप्य छ।
३:४ ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ: यूहन्ना ११:२५; १४:१९; गलाती २:२०। तिमीहरु पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ: १ यूहन्ना ३:२; १ पत्रुस १:७; ४:१३। उहाँको प्रकटिकरणलाई अविश्वासीहरुले अस्वीकार गरे, २ पत्रुस ३:४। जुन परमेश्वरको आत्मा हामीमा बास गर्नुहुन्छ उहाँले आफ्ना आत्माद्वारा हाम्रा मरणशील शरीरहरुलाई जीवित पार्नुहुनेछ, रोमी ८:११, १७। मण्डली शिद्ध र शासन गर्ने शरीरको रुपमा देखा पर्नेछ जब शासन गर्ने शीर ख्रीष्ट देखा पर्नुहुनेछ।

सार संक्षेप
१. ख्रीष्टमा विश्वास गरेर मात्र मुक्ति पाइन्छ।
२. ख्रीष्ट विजयी हुनुहुन्छ।
३. अनन्तताका कुराहरुमा मन बसाल।
४. पुरानो जीवन मरेको छ।
५. जीवन ख्रीष्टमा बाँचेको हुन्छ।
६. ख्रीष्टको आगमनमा हामीहरु महिमित हुन्छौं। (प्रतिज्ञा)

नयाँ मान्छे
३:५ अंगहरुलाई मार: लाश बनाऊ। ख्रीष्टियनहरु ख्रीष्टसंगै मरेका छन्, रोमी ६:४, ७, १०। पापहरुको देह, २:११। अभिलाषाका दैहिक साधानहरु, मत्ती ५:२९, ३०; रोमी ६:१९; ७:५; ८:१३; गलाती ५:२४, २५। पृथ्वी माथि भएका: जहाँ ती अंगहरुले सहयोग प्राप्त गर्दछन्, एफिसी ५:३,४। व्यभिचार: विवाहपूर्वको अवैध यौन सम्बन्ध। प्रबल बासना: बासनामयी प्रेम। कुइच्छा: बाह्य अंगहरुको अनियन्त्रण, बासनामयी चाहना। लोभ: १ तिमोथी ६:१०; एफिसी ५:३,५ यहाँ ‘लोभ’ले सबै प्रकारका ‘स्वार्थखोज’ देखाउँदछ। पावल आफैंले ख्रीष्टका निम्ति यी सबै थोकहरु त्यागेका थिए, २ कोरिन्थी ६:१०, ११:२७। लोभ सृष्टिकर्ताको सट्टामा सृष्टिलाई पुज्नु हो राजाहरुका राजाको विरुद्धमा चुनौति हो, १ शमुएल १५:२३; मत्ती ६:२४; फिलिप्पी ३:१९; १ यूहन्ना २:१५।
३:६ आज्ञा नमान्ने सन्तान: परमेश्वरको नैतिक शासनका नियमहरु आज पनि विद्यामान छन् र ती रहिरहन्छन्। अनज्ञाकारिताका सन्तान, एफिसी २:२,३। क्रोधका सन्तान: शिक्षामा विश्वास नगर्ने सन्तान, व्यवस्था ३२:२०; व्यवहारमा आज्ञा नमान्ने सन्तान जसले आफ्नै आमाका गुण बोकेका छन् स्वभाविक रुपमा क्रोधका सन्तान हुन्।
३:७ जीवन बिताउनु, हिँड्नु: पहिला जीवन आउँछ, अनि हिँडाइ। एक समय शरीरमा जिउँथ्यौं, त्यसमै हिँड्थ्यौं। आत्मामा जिउनु, आत्मामा हिँड्नु, गलाती ५:२५।
३:८ तर अब: तिमीहरु त्यसमा जिइरहेका छैनौं। तिमीहरुले पनि: अरु विश्वासीहरु जस्तै। यी सबै कुराहरु: सबै, पुरै। रिस क्रोध द्वेष। निन्दा: evil speaking खराब बोली, एफिसी ४:३१। फोहोर बोली: व्यर्थका कुराहरु, फोहोरी बोली। फालिदेओ: फुकालिदेओ, पुरै हटाइदेओ।
३:९ पुरानो मान्छे: पहिलेको चालचलनको त्यो पुरानो मान्छे, एफिसी ४:२२, २५। बासना र लालसाहरु, पाप गर्ने बानी, गलाती ५:२४।
