|
|
| Sermons प्रवचन |
|
विश्वास तथा प्रेमविवाह (Sermon) |
Date:
2008-05-18 |
|
यू. जे. गुरुङ
आज हामीहरु मूलरुपमा सबै हाम्रा अविभावकहरुका लागि, युवाहरुका लागि र हुनेवाला युवाहरुका लागि समेत विवाह सम्बन्धमा परमेश्वरको वचनबाट अध्ययन गरिरहेकाछौं। पवित्र शास्त्र बाईबलमा विवाहका दुई सुन्दर नमूनाहरु उल्लेख भएका छन् ती हुन् विश्वास विवाह र प्रेम विवाह।
व्यवस्था वा प्रवन्ध गरिएको विवाहलाई प्रवन्धित विवाह वा एरेन्ज्ड म्यारिज भनिन्छ। यसलाई हामी विश्वास विवाह पनि भन्न सक्छौं। यो इसहाक विवाह हो। परमेश्वरको निर्देशन र अगुवाइमा रही कसैले कसैलाई जीवन साथीको रुपमा छनोट गरी विशुद्ध प्रेममा आफ्नो मूल्य समेत चुकाई पर्याप्त धैर्यका साथ गरिएको विवाहलाई प्रेम विवाह भनिन्छ। यो याकुव विवाह हो। सर्वप्रथम हामी विश्वास विवाह बारे अध्ययन गर्नेछौं।
विश्वास विवाह
उत्पत्ति २४ अध्याय
एउटा मान्छेले मलाई भनेका थिए, ‘पश्चिमाहरु (उनको अर्थमा युरोपियनहरु) प्रेम विवाह गर्छन्, तर हामी एशियानहरु चाहिँ प्रवन्धित विवाह (एरेन्ज्ड म्यारिज) गर्छौं। त्यहाँ निश्चय पनि पूर्वीय र पश्चिममा प्रचलनले एक खाले विवाहको भन्दा अर्को खाले विवाहलाई प्रश्रय पाएको छ। पूर्वीया संस्कृतिमा प्रवन्धित विवाहको मान्यता उच्च छ भने पश्चिमा संस्कृतिमा प्रेम विवाहको मान्यता उच्च छ। तरै पनि दुवै संस्कृतिमा दुवै खाले विवाहको प्रचलन र मान्यता छ। अझ भनौं भने पूर्वीय संस्कृतिमा क्रमश: प्रेम विवाहको मान्यता उच्च दरमा बढिरहेको अवस्था छ।
उत्पत्ति २४ अध्यायमा अब्राहाम बुढा भइसकेका थिए। त्यसकारण उनलाई आफ्ना चालीस वर्ष पुगिसकेका छोरा इसहाकका निम्ति विवाह गराउनु पर्ने दृढ निश्चयता थियो। उनले आफ्ना सबैभन्दा विश्वासयोग्य दासलाई आफ्नो छोराको लागि आफ्नै मान्छेहरुको बीचबाट सुहाउँदो सहयोगी ल्याउन आज्ञा दिए। त्यही आज्ञा अनुसार अब्राहामका दास इसहाकका निम्ति पत्नी खोज्न हारानतर्फ लागे।
अब्राहामका मानिसहरु अब्राहामको विश्वासमा परिचित थिए र अब्राहामको परमेश्वरलाई पनि चिन्दै थिए। त्यही आधारमा हुन सक्छ अब्राहामले आफ्ना दासलाई इशहाकका निम्ति आफ्नैहरुबाट दुलही ल्याउन अह्राएको छ। अर्को तर्फ कनानीहरु घोर मूर्तिपूजकहरु थिए जससंग विवाह बन्धनमा प्रवेश गर्नु परमेश्वरको इच्छा विपरित कार्य थियो। यस विवाहमा जातीय शुरक्षालाई भन्दा विश्वासको शुरक्षालाई ध्यान दिइएको छ। उत्पत्ती ६:१-२ मा लेखिएको छ, “जब मानिसहरुको संख्या पृथ्वीमा बढ्दै गए तिनीहरुका छोरीहरु जन्मे तब परमेश्वरका छोराहरुले मानिसका छोरीहरुलाई सुन्दरी देखे र आफ्नो आफ्नो रुचिका पत्नीहरु ल्याए।“ त्यो घटना जातीय थिएन तर विश्वासको मामिला थियो। त्यसैले ती विवाहहरुमा परमेश्वर खुशी हुनुभएन। परमेश्वरका छोराहरु परमेश्वरलाई प्रार्थना गर्नेहरु थिए जो शेतका सन्तान थिए, जसले परमेश्वरमा विश्वास गर्दथे, उत्पत्ति ४:२६। आज पनि मानिसहरु विश्वासैद्वारा परमेश्वरका सन्तान बन्दछन्, यूहन्ना १:१२। तर पृथ्वीमा कयिनका सन्तानहरु अधिक रुपमा वृद्धि भएका थिए, जो भौतिक र भक्तिहिन मार्गमा अघि बढिरहेका थिए, उत्पत्ति ४:१७-२४। जबसम्म त्यहाँ अलगपनता रह्यो परमेश्वर शान्त हुनुहुन्थ्यो। जब त्यहाँ परमेश्वरका मानिसहरुसमेत दुष्ट भए पृथ्वी खरावीले भरियो, उत्पत्ति ६:५,६। अनि विनाश आइलाग्यो, उत्पत्ति ७:२३। तसर्थ विश्वासको शुरक्षा, परिवार र सन्ततिहरुका आशिषका निम्ति परमेश्वरका छोराहरुले परमेश्वरकै छोरीहरुलाई विवाह गर्नुपर्दछ।
