|
|
| Book Review पुस्तक समीक्षा |
|
क्यारिस्मेटिक भद्रगोल |
Date:
2008-05-20 |
|
मकार्थर, जन एफ . जुनियर, क्यारिस्मेटिक भद्रगोल, ललितपुर: ब्याप्टिष्ट प्रकाशन, २००६, पृष्ठ संख्या ३६१, पेपर कवर।
जन एफ. मकार्थरद्वारा लिखित पुस्तक क्यारिजम्याटिक भद्रगोल नेपाली ईशाई जगतका निम्ति थपिएको अर्को कृति हो। पुस्तकको शीर्षक तताउने खालको भए पनि लेखकले पुस्तकलाई तात्तिएर लेखेको देखिंदैन तर ठण्डा रुपमै विचारशील तथा अध्ययनशील भएर लेखिएको पाइयो। परिचय खण्डको पृष्ठ तेइसमा लेखकले कति जना समर्पित र गम्भीर क्यारिजम्याटिकहरुको प्रशंसा समेत गरेको छ। नीजले उपरोक्त जमातको सन्दर्भमा अनावश्यक गाली-गलौज, आलोचना गर्ने कार्य गरेको देखिंदैन। तर तथ्यहरुको आधारमा छानवीन गर्ने कार्य गरेको पाइयो। क्यारिस्मेटिकहरु वीच भए गरेका विश्वास र अभ्यासलाई विश्लेषण र पवित्र बाइबलसंग तुलना गरी पाठकहरुको हितको निम्ति केलाईदिने काम यस पुस्तकमा भएको छ।
लेखकले पुस्तकको पहिलो अध्यायमा अनुभव सत्यता भन्दा ठूलो वा माथि होइन भनी पुष्टि गर्ने कार्य गरेको छ। नीजले साहसपूर्वक पृष्ठ २३ मा उल्लेख गरेका छन् कि क्यारिस्मेटिकहरुको विश्वासको आधार पवित्र शास्त्र होइन तर व्यक्तिगत अनुभव हो। यसबाट यो पुष्टि हुन्छ कि लेखक सत्यताका निम्ति निडर र साहसी रुपमा यस पुस्तकमा प्रश्तुत भएका छन्। अनुभवहरुको श्रंखला नै प्रस्तुत गरिएको छ यस अध्यायमा। डा. पर्सी कोलेर १९८२ मा साढे पाँच दिनको लागि स्वर्ग गए र येशूलाई घरहरु बनाउने काममा देखरेख गरिरहनु भएको देखे। त्यहाँ उनले घोडाहरु, बिरालाहरु, कुकुरहरु देखे। सन् १९७७ मा संयुक्त राज्यको नेशनल कुरियर नामक क्यारिस्मेटिक समाचारपत्रमा धेरै पटक यस्तो विज्ञापन प्रकाशित भयो जसमा भनिएको थियो कि येशूको असली फोटो ९.९२ डलरमा बिक्रीमा छ। डडुली डेनिएलसन नामक व्यक्तिले दावी गरेका त्यो असली फोटोले आशिष दिने प्रतिज्ञा गरिएको थियो। मारभिन फोर्डले १९७८ मा स्वर्ग गई आफ्नो बयान प्रस्तुत गरे। उनको बयान अनुसार येशू लगभग ६ फिट अग्लो थियो। येशू हाँस्नू हुँदा साह्रै जोडले हाँस्नुहुन्थ्यो। लिएरडन पनि स्वर्ग गए। त्यसपछि पनि वेला वेलामा येशूलाई भेटिरहे। ११ वर्ष हुँदाको घटना हो उनी एकदिन ‘ल्याभर्न एण्ड शर्ली’ हेरिरहेका थिए। त्यस बेला अचानक उनीकहाँ येशू आउनुभयो र उनीसंग वातचित गर्नुभयो। येशू जानुभएपछि उनी पुन: ‘ल्याभर्न एण्ड शर्ली’ हेरिरहे। क्यारिस्मेटिक