हामीसँग भविष्यवाणीको अझ पक्का वचन पनि छ, जसलाई दिनको उज्यालो नखसुन्जेल, र तिमीहरुका हृदयहरुमा बिहानको तारा नउदाउन्जेल अँध्यारो ठाउँमा चम्किने ज्योतिलाई झैँ तिमीहरुले ध्यान दिएर असल गर्दछौ। २ पत्रुस १:१९
HomeAbout UsQ & AFeedback
 
News समाचार
Articles समसामयिक लेख
Sermons प्रवचन
Bible Studies बाइबल अध्ययन
Testimonials साक्षी वचनहरू
History इतिहास
Book Review पुस्तक समीक्षा
Literatures साहित्य
Prayers प्रार्थना
Photo Gallery फोटोहरु
 

 

अध्ययन सामाग्रीहरुका लागि

wordoftruth.com.np

Bible Doctrines

False Doctrines

नेपाली ईशाई पत्रिका 'एनोन' नियमित रुपमा पढ्नुहोस्।  सम्पर्क

बाइबल, ख्रीष्टिय जीवन तथा जीवन सम्बन्धि प्रश्नोत्तरहरुको सङगालो 'मुहान' पढ्नुहोस्। सम्पर्क

 


प्रत्येक शनिबार ११ बजे संचालन हुने एवेनेजर आराधना सभामा हार्दिक स्वागत गरिन्छ। सम्पर्क

 


Greeting Cards

 

 

 

 
Untitled Document
Date: 2009-09-26
‘मण्डली’ शब्द ग्रीक भाषाको ‘एक्लेशिया’ शब्दको नेपाली अनुदित शब्द हो। ‘एक्लेशिया’ शब्दको मूल अर्थ ‘बाहिर बोलाइएको’ भन्ने हुन्छ भने ग्रीक भाषा साहित्यको चलन चल्तीमा ‘एक्लेशिय शब्दको अर्थ ‘सभा’ भन्ने हुन्छ। नयाँ नियममा पनि ‘एक्लेशिया’ शब्दको अर्थ ‘सभा’ हुन्छ। नयाँ नियममा ‘मण्डली’ वा ‘मण्डलीहरु’ भन्ने शब्द ११४ पटक प्रयोग भएको छ। नयाँ नियम अनुसार,
१. मण्डली स्थानीय हुन्छ, प्रेरित ८:१; १३:१; १ कोरिन्थी १:२।
२. मण्डली दृश्य हुन्छ, २ कोरिन्थी १:१,१५,१६; १ थिस्सलोनिकी ३:१०।
३. मण्डली संगठित र व्यवस्थित हुन्छ, १ कोरिन्थी १४:४०; कलस्सी २:५; तितिस १:५; १ तिमोथी ३:१५। सुसमाचारमा विश्वास गर्नेहरुलाई सिकाउन र व्यवस्थित गर्न यरुशलेम मण्डलीले एन्टिओकमा जान वर्णवासलाई निर्देशन दिइएको थियो, प्रेरित १३:१९,२६। वर्णवास यरुशलेम मण्डलीको अनुशासन र अधीनमा रहेको योग्य र सक्षम सदस्य थिए। परमेश्वरको मण्डली सत्यको खाँवो र जग, १ तिमोथी ३:१५, भएकोले व्यवस्थित गर्न प्रथमत: योग्य शिक्षकहरुको जरुरी हुन्छ। यही उद्देश्यले थप सहयोगका लागि वर्णवासले पावललाई टार्ससबाट ल्याए र एक सालभरि सिकाए, प्रेरित ११:२६। यो कार्यबाट शिक्षामा सही रुपले बसालिने र एक मण्डलीबाट अर्कोमा सत्यको हस्तान्तरण हुने कार्य भयो। सत्य जस्ताको तस्तै रुपमा हस्तान्तरण हुनुपर्दछ, २ तिमोथी २:२। यो कार्यको नेतृत्व मण्डलीले गर्दछ नकि व्यक्तिले, प्रेरित ११:२२। कुनै पनि मण्डलीको सदस्य नरहेको वा मण्डलीको अधीनमा नरहेको वा अयोग्य व्यक्तिलाई मण्डली स्थापनार्थ पठाइन हुँदैन। बर्णवास असल मानिस थिए जो पवित्र आत्मा र विश्वासले भरपुर थिए, प्रेरित ११:२४। त्यसरी नै पावल परमेश्वरबाट सिकाइएको योग्य प्रचारक र शिक्षक थिए।
मण्डलीलाई दिइएका चित्रणहरुले पनि मण्डली संगठित र व्यवस्थित हुन्छ भन्ने पुष्टि गर्छ, जस्तै,
 शरीर, १ कोरिन्थी १२:१२-२७।
 भवन, १ पत्रुस २:१५; १ कोरिन्थी ३:१०-१७।
 दुलही, २ कोरिन्थी ११:२।
४. मण्डली वैधानिक हुन्छ। बाइबलीय आधारमा बसालिएको हुन्छ। सोको लागि त्यसमा मण्डली भनिन आवश्यक तत्वहरु हुन जरुरी हुन्छ। जस्तै,
 पवित्र जनहरु, फिलिप्पी १:१। सुसमाचारलाई ग्रहण गरी बप्तिस्मा लिएकाहरु, प्रेरित २:४१।
 मण्डली स्वचालित हुन आवश्यक पर्ने नेतृत्वहरु, फिलिप्पी १:१ प्रेरित १४:२३, तीतस १:५। नयाँ नियम मण्डली अनुशासनले मण्डली वैधानिक हुन्छ बन्ने कुराको पुष्टि गर्दछ, मत्ती १८:१७; २ थिस्सलोनिकी ३:६, १४; १ कोरिन्थी ५:५।
ख्रीष्ट र मण्डली

हिब्रू १२:२ अनुसार नयाँ नियम मण्डलीहरुको साँचो संस्थापक येशू ख्रीष्ट हुनुहुन्छ जो विश्वासको कर्ता हुनुहुन्छ। जीवन परिवर्तन केवल येशूले गर्नुहुन्छ। नयाँ नियम मण्डली पत्रुस ‘पेट्रोस’ माथि बनाइएको होइन। तर मण्डली चट्टान ‘पेट्रा’ माथि बनाइयो, मत्ती १६:१८। ‘पेट्रा’ को अर्थ ‘चट्टान’ हो जो येशू ख्रीष्ट स्वयं हुनुहुन्छ। तसर्थ ख्रीष्ट येशू नै मण्डलीको
१. शीर हुनुहुन्छ, एफिसी १:२२,२३; कलस्सी १:१८।
२. कुने ढूंगा हुनुहुन्छ, मत्ती १६:१८; १ कोरिन्थी ३:११; १ पत्रुस २:६-८।
३. दुलाहा हुनुहुन्छ, यूहन्ना ३:२९; रोमी ७:४; २ कोरिन्थी ११:२; एफिसी ५:२५-२७; प्रकाश १९:७-९।
४. गोठालो हुनुहुन्छ, प्रेरित २०:२८; १ पत्रुस ५:१-४।

