|
|
| Testimonials साक्षी वचनहरु |
|
अर्थुंगे बिझाई, रातभरको हिंडाई |
Date:
2009-11-10 |
|
वि. सं. २०५१ मंसिरको कुरा हो यो। म र पास्टर यू. जे. गुरुङज्यू पाल्पा जिल्लाको वीरकोट गाऊँतर्फ लाग्यौं। उकाली, ओराली, भञ्ज्याङ र बेसी हुँदै हामी पाल्पाको तानसेन पुग्यौं। डाँडामा बसालिएको तानसेन मिर्मिरे उज्यालोमा भर्खरै ब्यूँझदै थियो। त्यसपछि आर्यभञ्ज्याङ हुँदै वीरकोट जानलाई प्रस्थान गर्यौं। आर्यभञ्ज्याङ पुग्दा सूर्य एक हात अग्लिसकेको थियो। आर्यभञ्ज्याङमा एका बिहानैदेखि शुष्क सिरेटोले सेकिएर साह्रो बनेको सेल चपाउन औधी गाह्रो पर्यो। तर स्वाद भने अबिस्मरणीय नै थियो।
हाम्रो गाडी वीरकोटतर्फ लाग्यो। डाँडाको नाक र काख हुँदै लाग्ने यो बाटो बडो मोहक दृष्यहरूले भरिपूर्ण थियो। गाडी रोकियो र खुत्रुक्क ओह्रालो लाग्यौं, वीरकोटको आफरडाँडा पुगिहाल्यौं। दाइ हर्षलाई सकुशल भेट्यौं अनी अरु पवित्र जनहरूलाई पनि। पवित्रजनहरूको स्वागत र प्यारमा हामी आनन्दित भयौं। केही दिनहरू संगति गर्नलाई व्यस्त रह्यौं।
शुक्रबारको दिन, एकाबिहानैदेखि आफरडाँडाका पवित्रजनहरू दिउँसोको कार्यक्रमको निम्ति व्यस्त थिए। घाम आफरडाँडाको तल्लो भेगको खेत, पाखा अनि खोलातिर राम्रै लागिसकेको थियो। सबैजना जमघट हुन थाले। एकघण्टा परबाट पनि पवित्रजनहरू आइपुगे। परमेश्वरको स्तुतिगान भयो। प्रवचनको समय तालिकानुसार सो भाग पनि पूरा भयो। चार जनाले पानीको बप्तिस्माद्वारा उद्धारको साक्षी दिए। प्रेमभोज कार्यक्रम गरियो। आत्मिक बातचित भयो। सूर्य बिस्तारै आफरडाँडाको टुप्पातिर सर्दै थियो। बिदाबाजी भएर बिस्तारै उकाली लाग्न थालियो।
त्यसदिन आफरडाँडाको देवी स्थानमा पनि पूजा-आजा सभा बैठक चलिरहेथ्यो। साँझपख सबै आ-आफ्नै घरतर्फ लागिसकेथे। हामी दुई पनि आफर डाँडाको गाउँ बीच हुँदै गयौं र सोम दाइको निवासमा प्रवेश गर्यौं। आगो मज्जैले बलिरहेथ्यो। निष्पट्ट अन्घकार वीच दीयो उज्यालो छर्दै खडा पारिएको थियो। क्षणभरमै हाम्रा आँखा ढोकाबाट भित्र पस्दै गरेको ब्यक्तिमा पर्छ। "ए! हर्ष दाइ आउनुभएछ।" उहाँ भने सुस्त स्वरमा हामीलाई केही बताउँनुहुँदै थियो, "आज साँझ गाउँलेहरू सबै यस घर घेर्न आउने रे, भाइहरुहो, आज साँझ हामी संगति नगरौं बरू म गाउँलेहरूलाई मनाउने प्रयास गर्छु।" त्यही सल्लाह मुताबिक गर्न नै हामीलाई असल लाग्यो।