जब एसावले कनानी महिलालाई विवाह गरे त्यसले उनको आत्मिक जीवन र परिवारलाई आशिषरहित तुल्यायो। त्यहाँ विश्वासको मेल थिएन। फलस्वरुप परिवारलाई त्यस विवाहले हैरानी दिलायो। त्यसैले उनले याकुवका निम्ति आफ्नै मानिसहरुका बीचबाट अर्थात् समान विश्वासमध्येबाट बुहारी ल्याउन भनिएको थियो। अब अब्राहामका दास निकै दिन लगाएर यात्रामा गए धेरै सामानहरु, सुनहरु, चाँदिहरुका साथ। उनी प्रार्थना सहित गए। हारान पुगेपछि उनले प्रार्थना गरे, “हे मेरा मालिकका परमप्रभु परमेश्वर कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस् र मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस्। हेर्नुहोस् म यो इनारनेर उभिरहेको छु र शहरका मानिसहरुका छोरीहरु पानी भर्नलाई आउँदैछन्। यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला र जसले मलाई ‘खानुहोस्, म तपाईका ऊँटहरुलाई पनि खुवाइदिन्छु भन्छिन्, तिनलाई नै तपाईले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस्। तपाईले मेरा मालिकलाई दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु।“ उत्पत्ति २४:१२-१४।
प्रार्थना सकिएको केही बेरमै अब्राहामका भाई नाहोरकी पत्नी मिल्काको छोरा बतुएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्। कन्या अत्यन्तै सुन्दरी र कुनै मानिससंग सहवास नभएकी थिई। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आईन्। अब्राहामको सेवकले पानीका निम्ति कन्यालाई आग्रह गरे। कन्याले सेवकलाई सहर्ष रुपमा पानी खुवाई र उँटहरुलाई समेत पानी खुवाई। यो ज्यादै असाधरण घटना थियो। मध्य पूर्व तथा अरव भूभागहरुमा पानीको ज्यादै अभाव हुन्छ। इनारहरु ज्यादै गहिरा हुन्छन्। स्त्रीहरुलाई पानी भर्न ठूलो परिश्रमको जरुरत हुन्छ। त्यस परिस्थितिमा उँटहरुलाई त के मानिसहरुलाई पानी खुवाउन पनि मध्यपूर्ववासीलाई ठूलै वलिदान आवश्यक पर्दछ। नेपालमै पनि कतिपया ठाउँहरुमा अन्य पेय पदार्थ दिन सजिलो हुन्छ पानी दिन कठिन हुन्छ। उँटहरु मरुभूमिका जहाज भनिन्छन्। यिनले थुप्रै दिनका निम्ति शरीरमा पानी संचय गर्न सक्दछन्। अब्राहामका दासका थुप्रै उँटहरुलाई पानीको प्रवन्ध गर्न तयार रिबेकाको हृदय वास्तवमै अनौठो थियो। यी सबै नै परमेश्वरको नियन्त्रण र अगुवाईमा भएको थियो। परमेश्वरले ईशहाकको निम्ति दुलहीको प्रवन्ध गर्दै हुनुहुन्थ्यो। रिवेका अब्राहामका सेवक तथा साथमा भएकाहरुलाई घरमा स्वागत गर्न समेत तत्पर थिई। त्यस साँझ जब सेवकले जब यात्रा विवरण दिए सबैलाई थाह थियो कि परमेश्वरले ईशहाकका निम्ति रिवेकाको प्रवन्ध गर्दै हुनुहुन्छ। परमेश्वरको इच्छा र अगुवा स्पष्ट बुझिने प्रकृतिको थियो। उहाँको अगुवाई सर्वमान्य थियो, आदरणीय थियो। रिवेकाका परिवारले स्वीकार गरे, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो। हामी तपाईलाई खराव वा असल केही भन्न सक्दैनौं”, उत्पत्ति २४:५०। के आजका विवाहहरुमा परमेश्वरको इच्छा खोजिदैछ? के आजका विवाहहरु स्पष्ट निश्चयता, सर्वमान्य र आदरणीय रुपमा सम्पन्न भइरहेछ?