टेलीभिजन नेटवर्कले एप्रील ११, १९७७ मा डा. रिचर्ड एबीको अन्तरवार्ता प्रसारण गर्यो जसमा उनले आफू स्वर्ग पुगी फर्केको दावी गरे। स्वर्गमा उनको शरीरले आश्चर्यजनक गुणस्तर प्राप्त गर्यो। सोको प्राप्तिपछि उनी जहाँ चाहे पनि जान सक्थे। उनलाई देख्न सकिन्थ्यो, तरै पनि उनी पारदर्शी थिए। डा. एबीले यी कुराहरु भन्दा, त्यो कार्यक्रमका प्रस्तोताले “अदभुत! आश्चर्यजनक! वाह, क्या सारगर्भित” भनिरहे। यसरी यस अध्यायमा लेखकले यो स्पष्ट पारेका छन् कि आज कैयौं ख्रीष्टियनहरु परमेश्वरको वचनको उचित व्याख्या र भरोसा गर्नुको साटो अनौठा र अबाइबलीय अनुभवहरु संग्रह गरिरहेका छन्। मानिसको अनुभवलाई पवित्र शास्त्रको उचित बोधभन्दा माथिल्लो स्तरमा पुर्याउनु नै क्यारिस्मेटिक शिक्षाको त्रुटि हो।
जन मकार्थरले यस पुस्तकको दोस्रो अध्यायमा क्यारिस्मेटिक समूहको अर्को त्रुटिबारे विस्तृत विवरण प्रस्तुन गरेका छन्। क्यारिस्मेटिकहरु विश्वास गर्दछन् कि परमेश्वरले आज पनि नयाँ प्रकाशहरु दिइरहनुभएको छ। ओरल रोबर्टसले दाबी गरे कि उनले आफ्नो साहुले तोकेको समयसीमाभित्र अस्सी लाख डलर नउठाएमा उनलाई “घर बोलाइनेछ” भनी परमेश्वरले धम्की दिनुभएको छ। सन् १९८७ मा उनले आफ्ना श्रोतावृन्दलाई यो कुराको उदघोष गरेका थिए। ल्यारी ली सम्बन्धमा उनका एक प्रिय पास्टर मित्रले भनेका भनाइलाई ल्यारी आफैंले यसरि उघृत गरे, “ल्यारी, केही दिनअघि तपाईंको लागि प्रार्थना गरिरहेको बेला मैले एउटा दर्शन देखे। तपाईंका कानहरु मिकी माउसका कान जस्ता ठूला ठूला भएका थिए। हात्तीका जत्रा कानबाहेक तपाईंका अरु सबै थोक सामान्य नै देखिन्थे। यो दर्शनको अर्थ के हो भनी मैले परमप्रभुलाई सोद्धा उहाँको आत्माले मलाई यसो भन्नुभयो, ‘ल्यारी लीले सुन्ने शक्ति विकसित गरेका छन्। उनले आत्मिक कानहरु विकासित गरेका छन्।‘
यस प्रकारका प्रकाश तथा दर्शनहरुको ओइरो नै लागिरहेको हुन्छ क्यारिस्मेटिकहरुवीच। यसमा लेखक यसरी स्पष्ट लेख्दछन् कि यी दर्शनहरुद्वारा ख्रीष्टियनहरुलाई विश्वासनीय पवित्र शाश्त्रबाट अन्यत्र डोर्याइरहेछन्। जे. रडम्यानले बाइबललाई नयाँ प्रकाशहरुका संगी-गवाही मानेका छन्। यसको तात्पर्य यो हो कि वर्तमान समयमा आइरहेका प्रकाशहरु बाइबल जत्तिकै महत्वपूर्ण छन् अनि बाइबल आजका प्रकाशहरु जतिकै महत्वपूर्ण रहेको छ। लेखकले यस अध्यायमा यो स्पष्ट पारेको छ कि परमेश्वरले नयाँ प्रकाशहरु दिइरहनुभएको छैन। प्रकाशको पुस्तकको अन्तमा अरु नयाँ अगमवाणी नथप्नलाई दिइएको चेतावनी यसको बलियो आधार हो। बाइबल स्वयं पूर्ण र शिद्ध वचन हो।