मण्डली स्वतन्त्रता
नयाँ नियम मण्डलीहरु स्वतन्त्र मण्डलीहरु हुन् किनकि,
१. नयाँ नियम मण्डलीहरु माथि नियन्त्रण राख्ने कुनै मण्डली, परिषद, बोर्ड, संगठन वा व्यक्ति रहेको उदाहरण नयाँ नियममा छैन।
२. ख्रीष्ट मण्डलीको शीर हुनुहुन्छ। उहाँ स्वयंले मण्डलीलाई नेतृत्व प्रदान गर्नुहुन्छ, एफिसी १:२२,२३।
३. मण्डलीलाई उच्चत्तम अधिकार दिइएको छ, मत्ती १८:१७।
४. ‘प्रेरितहरु’ मण्डलीका जग भएतापनि मण्डली सम्बन्धि निर्णयमा मण्डलीले नै निर्णय गरेका थिए, प्रेरित १:१५-२६; ६:१-७; १ कोरिन्थी ५:३-५।
५. शिक्षा सम्बन्धि विवाद मिलाउन एन्टिओक मण्डलीले पावल र वर्णवासलाई यरुशलेम मण्डली पठाएका थिए। पावल अत्यन्तै प्रभावकारी भएर पनि उनी एन्टिओक मण्डलीको अधीनमा थिए, प्रेरित १५:१-३५।
६. यरुशलेम मण्डलीले एन्टिओक मण्डलीमाथि आफ्नो इच्छा लादेन, प्रेरित १५:१९।
७. येशूले एशियाका सात मण्डलीहरुलाई सिधै सम्बोधन गर्नुभयो नकि कुनै केन्द्रीय बोर्ड वा संस्थालाई।
मण्डली स्वतन्त्रताको सिमितता
नयाँ नियम मण्डलीहरु स्वतन्त्र मण्डलीहरु हुन् तथापि ती पूर्ण स्वतन्त्र होइनन्। नयाँ नियम मण्डलीहरुको स्वतन्त्रतालाई निम्न बमोजिम तथ्यहरुले सिमित पारेका छन्,
१. परमेश्वरको वचन, १ तिमोथी ३:१५। मण्डलीहरु व्यवस्थापिकीय निकाय होइनन् जसले आफैं नियम, कानून वा व्यवस्था बनाउन सक्दछन्। तर यसले परमेश्वरको वचनको व्याख्या र परिपालना गर्दछ। मण्डली परमेश्वरको वचनको अधीनमा रहनुपर्दछ।
२. महान आज्ञा, मत्ती २८:१८-२०। मण्डलीहरुले सुसमाचार सुनाउन, बप्तिस्मा दिन तथा मण्डलीको रुपमा संगठित तथा व्यवस्थित गर्न महान आज्ञालाई उछिन्न सक्दैन। मण्डलीहरु महान आज्ञाद्वारा निर्देशित हुन्छन्। मण्डलीहरु व्यवसायिक वा राजनीतिक संगठनको रुपमा जान सक्दैनन्।
३. देशको कानून, मत्ती १३:१-७; १ पत्रुस २:१३-१७। दैनिक जीवनका गतिविधिमा ख्रीष्टियनहरु देशद्रोही वा कानून भंग गर्नेहरु हुन सक्दैन। परमेश्वरको आज्ञा उलंघन हुने परिस्थितिमा बाहेक, प्रेरित ५:२९, मण्डलीहरु देशको कानूनको अधीनमा हुन्छन्।
४. मण्डली सदस्यहरुको व्यक्तिगत अधिकार। मण्डलीले आत्मिक मामिलामा बाहेक सदस्यहरुको नीजि जीवनमा हस्तक्षेप गर्न सक्दैनन्। सदस्यको रुपमा असुहाउदो र अयोग्य हुने गरी भए गरेको क्रियाकलापमा भने मण्डलीले हस्तक्षेप गर्ने र आवश्यक परे अनुशासनको कारवाही गर्न सक्नेछन्।
५. अन्तर्निर्भरताको शिक्षा। बाइबलले ख्रीष्टको महिमाको निम्ति मण्डलीहरुलाई एकापसमा निर्भर रहन शिक्षाहरु दिइएका छन्। यस कारणले पनि मण्डलीहरु पूर्ण स्वतन्त्र र स्वाधीन हुँदैनन्। जस्तै,
 मण्डलीहरुले पत्रहरुको आदान प्रदान गरे, प्रेरित १८:२७; १ कोरिन्थी १६:३; २ कोरिन्थी ३:१। पत्रहरुद्वारा एक मण्डलीले अर्को मण्डलीका भाइहरुलाई ग्रहण गर्ने वा स्वागत गर्ने कार्यहरु गरिन्थ्यो। मण्डलीहरु सम्बन्धहरुमा व्यवहारिक हुन परस्परमा निर्भर थिए।
 अन्तर्मण्डलीय संगतिहरु, १ कोरिन्थी १६:१,१९; गलाती १:२,२२। नयाँ नियमले यो स्पष्ट संकेत दिंदछ कि मण्डलीहरुले आपसी संगति र पहिचान कायम राखेका थिए। मण्डलीहरु आपसमा सहयोगी र निर्भर थिए।
 मिसिनरी प्रचारकहरुलाई सहयोग। पावल प्रेरितलाई एन्टिओक मण्डलीले मिसिनरीको रुपमा पठाएका थिए, प्रेरित १३:१। तथापी उनीद्वारा संस्थापित मण्डलीहरुले उनलाई आर्थिक सहयोगमा सहभागिता दिएको थियो, २ कोरिन्थी ८:१-४; फिलिप्पी ४:१०-१६। तीतस पावलका यात्राहरुमा सहयोग गर्न मण्डलीहरुद्वारा चुनिएका थिए, २ कोरिन्थी ८:१९।
 मण्डलीहरुले मण्डलीहरुलाई सहयोग गर्दथे, रोमी १५:२५,२६; १ कोरिन्थी १६:१-३।
 मण्डलीहरुले मण्डलीहरुलाई सल्लाह सुझाव दिन्थे, प्रेरित १५:४-३१।