घडीले आठ बजाउनै आँटेथ्यो, अलिक मुन्तिरको चौतारीमा आवाज गुञ्जिन थाल्यो। खल्याङ, बल्याङ, डङडङ र डुङडुङ आवाजहरू आउन थाले। नभन्दै मानिसहरू चौतारीमा एकाएक जम्मा हुन थाले। हामीहरू सतर्ककासाथ बस्यौं। हामी दुई जना घटना बुझ्नलाई बाहिर निस्क्यौं। बाहिर जून लागिरहेथ्यो। चौतारी वरिपरिका रूखहरूका कारण कोही देखिँदैनथ्यो। तर आवाज भने चर्को रुपमा आइरहेथ्यो। एकापसमा झगडा भएझैं अनि कसैलाई गाली गरिरहेझैं मगर शब्दहरू सुनिन्थ्यो। तर बुझ्न भने सकिएन। १५ मीनेटपछि नेपालीमा आवाज दिई कराइरहेको सुन्यौं,
"काठमाडौंबाट आएको त्यो गुरु कहाँ छ?,
"त्यसलाई यहाँ ल्याऊ।"
"ल्याउनैपर्छ।"
"ठीक गर्नैपर्छ।"
यी भनाईहरुपछि एक हूल जवानहरू हामी रहेको घरतिर कुद्दै आइरहेको थाहा पायौं। परिस्थिति राम्रो नभएको बुझ्यौं र हामी दुई भाइ बारीतिर लाग्यौं। आवाज घर वरिपरि घन्किरहेथ्यो, "कहाँ छन् तिनीहरू?" भन्दै डाङ डाङ र डुङ डुङ गर्न थालेका थिए। एकछिनपछि बथान हामीतिर आइरहेका चाल पायौं तब हामी अझै बारीको पल्लैछेऊ पुग्यौं र खरबारीतिर लाग्यौं। हामी परदेशीलाई त्यसभन्दा उता कस्तो स्थान छ सो थाहा थिएन। खरबारीको डाँडामै पुग्यौं। नजिकै ठूलो भीर रहेछ। जवानहरु बारीमा भएका खनियाको बोटहरूमा ढुङ्गा-मुढा गर्दै थिए। "मार्नैपर्छ" भन्दै चिच्याउँदै थिए। आवाज निक्कै बेरपछि शान्त भयो। झण्डै १५ मीनेटपछि फेरि आवाज चर्कियो। यसपाली चाहिँ खरबारीतिर याने हाम्रै नजीकमा मानिसहरू हिँडिरहेका आवाज सुन्यौं। हामी भने भीरको थाप्लोमा भएको सानो रुखको आडमा पोको परेर लुकिरहेका थियौं। जवानहरू डाँडामा उक्लिएका भए हामीहरू छिप्नसक्ने थिएनौं। हामी दुई यसो भन्दै प्रार्थना गरिरहेथ्यौं, "त्यस आपत्तिबाट छुटकरा दिनुहोस् र जवानहरूलाई फर्काइदिनुहोस्।" चाँडै नै आवाज पन्सिंदै गयो। निक्कै बेरसम्म घर वरिपरि र हामीतिर कुनै साईंसुइं आवाज आएन।
हाम्रो हातको घडीले रातको १२ बजेको देखायो। त्यस रात त्यतिखेर जून अस्ताउनै लागेको थियो। अँधेरीले पुरै छोपिसकेको थियो। चौतारीमा भने खल्याङ बल्याङ टुङ्गिएको थिएन। रातको १२:३० सम्म पनि चौतारीबाट खल्याङ बल्याङ टुङ्गिने संकेत अझै मिलेन। हामी दुईजना बिस्तारै अर्थुङ्गे फाल्दै थियौं। लामो सास फेर्दै डाँडामा केहीबेर बस्यौं। बिस्तारै घरछेऊतिर सर्न थाल्यौं। रातको १:०० बजिसकेको थियो। हामी दुई बल्ल घरभित्र पस्न सफल भयौं। घरकाहरू सबैजना बत्ती निभाएर जागै बसिरहेका रहेछन्। त्यस रात चौतारी नरित्तिने संकेत देखियो। घरभित्र माथिल्लो तलामा कपडा र सामान पल्टाई पल्टाई धुईं-धुईंती हामीलाई खोजेछन् र धम्की दिएछन्। स्थिति अन्यौलपूर्ण थियो। हामीहरू प्रार्थनामा बस्यौं र सरसल्लाह गरी त्यही रात हिंडिजाने निधो गर्यौं। तर बाटो भने त्यही चौतारी भएर जानुपर्थ्यो। अर्को बाटो थिएन।