लेखक जन मकार्थर तेस्रो अध्यायमा अगमवक्ताहरु बारे उल्लेख गर्दछन्। जब प्रकाशको पुस्तक लेखिसकियो तब नयाँ प्रकाशहरु आउन बन्द भयो। यसको तात्पर्य नयाँ प्रकाशहरु बताउने अगमवक्ताहरुको पनि अन्त भयो। तर आज क्यारिस्मेटिक मण्डलीहरुमा अगमवाणी गर्न अगमवक्ताहरुको अभाव छैन। नयाँ नयाँ अगमवाणीहरु कहिरहेका छन्। ती अगमवाणीहरु नितान्त व्यक्तिगत पाराका हुन्छन्। तिनलाई पनि बाइबल सरह अधिकारिता दिन्छन्। रोमन क्याथोलिक पोप पनि बाइबल जत्तिकै अधिकारिक सन्देशहरु दिन्छन्। १ नोभेम्बर १९५० मा पोप पायस बाह्रौंले यस्तो घोषणा गरे, ‘मरियम मृत्युपछि तुरुन्तै बौरि उठेकी थिइन् र उनलाई स्वर्गकी रानीको रुपमा स्वर्गको सिंहासनमा राखियो। यस शिक्षालाई नमान्ने हरेक व्यक्ति इश्वरीय र क्याथोलिक विश्वासबाट पूर्णत: अलग भएको ठहरिन्छ।‘
क्यारिस्मेटिकहरुले नयाँ-नयाँ अगमवक्ताहरुद्वारा ‘आत्मामा वध’ (slain in the spirit) हुने जस्ता गतिविधिलाई बाइबल जत्तिकै अधिकारिता दिएका छन्। यी सबै धारणा र व्यवहारले बाइबललाई क्रमिक रुपमा महत्वहिन तुल्याइरहेछ। नोरम्यान गील्सार र विलियम निक्सले यसरी धारणा दिएका छन् कि बाइबल एक भ्रमपूर्ण मानवीय पुस्तक हो। एक क्यारिस्मेटिक आन्दोलनका एक युवकले यसरी उल्लेख गरे आफ्नो पत्रमा, “मलाई बाइबल अध्ययन गर्ने आवश्यकता छैन, किनभने मभित्र उहाँले आफूलाई प्रकट गर्नुभएको रुपमा म येशूलाई जान्दछु, उहाँ ममा वास गर्नुहुन्छ।” तर वास्तविकता यो हो कि बाइबल नै पूर्ण र शिद्ध वचन हो। शिक्षा, सुधार, तालिमका निम्ति बाईबल पर्याप्त छ (२ तिमोथी ३:१६-१७)।
चौथो अध्यायमा लेखकले बाइबल व्याख्याको प्रसंग उठाएका छन्। क्यारिस्मेटिकहरुको अर्को समस्या बाइबल खण्डहरुको व्याख्या प्रणालीमा रहेको छ। गोर्डनडी-फी जो आफै एक पेन्टिकोस्टल हुन्, उहाँले लेख्नुभएको छ, ‘पेन्टिकोस्टलहरु र क्यारिस्मेटिकहरुले आफ्ना धेरै जस्ता शिक्षा हर्मिन्युटिक्सको अति कमजोर शिद्धन्तहरुमा आधारित तरिका प्रयोग गरेका छन्।‘ बाइबल खण्ड वा घटनाहरुलाई अक्षरश: नलिई आत्मिकीकरण (एलेगोरिकल) गर्ने कार्य उनीहरु गर्दछन्। एक पास्टरले यरिहो शहरको विनाशको घटनालाई युवाहरुको निम्ति यसरी व्याख्या गरे, “यदि परमेश्वरले कुनै युवालाई कुनै तरुणी दिनुभएको छ भनी कुनै युवा निश्चित छ भने, उसले ती तरुणी दावी गरेर तिनका वरिपरि सात पटक फन्का मार्दा, ती युवतीको हृदयका पर्खालहरु ढल्नेछन”।