मण्डली नेतृत्व
ख्रीष्टको मण्डलीको सेवालाई व्यवस्थित गर्न र नेतृत्व प्रदान गर्न दुई तहका पदाधिकारीहरुको उल्लेख नयाँ नियमले गर्दछ; एल्डरहरु, डिकनहरु। ‘एल्डर’कै समान स्थानमा अर्को ओहोदाको प्रयोग भएको छ, त्यो हो ‘विशप’। मण्डलीहरुमा नेतृत्व प्रदान गर्ने विशपहरुको सन्दर्भ फिलिप्पी १:१; १ तिमोथी ३:१२; तितस १:७ मा उल्लेख गरिएको छ भने प्राणहरुको ‘विशप’ ख्रीष्ट भनी १ पत्रुस २:२५ मा उल्लेख गरिएको छ। १ तिमोथी ३:१-७ र तीतस १:७-९ मा ‘विशपहरु’को योग्यता सूचि रहेका छन्। तर तितस १:५,७ मा एल्डरहरु र विशपहरुलाई उही तहमा राखिएका छन् र योग्यतामा कुनै अन्तर राखिएको छैन। त्यसैले तितस १:७-९ को सूचि एल्डरहरुको योग्यता सूचि पनि हो। त्यस्तै गरि डिकनहरुको योग्यता सूचि १ तिमोथी ३:८-१३ मा उल्लेख गरिएको छ। फिलिप्पी मण्डलीको सेवालाई व्यवस्थित गर्न यिनै दुई तहहरुको उल्लेख गरिएको छ, विशपहरु र डिकनहरु, फिलिप्पी १:१। क्रेटका प्रत्येक शहरमा भएका मण्डलीमा एल्डरहरु नियुक्त गर्न तीतसलाई आज्ञा गरिएको छ। लगत्तै विशपहरुको योग्यता उल्लेख गरिएको छ। ग्रीक शब्द ‘इपिस्कोपस्’ बाट अनुदित शब्द विशपको अर्थ निरीक्षक भन्ने हुन्छ। अंग्रेजीमा यसको अर्थ ‘सुपरिन्टेन्डेन्ट’ वा ‘ओभरसियर’ हुन्छ। तर नयाँ नियम मण्डलीहरुमा ‘विशप’को प्रयोग भन्दा ‘एल्डर’को प्रयोग अधिक रहेको देखिन्छ। ‘एल्डर’ शब्द ग्रीक शब्द ‘प्रेसव्युटेरस’ बाट अनुवाद गरिएको हो जसको अर्थ ‘वृद्ध’ वा ‘परिपक्व’ भन्ने हुन्छ। पावलले मण्डलीहरूमा ‘एल्डरहरू’ नियुक्त गरे, प्रेरित १४:२३। यरूशलेममा एल्डरहरू थिए; प्रेरित १५:२,४,६,२२,२३; १६:४; २१:१८। एफिसी मण्डलीमा एल्डरहरू थिए, प्रेरित २०:१७। राम्ररी शसन गर्ने एल्डरहरूलाई दुइ गुणा आदर दिइयोस भनी तिमोथीलाई भनिएको छ, १ तिमोथी ५:१७। क्रेटका प्रत्येक शहरमा एल्डरहरू नियुक्त गर्न तितसलाई आज्ञा गरिएको थियो, तितस १:५। कोही बिरामी भएमा मण्डलीका प्राचीनहरूलाई प्रार्थनाको निम्ति बोलाउन भनिएको छ याकूब ५:१४। पत्रुसद्वारा लिखित प्रथम पत्रमा पोन्टस, गलातीय, कप्पाडोसिया, एशिया, बिथनिया मण्डलीहरूमा एल्डरहरू रहेको उल्लेख गरिएको छ। पत्रुसले आफूलाई पनि एल्डरको रूपमा प्रस्तुत गरेका छन्, १ पत्रुस ५:१। त्यसरी नै यूहन्नाले पनि आफूलाई एल्डर भनेका छन्, २ युहन्ना १। अत: नयाँ नियममा कुनै एक मण्डलीको नेतृत्व गर्न विशपहरुको नियुक्ति गर्न भनिएको छ जो एल्डरकै तहमा रहेको अर्को नाम हो। तर प्रयोगमा ‘विशप’ भन्दा ‘एल्डर’ नाम अधिक रहेको थियो।
यरूशलेम मण्डलीका नेतृत्वका सवालमा ‘प्रेरितहरू’ र ‘एल्डरहरू’ भनी उल्लेख गरिएको छ, प्रेरित १५:२,४,६,२२,२३। यसबाट यो देखाइएको छ कि ‘प्रेरित’ र ‘एल्डर’ नाममा अन्तर रहेको छ। प्रेरितहरूका स्पष्ट र विशिष्ट लक्षणहरू थिए, २ कोरिन्थी १२:१२। तसर्थ उनीहरूलाई ‘प्रेरित’ भनी सम्बोधन गर्नु उचित थियो यद्यपि पत्रुस र यूहन्नाले आफूलाई ‘एल्डर’ को रूपमा सम्बोधन गरेका थिए, १ पत्रुस ५:१; २ यूहन्ना २:१। एफिसी ४:११ मा परमेश्वरले कतिलाई प्रेरितहरू, कतिलाई भविष्यवक्ताहरू, कतिलाई सुसमाचार प्रचारकहरू, कतिलाई गोठालाहरू र शिक्षकहरू हुनलाई दिनुभयो भनिएको छ। परमेश्वरले दिनुभएको (परमेश्वर प्रदत्त) भनी यहाँ उल्लेख गरिएकोले यी नामहरू बरदानको रूपमा रहेका छन्। ग्रीक शब्द ‘पोइमेन’ बाट पास्टर शब्दको अनुवाद भएको हो, जसको अर्थ ‘गोठालो’ हुन्छ। यो शब्द नयाँ नियममा एक पटक मात्र प्रयोग भएको छ, एफिसी ४:११। पुरानो नियममा भने यो शब्द एक पटक भन्दा बढि प्रयोग गरिएको छ। हिब्रू शब्द ‘रा’ लाई ‘पास्टर’ भनि अनुवाद गरिएको छ। यो शब्द यर्मिया २:८; ३:१५; १०:२१; १२:१०; २२:२२; २३:१,२ मा प्रयोग भएको छ। यस शब्दको अर्थ ‘बगाललाई चराउनु’ वा ‘गोठालो’ भन्ने हुन्छ। प्रेरितहरू जसमा एल्डरमा हुनुपर्ने योग्यताहरू थिए र सो काम गरिरहेका थिए, ती एल्डरहरू थिए। तर उनीहरु वरदानले प्रेरितहरू थिए। त्यसरी नै एल्डरका योग्यता भएका ब्यक्तिहरूमध्ये कसैमा प्रचारक, कसैमा पास्टर, कसैमा शिक्षकको बरदान भए, त्यही मुताबिक सम्बोधन गरिनु उचित हो। एल्डरहरूमध्ये कतिमा उपरोक्त बरदानहरू नहुन सक्छ। सो अवस्थामा उनीहरुलाई ‘एल्डरहरू’ भनी सम्बोधन हुनु मनासिव हो।