तर प्रभुका जनहरूले राती बाघ हिँड्ने जङ्गल र बाटै नभएको अप्ठ्यारा खोल्सा भएर मूल बाटोसम्म डोर्याउनु भयो। लामो र छिटो पाइला चाल्दै हामीहरू आर्यभञ्याङतिर लाग्यौं। मेरो एउटा जुत्ता आतंककारीहरूले फालिदिएको हुनाले म चप्पलको भरमा हिंडिरहेथें। चप्पल चिप्लने, खुट्टा दुखाउने र निद्राको चपेटाले हिडाईलाई संघर्षपूर्ण बनायो। सुनसान बस्तीहरु र भुकिरहेका कुकुरहरू पार गर्दै एक घना जङ्गलभित्र पुग्यौं। पूरा हुस्सुले ढाकेको सो जङ्गलमा बाटो देख्न सकिरहेको थिएन। हातमा एउटा टर्च लाईट पनि नभएकोले अन्दाजै गरेर हिँड्न थाल्यौं। एकछिनमा बाटोबाट घस्याङ घुसुङ गर्दै एउटा जन्तु तलतिर लाग्यो। हामीहरू तब हल्लागर्दै त्यो जङ्गल पार गर्न अघि बढ्यौं। केहीबेरमा आकाशमा ताराहरू देखिन थाले। त्यसबेला पास्टरज्यूले भन्नुभयो- "हेर्नुस् त आकाशमा ताराहरू, ती गन्न सक्नुहुन्छ? त्यत्तिकै छन् हाम्रा रक्षक स्वर्गदूतहरू।" रात बीच यसरी यात्रा गरिरहँदा कति पटक ममा डर त्रास उत्पन्न हुन्थ्यो। उहाँको त्यस भनाइले मलाई साहस र सान्त्वना दिन्थ्यो।
जसै मिर्मिरे उज्यालो हुँदैथियो हामी दुबै निद्राले लठ्ठ पर्दैथ्यौं। रक्सीले मात्तिएझैं हाम्रा अनियन्त्रित शरीर जबरजस्ती अघि बढ्दै थियो। अचानक बाटो माथिबाट बाटो मुन्तिर एउटा चितुवा लुसुक्क लाग्यो। तर हामीलाई भने त्यसको थोरै मात्र परवाह थियो। बल्लतल्ल बिहानको ६:३० तिर आर्यभञ्याङबाट सलल्ल पोखरा गुड्यौं। यो यात्रा भएको पनि अब त लामै समय बितेछ। तर सम्झना भने आलै छ। घटना ज्यादै सांघातिक थियो। तर परमप्रभु परमेश्वर हाम्रा ढाल हुनुहुन्थ्यो। आतंककारीहरू भन्दा हामी सधैं एक कदम अघि थियौं।
हामी आइसकेपछि त्यस चौतारीमा गाउँलेहरूले तीन दिनसम्म अड्डा जमाएछन्, ठूलो छलफल र वादविवाद गरेछन्। यो निश्चित थियो कि त्यस गाउँका ७, ८ जना व्यक्तिहरु ख्रीष्टमा आएको कारण गाउँलेहरु हामीमाथि खनिनेवाला थियो। तर सो घटना हुनबाट परमेश्वरले हामीलाई बचाउनुभयो। मेरा प्रभुको स्तुति होस्, जसले यसो भन्नुहुन्छ- "तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु। नदीहरूबाट भएर जाँदा तिनले डुबाउनेछैनन् तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस्, नता त्यसको ज्वालाले तँलाई भष्म पार्नेछ" यशैया ४३:२।
नीर घिमिरे, एवेनेजर, वि. सं. २०५२
|
|
|
|
|