परमेश्वरको अगुवाई हो भन्ने कुरामा शंकाको कुनै कसर बाँकी नरहेपछि सेवकले इशहाकका तर्फबाट रिवेकालाई सुनका बाला र उपहारहरु दिन कुनै हिच्किचाहट गर्नै परेन। उनले प्रशस्तै दिए। विवाह पुरुष र विवाह महिला दुबै पक्षकाहरुवीचको सभाले विवाह सम्बन्धमा परमेश्वरको अगुवाई बुझेको र सहमति बनेको परिस्थितिपछि उपहार लेनदेन र भोज व्यवस्थापन कार्यक्रम सम्पन्न भएको पाउँछौं। विश्वासैद्वारा यहाँ दुवै सोधनी र मगनी कार्यक्रम सम्पन्न भएको पाउँछौं।
एकातर्फ रिवेकाले ईशहासंग नदेखिकनै विवाह गर्न निर्णय गरे भने अर्को तर्फ ईशहाक विश्वासैद्वारा परमेश्वरबाट प्रबन्धित कन्यालाई विवाह गर्न तयार थिए। इशहाकले निसन्देह रुपमा रिवेकालाई विवाह गरे। यो विश्वास विवाह थियो। विवाह पछि मातृशोकित ईशहाकले सान्त्वना पाए। विवाहले आशिष ल्यायो।
प्रेम विवाह
कतिले यही नमूनालाई आधार मानी प्रेम विवाहको विरोध गर्दछन्। विवाह पूर्व पुरुष र स्त्रीवीच प्रेम सम्बन्ध हुनुहुँदैन भन्ने धारणा कतिले लिएको पाइन्छ। तर विवाहको नमूना विस्वास विवाहको मात्र होइन तर प्रेम विवाहको पनि पाइन्छ। उत्पत्ति २९ मा याकुव आफ्ना मानिसहरुकहाँ गए। याकुवले परमेश्वरलाई चिन्नेहरुमध्येबाट विवाह गर्न चाहे। उनले यात्राका निम्ति परमेश्वरमा भरोसा गरे। परमेश्वरले यात्रामा अगुवाई गर्नुभयो। उनको प्रथम भेट राहेलसंग भयो जो आफ्नैहरुमध्येका थिई। याकुव राहेलको घरमा एक महिना काम गर्दै बसे। त्यसपछि उनका मामा लाबानले याकुवलाई काम गरे बापत ज्याला दिन चाहे। उत्पत्ति २९:१४-१५। अविवाहित पुरुषका निम्ति विवाह सम्बन्धि विषय ल्याउनु जटिल कुरा हुन्छ। मामाको प्रश्तुतिमा याकुवलाई विषय ल्याउन निश्चय सहज भयो। धेरै युवाहरुलाई विवाह विषयलाई अघि बढाउन मध्यस्थकर्ताहरुको जरुरत पर्दछ।
लाबानका दुई छोरीहरु थिए। जेठी लेआ र कान्छी राहेल। लेआ चाहिँ धमिला आँखा भएका र राहेल सुडौल र सुन्दरी थिई, उत्पत्ति २९:१७। याकुवले राहेललाई प्रेम गरे। एक महिने अध्ययन पछि याकुव यो निश्चयतामा पुगे कि उनको निम्ति राहेल ने सुहाउँदो जीवन साथी हुन्। तसर्थ उनको जवाफ यस्तो रह्यो, “तपाईकी कान्छी छोरी राहेलको निम्ति सात वर्षसम्म म तपाईको सेवा गर्नेछु”, उत्पत्ति २९:१८।