१ पत्रुस २:२५ मा येशू ख्रीष्टलाई प्राणहरूको ‘गोठालो’ र ‘विशप’ भनिएको छ। उहाँ आफ्ना जनहरूका असल गोठालो वा पास्टर हुनुहुन्छ, जसले आफ्नो जीवन भेडाहरूको निम्ति दिनुभयो। साथै उहाँले आफ्ना भेडाहरूको देखभाल र निरीक्षण गर्नुहुन्छ। त्यसैले उहाँ भेडाहरूको विशप पनि हुनुहुन्छ। यहाँ ‘पास्टर’ र ‘विशप’ शब्दहरू एकै ठाउँमा प्रयोग भएका छन्। एकै ब्यक्तिलाई गोठालो र विशप भनिएको यो पहिलो स्थान हो। ‘विशप’ पदीय ओहोदा हो भने ‘पास्टर’ विशेष बरदान।
मण्डलीमा सामन्यतया एल्डरहरू र डिकनहरूको नियुक्ति गरिन्छ। मण्डली नेतृत्वमा सबैलाई सम्हाल्ने तथा बगाललाई आत्मिक शिक्षा प्रदान गर्ने ब्यक्तिले प्रमुख नेतृत्व प्रदान गर्दछ; प्रेरित १५:१३-२२। कार्य प्रकृतिले उक्त ब्यक्तिको सो सेवा ‘पास्टर’को सेवा हो। एल्डरहरुमध्येमा पास्टरको वरदान भएको ब्यक्ति भनी सर्वस्वीकृत ब्यक्तिलाई पास्टरको रूपमा घोषणा गरिन्छ। तब नीजलाई पास्टरको जिम्मेवारी सुम्पिइन्छ। पास्टरको प्रमुख नेतृत्वमा एल्डरहरूले मण्डली सेवामा साथ दिन्छन्, प्रेरित १५:१३-२१ र महान आज्ञा पूरा गर्न सहयोग गर्छन्।

डिकनहरूको नियुक्ति मण्डलीको आवश्यकता बमोजिम गरिन्छ, प्रेरित ६:१-७। डिकनहरूले पास्टर, एल्डरहरूको अधीनमा रही सेवाको जिम्मा पूरा गर्छन्, १ तिमोथी ३:१३। मण्डलीमा पास्टरको बरदान भएको ब्यक्ति प्राप्य नभएसम्म एल्डर वा एल्डरहरूले मण्डली सेवालाई नेतृत्व प्रदान गरिरहनेछन्। सो अवस्थामा पास्टरको बरदान दिइयोस् भनी परमेश्वरमा जाहेर गर्नु मनासिव हुन्छ। जव परमेश्वरले ‘पास्टर’को वरदान भएको व्यक्ति मण्डलीवीच उठाउनुहुन्छ नीजलाई सो जिम्मेवारीको निम्ति नियुक्त गरिन्छ।

मण्डली स्थापना प्रकृया
१. ग्रीक शब्द ‘एक्लेशिया’बाट अनुवाद गरिएको नेपाली शब्द ‘मण्डली’को शाब्दिक अर्थ ‘बाहिर बोलाइएको’ भन्ने हुन्छ भने ग्रीकहरुको भाषिक प्रयोजनमा यसको अर्थ ‘सभा’ वा ‘समूह’ हुन्छ। नयाँ नियममा पनि सामन्य अर्थमा ‘मण्डली’ शब्दको अर्थ ‘सभा’ हुन्छ भने विस्तृत अर्थमा ‘मण्डली’ ख्रीष्ट येशूले बनाउनु भएको (मत्ती १६:१८), संगठित एवं व्यवस्थित सभा हो (१ कोरिन्थी १४:४०; कलस्सी २:५; १ तिमोथी ३:१५; तितस १:५), जसमा ख्रीष्टको महान आज्ञा पूरा गर्नको निम्ति पर्याप्त संख्यामा ख्रीष्टियनहरुको आवद्धता र समर्पणता रहन्छ (प्रेरित २:४१,४२)।
२. मण्डलीको प्रमुख उद्देश्य परमेश्वरको सेवा र महिमा गर्नुका साथै ख्रीष्टको महान आज्ञा पूरा गर्नु हो (मत्ती २८:१८-२०)। यस बमोजिम सुसमाचार प्रचार गर्ने कारय मण्डलीको प्रत्येक सदस्यको हो (प्रेरित ८:४; ११:१९-२१)। भौगोलिक कारणले विद्यमान मण्डली परिवारमा आवद्ध र समर्पण भई (प्रेरित २:४१-४७) महान आज्ञा पूरा गर्न नसक्ने क्षेत्रका (प्रेरित ११:१९-२४) ख्रीष्टियनहरुलाई उक्त मण्डलीको तर्फबाट सिकाउन र व्यवस्थित गर्न परमेश्वरको सारा मनसाय (प्रेरित २०:२७) बताउन सक्ने, विश्वासयोग्य (२ तिमोथी २:२) जस्तो तितस (२ कोरिन्थी ८:२३; २ कोरिन्थी १२:१८; तितस १:५)असल, पवित्र आत्मा र विश्वासले भरपुर (प्रेरित ११:२४), मण्डली प्रति जवाफदेही (प्रेरित १४:२७) व्यक्ति वा व्यक्तिहरुलाई पठाउँदछ। ती व्यक्तिलाई प्रचारक वा मिशिनरी भनिन्छ (एफिसी ४:११)। यस्ता व्यक्ति मण्डलीका दूत (फिलिप्पी २:२५) भएका हुनाले मण्डलीको सदस्य नरहेको, मण्डलीको अधीनमा नबसेको तथा यस कार्यको निम्ति असक्षम वा अयोग्य व्यक्तिलाई यो महान जिम्मेवारी सुम्पिइनेछैन (२ तिमोथी २:२)। यस जिम्मेवारीका साथ पठाइएको व्यक्ति परमेश्वरप्रति र मण्डलीप्रति जवाफदेही हुनुपर्नेछ (प्रेरित १४:२७; १५:२,३०,३१)।
३. उक्त नयाँ स्थानका ख्रीष्टियनहरुलाई परमेश्वरको सारा मनसाय सिकाई ख्रीष्टको महान आज्ञा पूरा गर्न सो समूह वा झुण्डलाई आधारभूत रुपमा तयार पारी व्यवस्थित र संगठित पारिएपछि मात्र नयाँ नियमको अर्थमा ख्रीष्टको ‘मण्डली’को रुपमा स्थापित भएको बुझिन्छ (प्रेरित २:४७; ११:२६; १४:२३; तितस १:५)। सो अवस्था नभएसम्म उक्त झुण्डलाई ‘मण्डली’ भनिनेछैन।
४. ख्रीष्टले बनाउनुभएको नव मण्डली प्रेरितहरुको शिक्षामा बसालिएको, ख्रीष्टको नेतृत्व र अधीनमा समर्पित एक स्वतन्त्र मण्डली हुनेछ (प्रकाश १:२०) नव मण्डली स्वाधीन र स्वेच्छाचारी हुनेछैन तर परमेश्वरको वचनको सही व्याख्या र परिपालना गर्न वाध्यकारी हुन्छ। किनकि मण्डली सत्यको जग र खाँवो हो (१ तिमोथी ३:१५)। नव मण्डली ख्रीष्टको महान आज्ञभित्र सिमित रहनुपर्नेछ (मत्ती २८:१८-२०)। नव मण्डलीले यस महान आज्ञाबाट भड्किएर कुनै राजनीतिक, सामाजिक वा आर्थिक संगठनको रुप धारण गर्न सक्दैन। परमेश्वरको आज्ञा उलंघन हुने परिस्थितिमा बाहेक (प्रेरित ५:२९) नव मण्डली देशको कानूनको अधीनमा रहनुपर्दछ (रोमी १३:१-७; १ पत्रुस २:१३-१७)।
५. मण्डली र नव मण्डलीवीच पत्र तथा सिफारिस पत्रहरुको आदान-प्रदानद्वारा पारस्पारिक व्यवहार गर्नेछन्। भाइहरुलाई ग्रहण गर्ने वा स्वागत गर्ने कार्यमा, सदस्यता स्थानान्तरणको सवालमा, सदस्यहरुलाई अनुशासन पालन गराउनमा पत्र वा सिफारिस पत्रहरुको आदान-प्रदान गरी मण्डलीहरु आपसमा सहकार्य गर्दछन् (प्रेरित १८:२७; १ कोरिन्थी १६:३; २ कोरिन्थी ३:१)।
६. मण्डली र नव मण्डली आपसी संगति र पहिचान कायम राख्दै प्रेममा सहयोगी र निर्भर बन्दछन् (१ कोरिन्थी १६:१,१९; गलाती २:२,२२)।
७. मण्डली, नव मण्डलीहरुले ख्रीष्टको महान आज्ञा पूरा गर्न प्रचारकहरुलाई साझा रुपमा सहयोग गर्न सक्दछन् (प्रेरित १३:१; २ कोरिन्थी ८:१-४, १९; फिलिप्पी ४:१-१६)।