३:१० नयाँ मान्छे: धार्मिकता, साँचो पवित्रतामा सृजिएको नयाँ मान्छे, एफिसी ४:२३,२४। बाहिरी मान्छे नष्ट हुँदै गइरहेको, तर भित्री मान्छे नयाँ हुँदै गइरहेको, २ कोरिन्थी ४:१६, तितस ३:५। सृष्टिकर्ताको स्वरुपमा: एफिसी २;१०। ज्ञानमा: १:६,९,१०, २:२; एफिसी १:१७, ४:१३।
३:११ भेद छैन: परमेश्वर सबैलाई प्रेम गर्नुहुन्छ।

नयाँ मानिसका चरित्रहरु
३:१२ धारण गर: नयाँ मानिसलाई धारण गरेकोले सबै यसका चरित्रहरुलाई धारण गर। परमेश्वरका चुनिएका: १ थिस्सलोनिकी १:४। कोमल मायाहरु: उत्पत्ति ४३:३०। मनको नम्रता: एफिसी ४:२।
३:१३ सहिदेओ: बोकिदेओ। क्षमा देओ: सकियो। दोष दिने केही कुरा: कोही दोषी भेटिएमा पनि। एफिसी ४:३२।
३:१४ प्रेम: १ पत्रुस ४:८। शिद्धताको बन्धन: विश्वासको परिपक्वताको प्रमाण। मत्ती ५:४४, ४८।
३:१५ परमेश्वरको शान्ति: फिलिप्पी ४:७। शान्ति परमेश्वरबाट आउँछ, यूहन्ना १४:२७। प्रेम पछि शान्ति आउँछ, एफिसी ४:२,३; कलस्सी ३:१४,१५। हृदयहरुमा: धेरैका अनुहार शान्त र हँसिलो देखिन्छ तर हृदयहरुमा युद्ध चलिरहेको हुन्छ, भजन संग्रह ५५:२१; २८:३। धन्यवादी होओ: पावलले आफ्ना पत्रहरुमा ४१ पटक यो बाक्यंश प्रयोग गरेकोछ। मानिसहरु आफ्ना हृदयहरुमा परमेश्वरको शान्तिले बास नगरे गनगन गर्ने, अधन्यवादी बन्ने गर्छन्। शान्तिले बास गरेमा नै मानिस परमेश्वरमा धन्यवादी बन्न सक्दछन्, एफिसी ५:४,१९,२०।
३:१६ ख्रीष्टको वचन: २:२; रोमी १५:१४। हृदयहरुमा वचनले भरिएर शिक्षाका भजनहरु मुखहरुबाट निस्कियोस्। पवित्र आत्माद्वारा वचनलाई हृदयहरुमा शुरक्षा गरिनु, २ तिमोथी १:१४। संगीतका आधार परमेश्वरको वचन हो। संगीतद्वारा परमेश्वरको वचन बोलिनुपर्दछ।
३:१७ वचन वा काम: जे गर्दछौ, प्रभु येशूकै नाममा गर। १ कोरिन्थी १०:३१; १ पत्रुस ४:११।

सम्बन्धहरु
३:१८ आ-आफ्ना पतिको अधीनतामा बस: ख्रीष्टको अनन्त उद्देश्यमा ख्रीष्टसंग मण्डलीको सम्बन्धलाई पृथ्वीका तीन महत्वपूर्ण सम्बन्धहरुले चित्रण गरेको छ, पति-पत्नी, पिता-पुत्र, मालिक-सेवक। अरुमा होइन तर आफ्नै पतिको अधिनमा बस, उत्पत्ति ३:१६; १ कोरिन्थी ७:२; १४:३४,३५; एफिसी ५:२२; तितस २:५; १ पत्रुस ३:१-७।
३:१९ तीता नबन: एफिसी ४:३१। आत्मामा र बोलीमा तीता बन्नु, दयालु नबन्नु, रिसाउनु, कठोर बन्नु।
३:२० सबै कुराहरुमा आज्ञा पालन: पत्नीहरु पतिहरुको अधीनमा बस्नु पर्दछ तर नानीहरुले बाबु आमाको आज्ञापालन गर्नुपर्दछ। पत्नीहरु बढि मात्रामा पति समान छन् बाबु आमा र नानीहरुको तुलनामा। एफिसी ६:१-३, आज्ञापालनमा नानीहरुको आशिषको प्रतिज्ञा गरिएको छ। उनीहरुको आयु लामो हुनेछ।