बाइबललाई अक्षरश: बुझिनु पर्दछ। बाइबल आफैले दृष्टान्त वा चित्रणात्मक रुपमा बुझिनु पर्ने भनी स्पष्ट नदेखाएसम्म सदैव अक्षरश: बुझ्नुपर्दछ। पवित्र शास्त्रले पवित्र शास्त्रको व्याख्या गर्छ भन्ने सत्यता पनि बाइबल व्यख्यामा स्पष्ट हुनुपर्दछ। बाइबलको कुनै पनि भागले अर्को भागलाई खण्डन गर्दैन। जटिल खण्डलाई अरु खण्डहरुसंग दाजेर त्यसको अर्थ जान्न सकिन्छ।
लेखकले पाचौं अध्यायमा आश्चर्यकर्म सम्बन्धि क्यारिस्मेटिकहरुको गलत धारणाहरुको उल्लेख गरेका छन्। ख्रीष्टको आकृति देखिनु, पैसा चाहिएकै वेला हुलाकीले डाकबाट पैसा ल्याई पुर्याउनु आदिलाई आश्चर्य कर्म मान्ने गरेका र त्यस्ता कुराहरुको उत्कट आशा गर्ने गरेका देखिन्छन् क्यारिस्मेटिकहरु। प्रत्येक व्यक्तिलाई आश्चर्य कर्म गर्ने वरदान दिइएको छ भनी विश्वास गर्नु र त्यसको पछि लाग्नु अर्को समस्या हो। वास्तवमा प्रत्येकलाई सो वरदान दिइएको हुँदैन नता मानिसको इच्छाले त्यो वरदान मिल्दछ। प्रेरितहरुमा आश्चर्य कर्म गर्ने वरदान थियो। तर उनीहरुको युगमा सबै ईशाईहरुमा आश्चर्य कर्म गर्ने वरदान थिएन।
छैटौं अध्यायमा थर्ड वेभको चर्चा गरिएको छ। फस्ट वेभ “पेन्टिकोस्टल आन्दोलन” सेकेन्ड वेभ “क्यारिस्मेटिक आन्दोलन” र थर्ड वेभ यी दुवैको मिलन हो भनी फुलर थियोलजिकल सेमिनारी अफ वर्ल्ड मिशनमा मण्डली वृद्धिका प्राध्यापक सी. पीटर वेग्नरले व्याख्या गरेका हुन्। वेग्नर अनुसार थर्ड वेभ अभियानमा आत्मामा ढल्ने, दाँतमा भएको प्वाल भर्ने, दाँत नभएको स्थानमा नयाँ पलाउने जस्ता कामहरु भइरहेका छन्। थर्ड वेभले गर्ने भनिएका आश्चर्यकर्म तथा चंगाइहरु, भ्रमात्मक, बढाई चढाई चिकित्सकीय रुपले प्रमाणित गर्न गाह्रो पर्ने वर्गका रोगहरुको चंगाई पाइएको डा. फिलिप सेलडेनले उल्लेख गरेका छन्। थर्ड वेभको समाचार प्रचार गर्ने रणनीतिले नै सुसमाचारको सन्देशलाई उपेक्षा गर्छ। चिन्ह र अचम्मका कामहरुमा जोड दिइन्छ, परमेश्वरको वचन प्रचार गर्नुमा होइन।
सातौं अध्यायमा लेखक आत्मिक वरदानहरुको विषयलाई उठाउँछन्। आज क्यारिस्मेटिकहरु आत्मिक वरदानहरुको नाउँमा अनेकौं गोलमाल र गडवडी गरिरहेछन्। मानिसहरुलाई आत्मामा वध गर्ने प्रथा आज उनीहरुमाझ साधारण भइसकेको छ। यस वरदानबारे पवित्रशास्त्र बाइबलले कहिं कतै उल्लेख गरेको छैन भन्ने तथ्यलाई उनीहरु विलकुलै बेवास्ता गरिरहेछन्। बुद्धिलाई निलम्वन गरेर रहस्यवादलाई वढावा दिने प्रवृत्तिलाई नियन्त्रण गर्न पावलले १ कोरिन्थी १४ लेखे।