Date: 2009-09-13

त्रिएक परमेश्वरमा एक व्यक्तित्व पवित्र आत्मा हुनुहुन्छ; मत्ती २८:१९; २ कोरिन्थी १३:१४। उहाँ व्यक्ति हुनुहुन्छ, किनकि उहाँमा व्यक्तिमा हुने गुणहरु विद्यमान छन्; १ कोरिन्थी २:११; १२:११; रोमी ८:२७; रोमी १५:३०। उहाँले गर्ने कार्यहरु द्वारा उहाँ व्यक्ति हुनुहुन्छ भन्ने पुष्टि हुन्छ; यूहन्ना १४:२६; यूहन्ना १६:८; प्रेरित ८:२९; प्रेरित १३:२; १६:६,७; २०:२८; रोमी ८:१४,२६,२७; १ कोरिन्थी २:१०,११। व्यक्ति भएकै कारण उहाँलाई व्यक्तिलाई झैं असर पर्छ; मत्ती १२:३१,३२; प्रेरित ५:३; ७:५१; एफिसी ४:३०; १ थिस्सलोनिकी ५:१९। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ; २ कोरिन्थी ३:१७।

पवित्र आत्माले संसारलाई पापको विषयमा धार्मिकताको विषयमा कायल पार्नुहुन्छ, यूहन्ना १६:८-११। मानिसहरुलाई नयाँ गरी जन्माउने, ख्रीष्टको शरीरभित्र बप्तिस्मा गराउने, उनीहरुभित्र बास गर्ने र छुटकाराको दिनसम्म छाप मार्ने काम गर्नुहुन्छ; २ कोरिन्थी ३:६; १ कोरिन्थी १२:१२-१४; रोमी ८:९; एफिसी १:१३,१४। सबै विश्वासीहरुलाई सबै सत्यताभित्र डोर्यािउनुहुन्छ, यूहन्ना १६:१३; १ यूहन्ना २:२०,२७। पवित्र आत्माले भरपुर हुनु प्रत्येक विश्वासीको विशेषाधिकार र कर्तव्य हो, एफिसी ५:१८।
ख्रीष्टमा भएकाहरुलाई विभिन्न बरदानहरू दिइएका छन्। तर सबै विश्वासीहरूलाई एकै किसिमको बरदान दिइएको छैन; रोमी १२:६; १ कोरिन्थी १२:४-५,२७-३१; १ पत्रुस ४:१०। हरेक ख्रीष्टियनले पाउनुपर्ने बरदान पवित्र आत्मा स्वयंले नै उसको निम्ति रोज्नुहुन्छ; १ कोरिन्थी १२:११। १ कोरिन्थी १२:३१ मा उच्च बरदानहरूको उत्कट इच्छा गर भन्ने आज्ञा मण्डलीलाई दिइएको हो, कुनै ब्यक्तिलाई होइन। मण्डलीले असल आत्मिक बरदान भएका विश्वासी सदस्यहरू परमेश्वरले दिऊन् भनी इच्छा गर्नुपर्दछ। १ कोरिन्थी १२:२८ मा भएका बरदानहरूको सूचीमा अन्य भाषा बोल्ने बरदान अन्तममा राखिएको छ। १ कोरिन्थी १४:५ मा बताइएको छ: अगमवाणी बोल्ने वा प्रचार गर्ने बरदान अन्य भाषा बोल्ने बरदान भन्दा उत्तम हो। परमेश्वरले ख्रीष्टियनहरूलाई आफ्ना मन र जिब्रोलाई वसमा राख्ने चेतावनी दिनुहुन्छ, नत्रता तिनीहरू शैतानिक र शारीरिक गोलमालमा पर्ने खतरामा हुन्छन्; १ पत्रुस ५:८; ४:७; २ कोरिन्ती ११:३-४। बाइबलले ख्रीष्टियनहरूलाई आत्मिक बरदान र बप्तिष्माहरू खोज्ने भनी कहिल्यै आज्ञा दिएको छैन र यस्तो काम कसरी गर्ने सो पनि शिक्षा दिएको छैन।