३:२१ रिस नउठाओ: अन्यायोचित आज्ञाहरु, गलत दोषहरु, आवेगपूर्ण रिस नपोखओ। गलत आत्मा र व्यवहार नानीहरुका निम्ति हानिकारक छ। एफिसी ६:४।
३:२२ आँखाको अघि: आँखा सेवा। मालिकको आँखालाई संतुष्ट पार्ने सेवा नकि सबै समयहरुमा मालिकको ईच्छा र कामलाई पूरा गर्नु। १ इतिहास २९:१७; मत्ती ६:२२,२३; लूका ११:३४। हृदयको सेवाले मालिकलाई खुशी तुल्याउँछ। सरलता हृदयको सुन्दरता हो, २ कोरिन्थी ११:३; रोमी १२:८। गेहजी मालिकको उपस्थितिमा जस्तो मानिसको रुपमा देखापर्थे, मालिकको अनुपस्थितिमा त्यस्तो छँदै थिएन, २ राजा ५:२५-२७। मानिसलाई खुशी पार्ने, ख्रीष्टलाई होइन, गलाती १:१०; १ थिस्सलोनिकी २:४। हृदयको सच्चाई: दोहोरो जीवन होइन, तर एउटै। सेवा हृदयबाट, भजन संग्रह १११:१। अधीनता क्रोधको कारणले मात्र होइन तर विवेकको कारणले, रोमी १३:५।
३:२३ प्रभुका निम्ति: प्रभुको महिमाको निम्ति।
३:२४ इनाम: पैत्रिक सम्पत्ति अनुग्रहबाट प्राप्त हुन्छ, रोमी ४:१४, गलाती ३:१८; १ पत्रुस १:४। साथै प्रभुका निम्ति जे गर्दछौं त्यसको इनाम पाउँनेछौं, २ कोरिन्थी ५:१०। त्यसैले विश्वासीहरु मूलत: मानिसका होइन तर प्रभुका दास हुन्, १ कोरिन्थी ७:२२,२३। प्रभुका दास हुन् भने मानिसलाई खुशी पार्नेले झैं दोहोरो जीवन विताउनु पर्दैन।
३:२५ प्रतिफल: असल या खराव जे गरेका छौं त्यसको प्रतिफल हामीले पाउँनेछौं, २ कोरिन्थी ५:१०।

निष्कर्ष: यी सम्बन्धहरुले हामी र हाम्र ख्रीष्टवीचको सम्बन्धलाई दर्शाउँछ। हामी ख्रीष्टको सेवा गरिरहेका छौं मानिसको सेवा गरिरहेझैं दोहोरो जीवन नविताऔं तर हृदयको सच्चाईमा हाम्रा सम्बन्धहरु स्थापित गरौं।

वचनको सेवाकाई
४:१ समान: जसरी सेवकहरुले मालिकहरुप्रति आफ्नो कर्तव्य पूरा गर्दछन् त्यसरी नै मालिकहरुले पनि आफ्ना सेवकहरुप्रति कर्तव्य पूरा गरुन्। दास भन्दा मानियोस्, फिलेमोन १६। नकरात्मक व्यवहार गरियोस्, एफिसी ६:९।
४:२ प्रार्थनामा यत्नसित लागिरहो: १ पत्रुस ४:७; याकुव ५:७। धन्यवादसाथ: सबै कुराहरुका निम्ति, चाहे आनन्दायी कुराहरुमा, चाहे दु:खपूर्ण कुराहरुमा, सबै कृपाहरुका निम्ति, फिलिप्पी ४:६; १ थिस्सलोनिकी ५:१८।
४:३,४ वचन सुनाउने ढोका: सबै बाधा व्यवधानहरु हटाएर वचन सुनाउने ढोका खोलियोस्, १ कोरिन्थी १६:९; २ कोरिन्थी २:१२; प्रकाश ३:८। यो ढोका खोलिनुको तात्पर्य जेल मुक्त हुन सक्दछ, तैपनि पावल पछि लेखेको पत्रमा लेखेको छ कि उनको बन्धन सुसमाचारको प्रगतिका निम्ति भएका छन्, फिलिप्पी १:१२,१३; २ तिमोथी २:९। ख्रीष्टको रहस्य: १:२७।