याकुवले विवाहपूर्व राहेललाई प्रेम गरे। आफ्नी प्रियसी पाउन उनको निम्ति सात वर्षको सेवा थोरै थियो। राहेलका निम्ति संभवत उनी त्यो समयावधि भन्दा बढि नै बिताउन पनि तत्पर थिए। कस्तो साँचो प्रेम जो पवित्र पनि थियो। आज धेरै युवाहरु प्रेम गर्छन् तर मूल्य चुकाउन तयार छैनन्। फलस्वरुप प्रेम सम्बन्धहरु यात अपवित्र हुन्छन् यात असफल हुन्छन्। सात वर्षसम्म याकुव राहेलकै घरमा रही सेवा गरिरहे। तथापी राहेलसंगको उनको सम्बन्धमा कुनै कलंक थिएन, कुनै अनैतिकता थिएन। सात वर्षपछि मात्र उनले राहेलसंग विवाह गर्न आफ्नो इच्छा जाहेर गरे।
कहिले काहिँ विवाहहरु तेस्रा व्यक्तिहरुद्वारा बिगारिन्छन्। अत्युत्तम प्रेम सम्बन्धहरु तेस्रा पक्षका अज्ञानता, भूल वा गलत हस्तक्षेपका कारण गडबडमय बन्न जान्नछन्। फलस्वरुप यात विवाह असंभव हुन्छन् यात असफल हुन्छन्। लाबानले विवाहको भोज त दिए तर गडबडी गरे। विवाहभोज पछि उनले याकुवलाई चतुर्यापईका साथ राहेलको सट्टा लेआ दिए जुन कुरामा याकुव पूर्णतया अनभिज्ञ थिए। विहानको उज्यालोमा मात्र लाबानको छली कार्य स्पष्ट देखियो। यस किसिमको कार्यले उत्साह, रमाहटको सट्टा निराश, ग्लानी, क्रोध मात्र पैदा गरिदियो। लाबानले याकुवलाई दुबै छोरीहरुको पति बन्न बाध्य पारे जुन कुरा अत्यन्तै अनुचित दु:खदायी थियो। यसले अन्तत: याकुवलाई जीवन पर्यान्त संघर्षमय र निरस पारे। पारिवारिक संताप र संघर्षहरु उनका पेवा बने। उनका पिताजी इशहाकको झैं सुखद दाम्पत्य जीवन उनको रहेन। उनले आफ्नी राहेललाई जीवनभर साँचो प्रेम गरे अधिकांश समय उनैसंग विताए जबसम्म राहेलको मृत्यु भएन। याकुवको यो विवाह प्रेम विवाहको सुन्दर नमूना थियो। जब राहेल मरी उनले उनको समाधिस्थलमा ढूंगाको एक खाँबो गाडे जो उनका प्रेमिकाको संझनामा प्रेम स्मारक थियो।
विवाह कम सजिलो र हलुका विषय होइन। युवाहरुले विवाह पूर्व प्रशस्त गृहकार्य र परामर्श लिन राम्रो हुन्छ। विना हडबडि विषयलाई बुद्धिमानीसाथ व्यवहार गर्नुपर्दछ। जस्तो लेखिएको छ, “जसले कुनै वस्तुलाई अथवा विषयलाई बुद्धिमानीसंग व्यवहार गर्दछ उसले असल कुरा प्राप्त गर्दछ” हितोपदेश १६:२०। विवाहमा परामर्श महत्वपूर्ण कुरा हो। “पथ प्रदर्शकको अभावले देशको पतन हुन्छ तर धेरै सल्लाहकारको कारण विजय निश्चित हुन्छ”, हितोपदेश ११:१४।
|
|
|
|
|