पवित्र आत्माको बासस्थान र भरपुरी

ख्रीष्टिय जीवनमा पवित्र आत्माले गर्ने दुई महत्वपूर्ण र धन्यका कार्यहरु हुन् पवित्र आत्माको बासस्थान र भरपुरी। यी दुई कार्यहरु आपसमा भिन्न छन् जो मुक्ति र सेवासंग क्रमश: सम्बन्धित छन्।
क. पवित्र आत्माको बासस्थान
१. पवित्र आत्माको बासस्थानको बाइबलीय आधार: रोमी ८:९, ११; १ कोरिन्थी ६:१९;
याकुव ४:५; २ तिमोथी १:१४; १ यूहन्ना ३:२४; १ यूहन्ना ४:४,१३।
२. सबै विश्वासीहरुमा पवित्र आत्माको बासस्थान
सबै स्थानका सबै विश्वासीहरुमा मुक्तिको समयदेखि पवित्र आत्माको बासस्थान हुन्छ, किन?
अ. पवित्र आत्मा वरदान हो। यूहन्ना ७:३७-३९; प्रेरित ११:१७; रोमी ५:५; १ कोरिन्थी २:१२।
आ. पवित्र आत्माको अनुपस्थिति उद्धार नपाउनुको प्रमाण हो। रोमी ८:९; प्रेरित १९:२-५, यहुदा १९।
इ. पाप गरेका ईशाईहरुसंग पनि पवित्र आत्मा हुनुहुन्छ। १ कोरिन्थी ६:१९।
३. पवित्र आत्माको बासस्थानको बाइबलीय समयरेखा
अ. पुरानो नियमका विश्वासीहरुले पवित्र आत्माको उपस्थितिको अनुभव पाएनन्। पवित्र आत्माको उपस्थिति उनीहरुमा आंशिक, समय समयमा र विशेष रुपमा मात्र थियो। न्यायकर्ता १३:२४,२५; १ शमूएल १०:६; १ शमूएल १६:१३। ती समयहरुमा पवित्र आत्मा तिनीहरु ‘भित्र’ नभई तिनीहरु ‘माथि’ वा संग रहनुहुन्थ्यो। पवित्र आत्माले उनीहरुका जीवनमा काम गर्नुभयो, उनीहरुलाई भरपुर गर्नुभयो, उनीहरुसंग रहनुभयो। तर उहाँको उपस्थिति उनीहरुबाट हट्न सक्दथ्यो, भजन संग्रह ५१:११। १ शमूएल ११:६ र १६:१४ वीच तुलना गर्नुहोस्।
आ. प्रेरितहरुमा पेन्तिकोसको दिनअघि पवित्र आत्माको बासस्थान थिएन। यूहन्ना १४:१७।
इ. पवित्र आत्मा एक ईशाईभित्र रहने कार्य पेन्तिकोसबाट शुरु भयो। पवित्र आत्मा पठाउनु पिताको प्रतिज्ञा, यूहन्ना १४:१७; १४:१७। पिताको प्रतिज्ञा र पवित्र आत्माको बप्तिस्मा भन्नु उही हो, प्रेरित १:४,५; प्रेरित २:३,४; प्रेरित १०:१७। विश्वास गरेपछि पवित्र आत्मा एक ख्रीष्टियन ‘भित्र’ बास बस्नुहुन्छ, प्रेरित १:१३,१४।
ख. पवित्र आत्माको भरपुरी
पवित्र आत्माको भरपुरी भन्नाले पवित्र आत्माको नियन्त्रणमा रहनु हो। एफिसी ५:१८।
१. पवित्र आत्माको भरपुरी किन जरुरी छ? जकरिया ४:६; प्रेरित १:८।
२. किन ख्रीष्टियनहरुमा पवित्र आत्माको भरपुरी हुँदैनन्? एफिसी ४:३०; १ तिमोथी २:१९-२२।
३. पवित्र आत्माको भरपुरी कसरी हुन सकिन्छ?
अ. पवित्र आत्माको भरपुरीको निम्ति प्रार्थना गर। लूका ११:१३।
आ. पवित्र आत्मामा सुम्पिदेऊ। गलाती ५:१६, १७; याकूब ४:५; रोमी ६:१३,१६। रोमी ६:६-८।

४. पवित्र आत्माका भरपुरीका कार्यहरु
अ. अन्यभाषामा बोले। प्रेरित २:४
आ. ‘येशू र उहाँ क्रूसमा टाँगिएको प्रचार’ साहससंग गरे। प्रेरित ४:८,१३
इ. परमेश्वरको वचन साहससंग बोले। प्रेरित ४:३१
ई. धार्मिकताका वैरीलाई हप्काए। प्रेरित १३:९
उ. पवित्र आत्माको भरपुरीको शिलशिलामा प्रभुका निम्ति हृदयमा गाओ भनिएको छ। साथै सबै कुराहरुमा सधैं धन्यवाद चढाउन र परमेश्वरको डरमा एकार्काका अधीनमा बस्न भनिएको छ। एफेसी ५:१८-२१। यसको लगत्तै पारिवारिक सम्बन्धहरुमा ईशाई कर्तव्यहरु उल्लेख भएका छन्।

पवित्र आत्माको भरिपुरी भन्नु पवित्र आत्माको पूर्ण नियन्त्रणमा रहनु हो। उहाँको नियन्त्रणमा कोही रहनु भनेको उहाँको इच्छा र योजनामा चलाइनु हो। उहाँको योजनामा केवल अन्यभाषा मात्र बोलिरहनुमा थिएन तर परमेश्वरको वचन बोल्नु थियो। पवित्र आत्माको प्रमुख उद्देश्य वास्तवमा आज परमेश्वरको वचन बोल्नु नै हो। उहाँको वचन साहसंग बोलेको पवित्र आत्मा चाहानुहुन्छ। जब हामी परमेश्वरबाट प्राप्त संदेशलाई पक्का रुपमा बुझ्दछौं र सो बोल्नु उहाँको इच्छा हो भन्ने कुरामा पक्का हुन्छौं। हामी सो बोल्नका निम्ति पवित्र आत्मामा सुम्पिदिन सक्दछौं। फलस्वरुप हामी हाम्रा प्रचारहरुमा पवित्र आत्माद्वारा चलाइन सक्दछौं अर्थात उहाँको भरपुरीमा हामी वचन प्रचार गर्नेछौं। पवित्र आत्मा मण्डलीका प्रत्येक सदस्यलाई चलाउन चाहानुहुन्छ। सबैले प्रभुका निम्ति गाउन सक्दछन् पवित्र आत्माको भरपुरीमा गाउन सक्दछन्। पवित्र आत्माको भरपुरीका कारण उहाँका जनहरु उहाँमा धन्यवादी हुन सक्दछन्। पवित्र आत्माको भरपुरीमा उहाँका जनहरु एकार्काको अधीनमा रहन सक्दछन्। उही भरपुरीका कारण परिवारमा पति पत्नीवीचका सम्बन्धहरु, बाबाआमा र छोरा-छोरीहरुवीचका सम्बन्धहरु सिद्ध हुन्छन्।



Date: 2009-09-13
‘येशू’ नामको अर्थ ‘मुक्तिदाता’ हो, मत्ती १:२१। अनि ख्रीष्टको अर्थ हो ‘अभिषेक गरिएको’। उहाँ परमेश्वरको एक मात्र पुत्र हुनुहुन्छ, यूहन्ना ३:१६। यसको तात्पर्य ‘वंश’ होइन तर सम्बन्ध हो। जस्तो इशहाकलाई पनि एक मात्र पुत्र भनिएको छ जबकि अब्राहामका ८ छोराहरु थिए। तर उनी एक मात्र पुत्र कहलिए सम्बन्धको आधारमा, हिब्रू ११:१७। परमेश्वर र येशू ख्रीष्ट बाबु-छोरा होइनन् तर उहाँहरु अद्वितीय सम्बन्धमा रहनुहुन्छ भन्ने यसको तात्पर्य हो। येशू ख्रीष्टलाई वचन भनी सम्बोधन गरिएको छ; यूहन्ना १:१,१४; १ यूहन्ना १:१; ५:७; प्रकाश १९:१३। वचनको अर्थ हुन्छ, ‘अभिब्यक्ति’। उहाँ परमेश्वरको ‘अभिव्यक्ति’ वा प्रकाश हुनुहुन्छ। उहाँमा नै परमेश्वर प्रकट हुनुभएको छ। जसले उहाँलाई देखेका छन् उसले परमेश्वरलाई नै देखेका छन्, यूहन्ना १४:९।

येशू ख्रीष्टको अस्तित्व उहाँ मानिसको रुपमा जन्मनु अघि नै थियो, यूहन्ना १:१; ८:५८; १७:५,२४; फिलिप्पी २:६; कलस्सी १:१६,१७; प्रकाश १:८; यशैया ९:६। येशू अनन्तकालीन रुपमा पुत्र हुनुहुन्थ्यो। किनकि उहाँ मानिसको रुपमा जन्मनु अघि नै पुत्र हुनुहुन्थ्यो; भजन संग्रह २:७; हितोपदेश ३०:४; दानिएल ३:२५; हिब्रू १:५,६; ५:८।