४:५ समय: समय किन, एफिसी ५:१६। आत्मिक जागरण जसले गर्दा ब्यर्थताबाट छुट्कारा होओस्, १ पत्रुस ४:२-४। बुद्धिमानीसाथ: एउटा स्थीर र नियमबद्ध जीवन जस अनुरुपम गैह्र ख्रीष्टिय जनहरुसंग सही व्यवहार गरिन्छ ताकि अरुका निम्ति ऊ ठेसको कारण नबनून्।
४:६ वचन अनुग्रहपूर्ण: एफिसी ४:२९; कलस्सी ३:१६। संसारको बोली, १ यूहन्ना ४:५ को उल्टो। ख्रीष्टको वचन अनुग्रहपूर्ण, लूका ४:२२; यूहन्ना ७:४६। नुनले स्वादिलो पारिएको: मत्ती ५:१३; मर्कूस ९:५०। सबै वलिदानहरु नूनले स्वादिलो पारिएको हुनुपर्थ्यो, लेवी २:१३। कसरी जवाफ दिने: १ पत्रुस ३:१५; हितोपदेश २६:५; येशूको उदाहरण, मत्ती १६:१-४; २१:२४-२७। पावलको उदाहरण: प्रेरित १७:२२-३१; २४:२५; २६:।

निष्कर्ष:
१. स्वर्गमा मालिक हुनुहुन्छ।
२. आफ्ना मातहातमा रहेकाहरुसंग समान व्यवहार गरिनुपर्दछ।
३. प्रार्थनामा लागिरहनुपर्दछ। अरुहरुको निम्ति पनि प्रार्थना गर्नुपर्दछ।
४. सुसमाचार सुनाउने मौका लिइरहनुपर्दछ। सुसमाचार सही प्रकारले प्रश्तुत गरिनुपर्दछ।
५. समय किन्नुपर्दछ।
६. बाहिरकाहरुसंग बुद्धिमानीसाथ चल्नुपर्दछ।
७. वोली वचन सधैं अनुग्रहपूर्ण हुनुपर्दछ। हरेकलाई कसरी जवाफ दिने सो जान्नुपर्दछ।

अन्तिम सलाम कलस्सी
४:७ तुखिकस: एफिसस र कलस्सीलाई पठाइएका पत्रहरुका बाहक, प्रेरित २०:४; २ तिमोथी ४:१२; तितस ३:१२ प्रिय भाई: भाइहरुमा नाम चलेको। विश्वासयोग्य सेवक: मिसिनरी सेवाकाईहरुमा विश्वासयोग्य भनी पुष्टि भएको। संगीदास: प्रेरितसंगै उही मालिकको सेवा गरिरहेका।
४:८ पावल कलस्सीहरुका निम्ति ज्यादै पीडामा थिए, २:१। कलस्सीकाहरु झूटा शिक्षकहरुद्वारा पीडित बनेका थिए।
४:९ ओनेसिमस: एक दास, फिलेमोन १०, १६। विश्वासयोग्य र प्रिय भाइ। कलस्सीकाहरुलाई थाहा थियो कि ओनेसिमस फिलेमोनको दास थिए र उनीहरुकै शहरका वासिन्दा थिए।
४:१० अरिस्टार्खस: थिस्सलोनिकाका एक म्यासेडोनियाली मानिस जसले पावललाई एशियामा साथ दिएका थिए, साथै रोमसम्मा साथ दिएका थिए। प्रेरित १९:२९; २०:४; २७:२। हाल उनी पावलसंग रोममा थिए। संगी कैदी तर फिलेमोन २४ मा सहकर्मी। मर्कूस: यूहन्ना मर्कूस, प्रेरित १२:१२, २५। बर्नबासका भानिज: परिवार साइप्रसका थिए, प्रेरित ४:३६; १३:४,१३। आदेशहरु: पहिलो प्रचार यात्रामा उनले पर्गामा यात्रा छोडेका थिए र यसबाट तनाव सृजेको थियो, प्रेरित १३:१३; १५:३७-३९। ख्रीष्टियन प्रेमले त्यसलाई निको पारेको थियो। तसर्थ अघिको गलत छापलाई सुधार्न आदेशहरु पठाइएका थिए। पावलले उनको प्रशंसा गरे, २ तिमोथी ४:११।
४:११ जस्टस: यस शब्दको अर्थ ‘धर्मी’। यो नाम यहुदीहरुका बीचमा प्राय: प्रयोग गरिने गरिन्थ्यो, उदाहरण, प्रेरित १:२३। अरिस्टार्खस, मर्कूस, जस्टस तीनै जना यहुदीहरु थिए। तर एप्राफास, लूका र डेमास अन्यजाति थिए, १२, १४। लूका नाम पनि अन्यजातिहरुले प्रयोग गर्ने नाम थिए। यसलाई ग्रीकमा लुकास भनिएको छ।