क्यारिस्मेटिकहरुले आफ्नो विश्वास अनुभवको जगमाथि बसालेका छन्। आफ्नो विश्वासको समर्थन खोज्नका निम्ति उनीहरु प्राय: प्रेरितको पुस्तकमा जान्छन् भनी मकार्थरले आठौं अध्यायमा उल्लेख गरेका छन्। वास्तवमा प्रेरितको पुस्तक प्रेरितहरुको अनुभवहरुको दैनिकी हो। यो एक ऐतिहासिक वृतान्त हो। प्रेरितको पुस्तक शिशू मण्डलीका अनुभवहरुको इतिहास हो, तर पत्रहरुमा सम्पूर्ण मण्डली युगका विश्वासीहरुको लागि आदेशहरु रहेका छन्।
होबर्ट फ्रीम्यान विश्वासबाट हुने चंगाइप्रति आकर्षित बनेपछि उनी क्यारिस्मेटिक आन्दोलन तर्फ तानिए। उनी मान्थे कि आधुनिक औषधी प्राचीन बोक्सी विधा र जादूबाटै आएको हो। उनी र उनले स्थापना गरेका फेथ एसेम्वलीले डाक्टरी चिकित्सालाई पूर्ण रुपले तिरस्कार गर्थे। डाक्टरको उपचार गर्नु भनेको आफूलाई खुल्ला रुपमा भूतात्माको प्रभावमा पार्नु हो भनी फ्रिम्यान विश्वास गर्थे। यही विश्वासको कारण उनी आफ्नो पोलियोको उपचार गर्न डाक्टरहरु कहाँ गएनन्। अन्तत: त्यही रोगले उनी मरे। उनकै शिक्षाको कारण डाक्टरी उपचारले निको हुने रोगको कारण एक पन्ध्र वर्षीय युवतीको मृत्यु भएपछि उनका आमा-बाबुलाई लापारवाहीद्वारा गरिएको मानव हत्याको निम्ति दश वर्षको कैद सजाय गरिएको थियो। यस मुद्दामा फ्रीम्यानलाई समेत दोषी ठहर्याइएको थियो। लेखकले नवौं अध्यायमा यसरी उल्लेख गरेका छन् कि विरामी हुनु आदमकै पापको कारण हो र यो विश्वव्यापी छ। ख्रीष्टियनहरु पनि विरामी हुन सक्छन्। पावलमा पनि विरामी थियो र उनलाई चंगाई पारिएन, २ कोरिन्थी १२:८,९। पावलले ट्रोफिमसलाई मिलेटसमा विरामी अवस्थामा छोडेका थिए, २ तिमोथी ४:२०। चंगाई आज पनि हुन्छ तर यो पूर्णतया परमेश्वरको तजवीजको कुरा हो। हामीले उहाँमा केवल जाहेर गर्न सक्छौं। ख्रीष्टियनहरु आफ्नो रोगको उपचारका निम्ति डाक्टरहरु कहाँ जान सक्छन्। यो कार्य अपराध होइन तर जायज हो।
लेखकले दसौं अध्यायमा अन्य भाषाहरुको वरदानको विषयमा उल्लेख गरेका छन्। क्यारिस्मेटिकहरु अन्य भाषाको वरदानलाई अनिवार्य वरदानको रुपमा हेर्दछन्। तर यो वरदान सबैले पाउँदैनन् भनी १ कोरिन्थी १२:३० मा उल्लेख भएको छ, “के सबैले विभिन्न भाषाहरु बोल्छन्?” आज पनि अन्य भाषाको वरदान हुन सक्छ भनी उनीहरु विश्वास गर्दछन्। तर १ कोरिन्थी को १३:८ ले भाषाहरु बन्द हुने कुराको उल्लेख गरेका छन्। साथै पहिलो शताब्दीमा