येशू ख्रीष्ट मानिसको रुपमा आउनु आफैंलाई रित्याउनु थियो, फिलिप्पी २:६-८। उहाँ पापीहरुलाई बचाउन, लूका १९:१०; १ तिमोथी १:१५; र शैतानका कामहरुलाई नष्ट गर्न आउनुभयो, हिब्रू २:१४; १ यूहन्ना ३:८; यूहन्ना १२:३१; प्रकाश २०:१०। उहाँ पवित्र आत्माको सामर्थ्यले कन्या मरियमबाट जन्मनुभयो; लूका १:२६-३३; यशैया ७:१४; मत्ती १:१८-२३। येशूको जन्म सम्म उनी कन्या थिई; मत्ती १:२५। मरियम साधारण स्त्री थिई। उनी परमेश्वरकी आमा होइनन् नता मध्यस्थ कर्ता। उनीबाट उनका पति युसुफका अरु नानीहरु जन्मे, मत्ती १३:५४-५६। मध्यस्थकर्ता केवल येशू मात्र हुनुहुन्छ; १ तिमोथी २:५; हिब्रू ७:२५; १ यूहन्ना २:१। ख्रीष्ट मात्र हाम्रा उद्धारकर्ता हुनुहुन्छ, यूहन्ना १४:६; प्रेरित ४:१२।येशू परमेश्वर हुनुहुन्छ; यशैया ७:१४; ९:६; यूहन्ना १:१,२,१४; यूहन्ना १०:३०; यूहन्ना २०:२८; रोमी ९:५; फिलिप्पी २:६; कलस्सी १:१५; २:९; १ तिमोथी ३:१६; तितस १:३,४; हिब्रू १:८; १ यूहन्ना ५:२०।

येशू ख्रीष्ट मानिसहरुको पापको निम्ति मर्नुभयो र बौरिनुभयो; मत्ती २८:१-१५; रोमी १:४; कोरिन्थी १५:३,४। बौरिउठाइपछि येशू स्वर्ग उचालिएर जानुभयो; प्रेरित १:९; मर्कुस १६:१९; रोमी ८:३४। येशू ख्रीष्ट आज मुक्तिको काम पूरा गरी पुजाहारीको रुपमा परमेश्वरको दाहिने बाहुलीमा बस्नुभएको छ; हिब्रू १:३; १२:२। उहाँ वर्तमान समयमा पुजाहारीको रुपमा मानिसहरुलाई परमेश्वरसंग मिलाप गराउने, रोमी ५:१,२; ९-११; २ कोरिन्थी ५:१८,१९; मानिसहरुका निम्ति अन्तर्विन्ति गर्ने, रोमी ८:३४; हिब्रू ४:१४,१५; ७:१७-२८ र मध्यस्थकर्ताको रुपमा काम गर्नुहुन्छ; १ तिमोथी २:५।
प्रभु येशू ख्रीष्ट बादलमा विश्वासीहरुलाई लिन आउनुहुनेछ, १ थिस्सलोनिकी ४:१६,१७। अनि शरीरमा शक्ति र महा महिमाका साथ फेरि संसारमा आउनुहुनेछ; मत्ती २४:३०; २५:३१; प्रेरित १:११; २ थिस्सलोनिकी १:७-१०; यहूदा १४,१५; प्रकाश १:७। अनि उहाँले १००० वर्षसम्म पृथ्वीमा राज्य गर्नुहुनेछ; प्रकाश २०:२-६। ख्रीष्ट येशू हाम्रा प्रभु र मुक्तिदाता, राजाहरुका राजा, प्रभुहरुका प्रभुको महिमा अहिले र सदासर्वदा होस्। आमेन।

Date: 2009-09-13
परमेश्वरको अस्तित्वको विषय प्रमाणित गर्नुपर्ने विषय नभई स्वयंशिद्ध र सर्व स्विकृत विषय हो। त्यसैले परमेश्वरले बाइबल लेख्नु हुँदा परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्ने कार्य नगरी “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” भन्ने बाक्यबाट प्रारम्भ गर्नुभयो, उत्पत्ति १:१। किनकि परमेश्वर हुनुहुन्छ र सबै थोकको सृष्टिकर्ता र मालिक हुनुहुन्छ। पवित्र शास्त्र बाइबलको गवाही सत्य छ किनकि बाइबल परमेश्वरको अभिप्रेरणाबाट दिइएको हो। तसर्थ परमेश्वरको विषयमा बाइबलका गवाही सत्य छ।

परमेश्वर आत्मा हुनुहुन्छ, यूहन्ना ४:२४। उहाँ व्यक्ति हुनुहुन्छ, किनकि उहाँमा व्यक्तिमा हुनुपर्ने गुणहरु रहेका छन्, उत्पत्ति ६:६; व्यवस्था ६:१५; हितोपदेश ६:१६। परमेश्वर एक मात्र हुनुहुन्छ, व्यवस्था ६:४। साथै उहाँ त्रिएक हुनुहुन्छ जसको अर्थ हुन्छ उहाँ व्यक्तित्वमा तीन हुनुहुन्छ अर्थात् पिता, पुत्र र पवित्र आत्मा; मत्ती २८:१९; २ कोरिन्थी १३:१४। तर उहाँ ईश्वरत्वमा एक हुनुहुन्छ, व्यवस्था ६:४। परमेश्वर अनन्त हुनुहुन्छ। उहाँको शुरू र अन्त छैन, उत्पत्ति २१:३३; यशैया ४४:६; यशैया ५७:१५; हबकूक १:१२; भजन संग्रह ९०:२; १०२:२४-२७। उहाँ सृष्टिकर्ता हुनुहुन्छ। सबै थोकहरू उहाँबाटै सृजिएका हुन्; यशैया ४५:१८; प्रेरित १७:२४।

परमेश्वर स्व-अस्तित्व भएको परमेश्वर हुनुहुन्छ। उहाँको अस्तित्व केही कुरामा पनि निर्भर रहँदैन; प्रस्थान ३:१४; यूहन्ना ५:२६; रोमी ११:३३-३६। परमेश्वर सर्वज्ञाता हुनुहुन्छ; रोमी ११:३३; १ यूहन्ना ३:२०। साथे उहाँ सर्वशक्तिमान हुनुहुन्छ; उत्पत्ति १८:१४; अयुव ४२:२; यशैया ४०:२६; मत्ती १९:२६; यर्मिया ३२:१७। उहाँ हुनुहुन्छ सर्वव्यापी पनि हुनुहुन्छ; भजन संग्रह १३९:७-१०; हितोपदेश १५:३; यर्मिया २३:२३,२४; मत्ती २६:२०; प्रेरित १७:२४; हिब्रू ४:१३।

परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ। उहाँ महान न्यायकर्ता हुनुहुन्छ; जसले सबै मानिसहरूको न्याय गर्नुहुन्छ; लेवी १९:२; ब्यवस्था ३२:४। परमेश्वर कृपालु र प्रेमिलो हुनुहुन्छ जसले पापी मानिसहरूलाई बचाउन भनी क्रूसमा आफ्नो अनमोल रगत बगाउनुभयो; यूहन्ना १:१६; प्रेरित २०:२८। परमेश्वर सबैका मालिक, शासक अनि न्यायकर्ता हुनुहुन्छ। मानिसको अस्तित्वमा उहाँमा निहित छ। हामी उहाँमा नै जिउँदछौं र चलहल गर्दछौं; प्रेरित १७:२८। उहाँलाई नै महिमा र आदर सदा सर्वदा होस्। आमेन।

Date: 2009-09-13

बाइबल अन्धकारमा बलिरहेको बत्ती हो, २ पत्रुस १:१९। मानव जीवनको निम्ति यो प्रकाशमान छ। यसमा विद्यमान रहेका शिक्षाहरु खारिएका चाँदी जस्ता छन् जसको शुरक्षा परमेश्वर स्वयंले गरिरहनुभएको छ, भजन संग्रह १२:६,७। यसका अपरिवर्तनीय शिक्षा र सत्यताहरुमा ध्यान दिनेहरु आशिर्वादी हुन्छन्। तिनले जे गर्छन् त्यसमा सफलता हाँसिल गर्छन्। भजन संग्रह १:२,३। बाइबलका शिक्षा र सत्यताहरु अनमोल छन्, भजन संग्रह ११९:७२। यसलाई टेढामेढा पार्ने कार्य दण्डनीय हुन्छ, २ पत्रुस १:१६; प्रकाश २२:१८,१९। तसर्थ बाइबलका शिक्षाहरु जस्ताको तस्तै हस्तारण हुँदै जानुपर्दछ, २ तिमोथी २:२; मत्ती २८:२०। यही उद्देश्यमा बाइबलका प्रमुख शिक्षाहरुलाई मण्डलीहरुको प्रयोजनको निम्ति यहाँ क्रमबद्ध गरिएको छ।

(क) बाइबल परमेश्वरको प्रेरणाबाट लेखिएको हो।
परमेश्वरबाट प्रेरणा भएको भन्नाले परमेश्वरले आफ्ना मानिसहरुलाई परमेश्वर पवित्र आत्माद्वारा प्रेरणा दिएर उहाँको इच्छा बमोजिम लेख्न लगाइएको भन्ने बुझिन्छ, २ तिमोथी ३:१६; २ पत्रुस १:१६।
तसर्थ:
(१) बाइबल सिद्ध छ र यसमा कुनै गल्ती छैन, भजन संग्रह १२:६; ११९:१६०।
(२) बाइबलको हरेक भाग परमेश्वरबाट आएको हो, २ तिमोथी ३:१६। बाइबलको हरेक शब्द र बिन्दू पनि परमेश्वरबाट आएको हो, मत्ती ५:१८।
(३) बाइबल अपरिवर्तनीय छ, भजन संग्रह ११९:८९।
(४) बाइबल बहुमुल्य छ किनकि यसले
(अ) दोषी ठहर्यालउँछ, हिब्रू ४:१२।
(आ) जीवन बदली गर्छ, याकुव १:१८, १ पत्रुस १:२३।
(इ) सुधार ल्याउँछ, २ तिमोथी ३:१६।
(ई) शुद्ध पार्छ, भजन संग्रह ११९:९,११; यूहन्ना १५:३; १७:१७; एफिसी ५:२६।
(उ) विजयी बनाउँछ, एफिसी ६:१७; हिब्रू ४:१२।
(ऊ) सान्त्वना दिन्छ, १ थिस्सलोनिकी ४:१८।

(ख) बाइबल परमेश्वरबाट संरक्षण गरिएको छ।
परमेश्वरबाट शुरुमा बाइबल जुन रुपमा दिइएको थियो, त्यही रुपमा उहाँले संरक्षण गरिरहनुभएको छ; भजन संग्रह १२:६,७; १००:५; ११९:८९, १५२, १६०; १४६:६; १ पत्रुस १:२३,२५; मत्ती २४:३५। शैतानले अदनको बगैंचादेखि नै परमेश्वरको वचनको विरुद्धमा काम गर्दै आएको हो, उत्पत्ति ३:४,५। यो क्रम इतिहास भरि नै नियमित थियो। तर परमेश्वरले आश्चर्यजनक रुपमा बाइबललाई दुबै बस्तुगत र तात्विक रुपमा संरक्षण दिइरहनुभएको छ। बस्तुगत सुरक्षा भन्नाले यहाँ ग्रन्थ स्वयंको शुरक्षा र तात्विक रुपमा शुरक्षा भन्नाले ग्रन्थको शुद्धता भन्ने बुझिन्छ। फलस्वरुप बाइबललाई बस्तुगत रुपमा विश्वबाट समाप्त गर्ने प्रयासहरु असफल रहे। साथै बाइबलका हरफ तथा शब्दहरुलाई तोडमोड गरी निष्फल तुल्याउने प्रयासहरु असफल बने। बाइबलको पुरानो नियम हिब्रू भाषामा लेखिएको हो। यसको मूल ग्रन्थ ‘मेजोरेटिक टेक्स्ट’ नामले चिनिन्छ जो तात्विक रुपमा आज सम्म पनि शुरक्षित छ। त्यसरी नै बाइबलको नयाँ नियम ग्रीक भाषामा लेखिएको हो। यसको मूल ग्रन्थलाई इतिहासमा ‘रिसिभ्ड टेक्स्ट’ नामले चिनियो। यो पनि तात्विक रुपमा शुरक्षित छ। तसर्थ बाइबलको मेजोरेटिक टेक्स्ट र रिसिभ्ड टेक्स्टसंग हुबहु मेल खाने अनुवादहरुलाई परमेश्वरको पवित्र र शुद्ध वचनको रुपमा मानिन्छ। यस प्रकृयामा परमेश्वरको वचन बाइबल आजसम्म शुरुक्षित र सबैका लागि प्राप्य भइरहेका छन्।

(ग) बाइबल पूर्ण छ।
‘येशू ख्रीष्टको प्रकाश’ लेखिएपछि अरु नथपिन चेतावनी दिइएको थियो, प्रकाश २२:१८,१९। यो पुस्तक नै परमेश्वरबाट मानिसको निम्ति दिइएको अन्तिम वचन हो। त्यसपछि परमेश्वरबाट कुनै पनि वचन तथा अगमवाणी आएन। बाइबल पूर्ण भयो। शिक्षाका निम्ति, भुल दोष देखाउनाका निम्ति सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति, परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रुपले सुसज्जित भई सिद्ध हुन बाइबल पूर्ण छ; २ तिमोथी ३:१६,१७।



Editor: Pastor U. J. Gurung. Web Master: Adarsha J. Gurung. Contact us at 9841202110 or 016913929 for more details. You can also mail us at Post Box No. 8973 NPC 200, Kathmandu, Nepal.