४:१२, १३ एपाफ्रास: एपाफ्रास कलस्सी मण्डलीका एक संस्थापक सदस्य थिए, १:७। प्रार्थनाहरुमा घोर परिश्रम: भारी संघर्ष, १:२९, २:१। परमेश्वरको सारा इच्छामा पूर्ण: पूरा निश्चयता, २:२; रोमी ४:२१। शिद्ध: १:२८; ३:१४। मण्डली एक पूरा बढेको मानिस बनून; परिपक्वतामा बढून्, एफिसी ४:१३। ठूलो जोश: कलस्सीहरु, लाओडेसिया र हिरापोलिसकाहरुको निम्ति ठूलो जोश थियो एपाफ्रासमा किनकि उनीहरु धोकामा नपरुन्, २:४; तर एक पूरा बढेको मानिस बनून्। संभवत लाओडेसिया र हिरापोलिसका मण्डलीहरु पनि उनकै सेवाकाइबाट स्थापित भए। हिरापोलिस कलस्सीबाट २० माइल उत्तर पश्चिममा अवस्थित थियो।
४:१४ लूका: लूकाद्वारा लूकाको सुसमाचार र प्रेरितको पुस्तक लेखिएका थिए। उनी प्रिय वैद्य थिए। प्रेरित १६:१०; २ तिमोथी ४:११। डेमास: पावलका सहकर्मीहरु मध्ये एक, फिलेमोन २४। पछि संसारको प्रेमको कारण उनले पावललाई छोडे, २ तिमोथी ४:१०।
४:१५ नुम्फस: लाओडिसियाका एक महत्वपूर्ण व्यक्ति जसलाई किंग जेम्स बाइबल र लिविङ बाइबलले पुरुष भनी सम्बोधन गरेको छ भने टुडेज इंगलीस भर्सन, न्यु इन्टर्न्यासनल भर्सन, फिलिप्स मोडर्न इंगलीस, रिभाइज्ड स्ट्याण्डर्ड भर्सन, जेरुशलेम बाइबल, न्यु ईंगलीस बाइबलले स्त्रीको रुपमा सम्बोधनको गरेको छ। उनको घरमा मण्डली थियो।
४:१६ लाओडेसियाबाट आएको पत्र: यो पत्र एफिसीहरुलाई लेखिएको पत्र होइन तर बाईबलमा संलग्न नगरिएका पत्रहरुमा एक, जस्तो कि कोरिन्थीहरुलाई लेखिएको एक पत्र पनि संग्रहित छैन, १ कोरिन्थी ५:९। प्रेरितहरुका पत्र मण्डली सभाहरुमा पढेर सुनान्थ्यो, १ थिस्सलोनिकी ५:२७। कलस्सीहरुका निम्ति लेखिएको पत्र लाओडेसियाकाहरुका वीचमा पनि पढ्न दिन भनिएको छ। एक मण्डलीलाई लेखिएको पत्र छिमेकी मण्डलीहरुलाई पनि पढ्नलाई दिइएको देखिन्छ।
४:१७ अर्खिप्पस: अर्खिप्पस एक अगुवा थिए कलस्सी मण्डलीको। मण्डलीले उनलाई केही भन्नलाई पावलको निर्देशन छ। सामान्य विश्वासीहरुले पनि अगुवाहरुलाई विनम्रतामा प्रभुको वचन प्रयोग गरी सम्झाउन सक्दछ। परमेश्वरको वचनबाट सिकाउने, प्रयोग गर्ने कार्य सामान्य विश्वासीहरुले पनि गर्न सक्दछ। सेवा पूरा गर, २ तिमोथी ४:५।
४:१८ बन्धन: ४:३,१०। अनुग्रह: हरेक ख्रीष्टियनले केही न केही मात्रामा अनुग्रहको उपभोग गर्दछन् जो परमेश्वरबाट ख्रीष्टमा पवित्र आत्माद्वारा बहन्छ, तितस ३:१५; हिब्रू १३:२५।

निष्कर्ष:
१. अन्धकारको सामर्थ्य: १:१३ परमेश्वरले मानिसलाई अन्धकारको सामर्थ्य (एफिसी २:२; ६:१२) बाट छुट्कारा दिनुहुन्छ। अन्धकार भन्नाले अन्धोपना, घृणा, दुख आदि बुझिन्छ। अनि मानिसलाई उहाँले आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नुहुन्छ, एफिसी १:६।
२. येशू: येशू सृष्टिकर्ता १:१५,१६ हुनुहुन्छ, संरक्षणकर्ता १:१७ हुनुहुन्छ। सारा सृष्टिका जेठा हुनुहुन्छ। सारा सृष्टिका जेठा भन्नाले उहाँको प्राथामिकता र उच्चता बुझिन्छ। भजन संग्रह ८९:२७। जेठा, हिब्रू १:६। अनेकौं भाईहरुमा जेठा, रोमी ८:२९। सबै कुराहरुभन्दा पहिला, कलस्सी १:१७। उहाँ सृष्टि होइन तर सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरले आफूलाई वचन र पुत्रमा सबै थोकहरुको सृष्टि हुनअघि प्रकट गर्नुभयो। ख्रीष्ट मण्डलीका शीर हुनुहुन्छ, एफिसी १:२२; ४:१५,१६।
३. मिलाप: ख्रीष्ट येशूले मानिसलाई परमेश्वरसंग शुरुकै अवस्थामा मिलाप गराउनुहुन्छ, एफिसी २:१६-१८। पृथ्वी र स्वर्गका सबै नै ख्रीष्टप्रति उहाँको मिलापको निम्ति कृतज्ञ हुनुपर्छ। पापको कारण कमजोर बनेका स्वर्गदूतहरुले ख्रीष्टद्वाराको मिलापको कारण सामर्थी बन्छन् र उनीहरूले शैतान र उनका दूतहरुलाई स्वर्गबाट धपाउन सक्दछन्। प्रकाश १२:७-१०; कलस्सी २:१५। परमेश्वरले हामीलाई मिलापको निम्ति बोलाउनु भएको छ, हिब्रू १२: १२-१४।
४. तह मिलेको चाल: एक साथ बाँधिएको, २:२। राम्रो तह मिलेको चालले सैन्य शक्ति बढाउँछ। मण्डलीमा पनि तह मिल्नुपर्छ। मण्डलीमा पनि प्रेमले सबै कुराहरुलाई मजबुत पार्दछ, १ कोरिन्थी १४:३३, ४०। विश्वासको जगमा मण्डली मजबुत हुन्छ।
५. परमेश्वरको शान्ति: ३:१५। फिलिप्पी ४:७। शान्ति परमेश्वरबाट आउँछ, यूहन्ना १४:२७। प्रेम पछि शान्ति आउँछ, एफिसी ४:२,३; कलस्सी ३:१४,१५। हृदयहरुमा: धेरैका अनुहार शान्त र हँसिलो देखिन्छ तर हृदयहरुमा युद्ध चलिरहेको हुन्छ, भजन संग्रह ५५:२१; २८:३। धन्यवादी होओ: पावलले आफ्ना पत्रहरुमा ४१ पटक यो बाक्यंश प्रयोग गरेकोछ। मानिसहरु आफ्ना हृदयहरुमा परमेश्वरको शान्तिले बास नगरे गनगन गर्ने, अधन्यवादी बन्ने गर्छन्। शान्तिले बास गरेमा नै मानिस परमेश्वरमा धन्यवादी बन्न सक्दछन्, एफिसी ५:४,१९,२०। ख्रीष्टको वचन: ३:१६। हृदयहरुमा वचनले भरिएर शिक्षाका भजनहरु मुखहरुबाट निस्कियोस्। पवित्र आत्माद्वारा वचनलाई हृदयहरुमा शुरक्षा गरिनु, २ तिमोथी १:१४। संगीतका आधार परमेश्वरको वचन हो। संगीतद्वारा परमेश्वरको वचन बोलिनुपर्दछ। सुमधुर सम्बन्धहरु पनि शान्तिका फल हुन्।


Editor: Pastor U. J. Gurung. Web Master: Adarsha J. Gurung. Contact us at 9841202110 or 016913929 for more details. You can also mail us at Post Box No. 8973 NPC 200, Kathmandu, Nepal.