नै अन्यभाषाको बरदान क्रमश: बन्द भइरहेका थिए। यस वरदानको अपव्याख्या र दुरुपयोगको कारण पावलले कोरिन्थीहरुलाई यस विषयमा कडा रुपमा शिक्षा दिनु परेको थियो १ कोरिन्थी १२-१४ मा। अन्य भाषाको बरदान नयाँहरुका निम्ति चिन्हका निम्ति थिए नकि विश्वासीहरुका निम्ति, १ कोरिन्थी १४:२२। आज क्यारिस्मेटिक समुदाय वीच बोलिने भाषाहरु तालिम लिई सिकेका तथा वास्तविक भाषा नभएका तथ्यलाई लेखकले उल्लेख गरेका छन्। १ कोरिन्थी १४ ले बताएझैं मण्डली सभामा २ वा ३ जनाले त्यसमा पनि अनुवाद गर्ने व्यक्ति भएमा मात्र बोल्नु पर्ने प्रकृयाको वेवास्ता गर्ने गरेको देखिन्छ क्यारिस्मेटिक चर्चहरुमा।
धेरै क्यारिस्मेटिकहरु आफ्नो मनको परिवर्तन र शुद्धता सजिलोसंग प्राप्त गर्न सकिन्छ भनी विश्वास गर्छन्। पवित्रीकरण अनुभवद्वारा, कुनै प्रयासबिनै आउंछ भनी उनीहरु सोच्छन्। विशेष रुपमा तयार पारिएका क्यासेट खरिद गरी सुनेमा अनेकौं पापी विचारहरु र खराबीबाट छुटकारा पाउने प्रतिज्ञा गर्दछन्। लेखकले एघारौं अध्यायमा उल्लेख गरेका छन् कि साँचो आत्मिकता कुनै महंगो वस्तु खरिद गरी उपभोग गरेर पाइने वस्तु होइन तर यो पवित्र आत्माको इच्छामा समर्पित भई वचनको पालन गरेर वृद्धि हुँदै जाने आत्मिक गुण हो।
क्यारिस्मेटिक अगुवाहरुले हरेक विश्वासीलाई आर्थिक समृद्धि र सिद्ध स्वास्थ्यको प्रतिज्ञा गर्छन्। तर वास्तविकता त्यो होइन। हामी उहाँका सेवकहरु हौं उहाँ हाम्रो सेवक हुनुहुन्न। उहाँले हामीलाई प्रेमिलो सेवा र उपासनाको जीवनमा बोलाउनु भएको छ, देवतुल्य सर्वोच्चतामा होइन। उहाँले हामीलाई निश्चय नै आशिष दिनुहुन्छ, तर सधैं भौतिक रुपले होइन। लेखकले यस तथ्यलाई बाह्रौं अध्यायमा प्रश्तुत गर्नुभएको छ।
जन माकार्थरले यस पुस्तक क्यारिस्मेटिक भद्रगोलमा क्यारिस्मेटिक मित्रहरुलाई प्रहार गर्ने कार्य नगरी, भए गरेका भूल दोषहरुलाई प्रेम पूर्वक केलाउने र सत्यतामा प्रकट गर्ने काम गरेका छन्। यस कृतिबाट सम्पूर्ण नेपाली ईशाईहरुलाई वर्तमान समयमा देखा परिरहेका अलमल्ल र भद्रगोल स्थितिमा मार्गदर्शनको निम्ति मद्दत गर्ने स्पष्ट देखिन्छ। नीजले शिक्षा तथा सुधारका पक्षलाई पवित्र शास्त्र बाइबललाई आधार बनाई प्रश्तुत गरेका छन्। शब्द चयनमा अनुवादकबाट कति ठाउँहरुमा जटिल शब्दावलीहरु प्रयोग भएबाट केही भागहरुमा बुझ्न कठिन छ। ठाउँ ठाउँमा भाषामा सरलता खड्किएको पाइएको छ। समग्रमा भन्नुपर्दा कृति उपलब्धिमुलक देखिन्छ॥
|
|
|
|
|